एनबी इन्स्योरेन्सले भन्यो- समयमै सुधार गर्छौँ

सुदर्शन सापकोटा
काठमाडौं, साउन २५- 
एनबी इन्स्योरेन्सले सुधारका लागि बिमा समितिले दिएको समयभित्र कम्पनीलाई पूर्ण रुपमा सुधार गर्ने जनाएको छ।
'समितिले भनेजस्तै कम्पनीलाई पूर्ण रुपमा सुधार गर्न हामी प्रतिवद्ध छौं,' एनबी इन्स्योरेन्सका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठले बुधबार नागरिकसँग भने, 'कम्पनीको अवस्था एकदमै राम्रो छ। अलिकति व्यवस्थापन गर्नमात्र बाँकी हो।'
कम्पनी सुधार गर्न कम्पनीका सञ्चालकहरुले समितिसँग नियमित सम्पर्क गरिरहेका छन्। कम्पनीका अध्यक्ष जितवहादुर श्रेष्ठ र सञ्चालक लक्ष्मीबहादुरले मापदण्ड पूरा नगरेका संस्थाको पैसा सार्न समितिबाट पत्रसमेत लिएर गएका छन्।
कम्पनीका सञ्चालकले ग्राहकबाट उठाएको रकम (बिमा शुल्क) आफूखुसी प्रयोग गरेको फेला परेपछि समितिले अघिल्लो मंगलबार यसको कारोबारमा रोक लगाएको थियो। समितिले कम्पनीलाई सुधारका लागि सातदेखि ३० दिनसम्मको समय दिएको छ।

कम्पनीले नियमविपरीत घर भाडामा लिएर अग्रिम भुक्तानी गरेको, दायित्व भुक्तानी गर्न सक्ने रकम (एयर मार्क) पूरा नगरेको, मापदण्ड पूरा नगरेका संस्थामा रकम जम्मा गरेको, सञ्चालकलाई धेरै पेसकी दिई फिर्ता नगरेको र पुनर्बिमा रकम भुक्तानी नगरेको आरोप लगाउँदै समितिले कारबाही गरेको हो।
श्रेष्ठले घर भाडाका लागि भुक्तानी गरिएको रकममध्ये ५० लाख रुपैयाँमात्र फिर्ता गर्न बाँकी रहेको जानकारी दिए। कम्पनीका सञ्चालकले घर भाडा लिँदा नियमविपरीत भुक्तानी गरेकाले त्यो रकम फिर्ता गर्न समितिले निर्देशन दिएको थियो। 'अब जम्मा ५० लाख रुपैयाँ पेस्की फिर्ता गर्न बाँकी छ,' उनले भने, 'अन्य सुधारका काम पनि अगाडि बढिरहेका छन्।'
कम्पनीले एक वर्षमा २० लाख रुपैयाँभन्दा बढीको घरजग्गालगायत स्थिर सम्पत्ति निर्माण, खरिद र भाडामा कारोबार गर्दा समितिको स्वीकृति लिएर गर्नुपर्ने व्यवस्था उल्घंघन गरेर एकै वर्षमा ५ करोड ९० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको समितिको स्थलगत निरीक्षणमा भेटिएको थियो।
श्रेष्ठका अनुसार सञ्चालकले कम्पनीबाट लगेको पेस्की रकम फिर्ता गरिसकेका छन्। समितिको निरीक्षणले सञ्चालकले ५ करोड ५९ लाख रुपैयाँ पेस्की लगेको देखिएको थियो। 'सञ्चालकले पेस्की लैजानु अपराध होइन,' उनले भने, 'तैपनि सञ्चालकले लगेजति फिर्ता गरिसकेका छन्।'
कम्पनीले मापदण्ड पूरा नभएका वित्तीय संस्थाको रकम वाणिज्य बैंकमा सार्न थालिसकेको छ। समितिले 'निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीका लागि तोकिएको लगानी क्षेत्र र त्यस्तो क्षेत्रमा लगानी गर्न सक्ने गरी तोकिएको प्रतिशत' लगानी नगरेको आरोप लगाएको थियो। 'दुई करोड रुपैयाँ वाणिज्य बैंकमा सारिसकेका छौं। अब एक करोड जति सार्न बाँकी छ,' श्रेष्ठले भने।
कम्पनीले दायित्व भुक्तानी गर्न सक्ने रकम (एयर मार्क) जम्मा पार्न सुरु गरिसकेको छ। मापदण्ड पूरा नगरेका संस्थामा राखेको निक्षेप वाणिज्य बैंकमा सारेसँगै कम्पनीको एयरमार्क रकम बढ्ने छ। 'एयरमार्क ५० लाख रुपैयाँमात्र नपुगेको हो। अब केही दिनमा त्यो पूरा हुन्छ,' श्रेष्ठले भने। समितिले कम्पनीलाई १४ करोड ८५ लाख ८९ हजार रुपैयाँभन्दा बढी एयरमार्क जम्मा गर्न निर्देशन दिएको थियो। समितिको निरीक्षणले एयरमार्क रकम ७ करोड ६७ लाख ६४ हजार रुपैयाँ अपुग देखिएको थियो।
'समितिको सबै निर्देशन पालना गरेर चालु वर्ष सेयरधनीलाई लाभांश दिने योजनामा छौं,' श्रेष्ठले भने, 'त्यही भएर पनि कम्पनीको अवस्था नराम्रो छैन। केही मिलाउन बाँकी छ। यो केही दिनमा नै मिल्छ।'
सर्वसाधारणको २० प्रतिशत सेयर रहेको यसको पछिल्लो तथ्यांकअनुसार कम्पनीले ४६ लाख ७० हजार नाफा कमाएको छ। ७ लाख तीन हजार १ सय बिमालेख जारी गरेको कम्पनीले अझै पनि दाबी भुक्तानी गर्न बाँकी बिमालेखको संख्या १ लाख ३० हजार छ।

No comments:

Post a Comment

thanks for comment