एनबी सञ्चालकद्वारा साढे ५ करोड व्यक्तिगत प्रयोग

काठमाडौं, साउन १८ -
 बिमा शुल्क आफूखुसी प्रयोग गरेका एनबी इन्स्योरेन्स कम्पनीका सञ्चालकले व्यक्तिगत रुपमा पनि ५ करोड ५९ लाख रुपैयाँ लगेको फेला परेको छ। कम्पनीका एक अधिकारीका अनुसार सञ्चालकले कम्पनीको खाताबाट सोझै नगद पेस्की भनी ५ करोड ५९ लाख रुपैयाँ लगेका छन्। यो बिमा नियमविपरीत हो।
एनबी इन्स्योरेन्सबाट सञ्चालक समिति अध्यक्ष जितबहादुर श्रेष्ठले १२ लाख रुपैयाँ पेस्की वापत लगेका छन्। एनबी इन्स्योरेन्सका अन्य प्रवर्द्धक तथा सञ्चालक एनबी समूहले १० लाख, एनबी इन्टरनेसनल प्रालिले ६९ लाख, एनबी इन्भेस्टमेन्ट प्रालिले ७४ लाख र सांग्रिला इन्भेस्टमेन्ट प्रालिका तर्फबाट मोहन बस्नेतले तीन करोड ९३ लाख रुपैयाँ पेस्की रकम लगेका छन्।

बिमा शुल्कहरु आफूखुसी प्रयोग गरेको फेला परेपछि मंगलबार नियामक निकाय बिमा समितिले कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरिसकेको छ। समितिले ३० दिनमा कम्पनी सुधार नगरे लिक्विडेसन (खारेजी) मा पठाउने छ।

लगेको रकमबारे सञ्चालक समितिले बिमा समितिलाई जानकारीसमेत गराएको छैन। कम्पनी ऐनमा सञ्चालकहरुले बैठकमा उपस्थित भए वापत पाउने बैठक भत्ता, मासिक पारिश्रमिक, दैनिक भत्ता तथा भ्रमण खर्च वा अन्य सुविधा साधारण सभाले निर्धारण गरेभन्दा बढी लिन नपाइने व्यवस्था छ। सञ्चालक समितिबाट निर्णय गराएर पेस्की लगेका हुन्।

एनबी इन्टरनेसन, एनबी इन्भेस्टमेन्ट प्रालि एनबी समूहअन्तर्गतकै कम्पनीहरु हुन्। एनबी इन्स्योरेन्सलाई समूह र यसका कम्पनीहरुले प्रबर्द्धन गरेका छन्। कम्पनीको अध्यक्षमा जितवहादुर र सदस्यमा भाइ लक्ष्मीबहादुर र छोरा जेन श्रेष्ठ छन्।

'सर्वसाधारणबाट उठाएको पैसा पेस्की भन्दै आफ्नै समूहका सदस्यहरुलाई बाँड्ने काम भएको छ,' कम्पनी स्रोतले भन्यो, 'सञ्चालकहरुले लगेको पेस्की रकम भुक्तानी भएमात्र पनि एयरमार्क (भुक्तानी गर्नु पर्ने दायित्व) पूरा गर्न सकिन्छ।' 

 
सेयर कारोबार रोक्का
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनबी इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। बिमा समितिले कम्पनीको सम्पूर्ण कारोबारमा रोक लगाएको भोलिपल्ट वुधबार नेप्सेले सेयर कारोबार बन्द गरेको हो।

नेप्सेमा कम्पनीको पछिल्लो कारोबार मंगलबार भएको थियो। समितिले कारबाही गरेका कारण मंगलबार प्रति सेयर मूल्य १२ रुपैयाँले घटेको थियो। कम्पनीको पछिल्लो सेयर मूल्य १ सय १५ रुपैयाँ कायम भएको छ। कम्पनीमा सर्वसाधारणको २० प्रतिशत सेयर छ।
कम्पनीले कमाएर सेयरधनीलाई केही पनि दिन सकेको थिएन। सेयरधनीले पुँजी वृद्धिका लागि उल्टो पैसा तिरेर हकप्रद सेयर किनेका थिए।
पछिल्लो तथ्यांकअनुसार कम्पनीले ४६ लाख ७० हजार नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको चैतसम्मको वित्तीय
विवरणअनुसार ७ लाख तीन हजार १ सय बिमा लेख जारी गरेको छ। दाबी भुक्तानी गर्न बाँकी बिमा लेखको संख्या १ लाख ३० हजार छ। कम्पनीको बिमा कोषमा २ करोड २३ लाख रुपैयाँ रकम छ।
 


कम्पनीले बिमा गरेको रकमलाई सुरक्षित गर्न पुनर्बिमा गराउनुपर्छ। तर, एनबी इन्स्योरेन्सले ९६ लाख रुपैयाँ बराबरको बिमा रकमको पुनर्बिमा गराएको छैन। बिमा गराएको सामान बिग्रिए वा दुर्घटना भए एनबी इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गर्न सक्दैन। दाबी भुक्तानीका लागि पुनर्बिमा नगराएकाले ग्राहक असुरक्षित छन्।

सञ्चालकहरुले लेखा शाखा हेर्ने गरी वरिष्ठ प्रबन्धक नियुक्त गरे पनि एनबी समूहको काममा लगाएको समेत खुलेको छ। ऋषिकेश अर्याललाई कम्पनीको नियुक्त दिई तलब सुविधाहरु अन्य कर्मचारी सरह प्रदान गर्दै आएको छ। 'अर्यालले कहिले पनि कार्यालयको काम गरेनन्,' कम्पनी स्रोतले भन्यो, 'एनबी समूहको काममात्र गरे।' बिमा समितिले गरेको स्थलगत अध्ययनले पनि अर्याललाई कम्पनीबाट तलब भत्ता ख्वाएर
एनबी समूहको काममा राखिएको उल्लेख थियो।

'कुनै पनि संस्थाका लागि नियुक्त भएको जनशक्तिलाई सम्बन्धित कायमा लगाउनुपर्छ,' समितिको अध्ययनले भनेको थियो, 'सञ्चालकले आफ्नो निजी कामका लागि कम्पनीको कुनै पनि प्रकृतिको सम्पत्ति प्रयोग गर्न नहुने न्यूनतम संस्थागत सुशासन सम्बन्धित व्यवहार पालना गरेको छैन।' कम्पनीले अनिवार्य रुपमा नियुक्त गर्नुपर्ने कानुन अधिकृत भने नियुक्त गरेको छैन।

कम्पनीले नियमविपरीत घरभाडामा लिएर अग्रिम भुक्तानी गरेको, दायित्व भुक्तानी गर्न सक्ने रकम (एयर मार्क) पूरा नगरेको, मापदण्ड पूरा नगरेका संस्थाहरुमा रकम जम्मा गरेपछि समितिले मंगलबार सम्पूर्ण कारोबार रोक लगाएको थियो।

कम्पनीले दायित्व भुक्तानी गर्न सक्ने रकम (एयर मार्क) जम्मा पार्न सकेको छैन। नियामक निकाय बिमा समितिले १४ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम दायित्व भुक्तानीका लागि जम्मा गर्न दिएको निर्देशन कम्पनीले पूरा गर्न नसकेको हो।

बिमा कोष १ करोड ७७ लाख, जगेडा तथा कोष ३ करोड ३६ लाख, असमाप्त जोखिम वापत व्यवस्था ५ करोड ५५ लाख र भुक्तानी हुन बाँकी
दाबी वापतको ३ करोड ७२ लाख रुपैयाँ कम्पनीले जम्मा पर्न नसकेको हो।

एयरमार्क गराउनुपर्ने १४ करोड ८५ लाख ६९ हजारमध्ये नपुग ७ करोड ६७ हजार ६४ हजार रुपैयाँ १५ दिनभित्र एयरमार्क गराउन समितिले निर्देशन दिएको छ। साथै कम्पनीको सम्पूर्ण दायित्वको पर्याप्त पुनर्बिमा व्यवस्था भएको तथा पुनर्बिमा शुल्क नियमित भुक्तानी गरेको प्रमाणसमेत सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

No comments:

Post a Comment

thanks for comment