ठूला घराना अस्पताल खोल्दै

सुदर्शन सापकोटा
काठमाडौं, साउन २५
ठूला औद्योगिक घरानाहरु धमाधम अस्पतालमा लगानी गर्न थालेका छन्। औद्योगिक क्षेत्रमा समस्या आएसँगै सेवा क्षेत्र विस्तार हुन थालेपछि ठूला घराना अस्पतालमा आकर्षित भएका हुन्।
ज्योति समुहको लगानीमा राजधानीको धापासीमा तिहारपछि अस्पताल सञ्चालन हुँदैछ। खेतान समुहले एकैचोटी दुई वटा अस्पताल राजधानी र मोफसलमा निर्माण सुरु गर्दैछ। चौधरी समुहको नर्भिक स्कर्टस इन्टरनेसनल हस्टिलले क्षमता विस्तारसँगै नर्सिङ कलेज र मेडिकल इन्स्टिच्युट स्थापना गर्दैछ।
सबैभन्दा ठूलो लगानीमा ज्योति समुहले अस्पताल सञ्चालन गर्दैछ। ज्योति समुहसँगै ७५ जनाको लगानीमा ग्रान्डी इन्टरनेसनल हस्पिटल सञ्चालनमा आउन लागेको हो। दुई सय सैयाको अस्पताल २३ रोपनी जग्गामा निर्माण गरिएको हो।
'तिहारलगत्तै सेवा सञ्चालन हुने छ,' अस्पताल निर्माण समितिका अध्यक्ष रुप ज्योतिले बिहीबार नागरिकसँग भने, 'अस्पताल निर्माणमा कुल ३ सय करोड लगानी भएको छ।' कुल तीन सय करोेडमध्ये सय करोड अस्पतालको पूर्वाधार निर्माणमा खर्च भएको छ। वाँकी स्वास्थ्य समग्री खरिदमा।
अस्पतालमा ७५ जनाको समुहले न्युनतम ५० लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म लगानी गरेको छ। १४ तल्लाको भवनमा ८ वटा अपरेसन थिएटर छन्। अस्पतालको मेडिकल व्यवस्थापन हाडजोर्नी चिकित्सक (अर्थोपेडिक) चक्रराज पाण्डेले हेर्ने छन्।

'अस्पतालले सवैभन्दा वढी लगानी स्वास्थ्य उपकरणमा गरेको छ,' ज्योतिले भने, 'उपचारका हिसावले अस्पताल 'वर्ल्ड क्लास' हुने छ।' अस्पतालले दैनिक १ हजारलाई वहिरङ सेवा दिने लक्ष्य लिएको छ। अस्पताले क्षमता विस्तार गरेर ५ सय सैया पुर्‍याउने लक्ष्य लिएको छ।
'भवन तयार भइसकेको छ। सेवा सुरु गर्न धमाधम उपकरणहरु आयात गरिरहेका छौं,' उनले भने, 'सेवा सुरु भएपछि ग्रान्डी नेपालकै पहिलो ठूलो स्तरको अस्पताल हुने छ।' अस्पताले सवै किसिमको सेवा उपलब्ध गराउने छ।
खेतान समुहले एकैचोटी दुई वटा अस्पताल निर्माण गर्ने तयारी गरिरहेको छ। समुहले व्यवसायिक र सामाजिक गरी दुई वटा छुट्टछुट्ट अस्पताल निर्माण गर्न लागेको हो। धादिङको नौविसेमा सामाजिक अस्पताल र राजधानीमा व्यवसायिक अस्पताल निर्माण गर्न लागेको हो।
'नौविसेमा तिहारपछि निर्माण सुरु गछौं,' समुहका अध्यक्ष राजेन्द्रकुमार खेतानले बिहीबार नागरिकसँग भने, 'राजधानीको अस्पतालका लागि जग्गा टुङ्गो लाग्दैछ।' नौविसेमा मोहनगोपाल खेतान क्लिनिक तथा ट्रमा सेन्टर स्थापना हुने छ। 'नौविसेमा वुवाको नाममा अस्पताल खोल्न लागिएको हो,' खेतानले भने, 'सय  आना क्षेत्रफलमा निर्माण गर्ने छौं।' उनले यसमा ६ करोड रुपैयाँ लगानी गरिने जानकारी दिए। अस्पताले अन्य सेवासँगै खासगरी दुर्घटना परेका हरुलाई लक्षित गरी सेवा केन्द्रित हुने छ।
व्यवसायिक हिसावले खोल्न लागिएको अस्पतालमा भने समुहले १ सय ५० करोड रुपैयाँ लगानी गर्दैछ। समुले अस्पतालका लागि त्रिपुरेश्वरमा सात रोपनी जग्गासमेत खरीद गरेको थियो। तर योजना अनुसार जग्गा अपुग भएपछि समुहले चत्रपथभित्रै १० रोपनी जग्गा हेरिरहेको खेतानले जानकारी दिए।
'जग्गा टुङ्गो लागेको डेढ वर्षभित्र अस्पतालको निर्माण सकिने छ,' उनले भने, 'अस्पताल समाजका सवै वर्गलाई हुने गरी निर्माण गर्छौं।' उनका अनुसार, अस्पताल निर्माणको सवै प्रकृया सकिसकेको छ। खेतान समुहले चिकित्सकहरुको केही समुहसँग मिलेर अस्पताल निर्माण गर्न लागेको हो।
'अस्पतालले सवै किसिमको सेवा दिएपनि वढी मुटु रोगमा केन्द्रित हुने छ,' उनले भने, 'यससँगै मेडिकल र नर्सिङ दुवै कलेज सञ्चालन गर्ने छौं।' उनले अस्पताल व्यवसायिक हिसावले सञ्चालन नभएमा होटल तथा कम्प्लेक्सलाई हुने गरी भवन निर्माण गरिने जानकारी दिए।
चौधरी समुहले नर्भिक स्कर्टस इन्टरनेसनल हस्टिललाई धमाधम विस्तार गरिरहेको छ। यससँगै समुहले  राजधानीमै नर्सिङ कलेज र मेडिकल इन्स्टिच्युट निर्माण गर्ने तयारी गरिहेको छ।
'अहिले नर्भिकको विस्तार धमाधम भइरहेको छ,' अस्पतालकी कार्यकारी निर्देशक मेगा चौधरीले बिहीबार नागरिकसँग भनिन्, 'विस्तार भएको सवै कोठाहरु निजी र स्विट हुने छन्।' उनले ५२ वटा स्विट र निजी कोठा निर्माण भइरहेको जानकारी दिइन्।

No comments:

Post a Comment

thanks for comment