एनबी र एनसिसीलाई कारवाही तयारी श्रीलंका मर्चेन्टका सञ्चालकलाई बैंकिङ कसुर ऐन


सुदर्शन सापकोटा, काठमाडौं, भदौ १०- 
स्पस्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि राष्ट्र बैंकले नेपाल बंगलादेश (एनबी) बैंकका सञ्चालकलाई ५ लाख रुपैयाँ जरिवानासहित कारबाही गर्ने भएको छ। सञ्चालकहरुलाई जरिवाना र बिगो तिर्न भन्दै डुबेको रकम उठाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो। 
'सुशासनको पालना नभएकाले कारबाही गर्न लागिएको हो,' राष्ट्र बैंकका एक सञ्चालकले शनिबार नागरिकसँग भने, 'सञ्चालकका भगिनी संस्थालाई ऋण दिएको लगायत समस्या बैंकमा छन्।' 
गत वर्षको वासलातमा देखिएको कैफियत सुधार नगरेको, प्र्रक्रिया नपुर्‍याई ऋण अपलेखन गरेको, लिलाम बोलकबोलको बैना रकम फिर्ता गरेको लगायतबारे राष्ट्र बैंकले एनबीलाई स्पष्टीकरण सोधेको थियो। शुक्रबार एनबीले स्पष्टीकरणको जवाफ फर्काएको थियो।
स्पष्टीकरण पठाउँदै केही सञ्चालकले बैंकबाट राजीनामा गरिसकेका छन्। एनबी समूहका तर्फबाट सञ्चालक भएका लक्ष्मीबहादुर श्रेष्ठ र पुष्पराज राजकर्णिकारले राजीनामा गरेका हुन्। त्यसपछि रिक्त सञ्चालकमा एनबीले राष्ट्र बैंक सञ्चालक समितिबाट २६ दिनअघि अवकास पाएका शम्भुशरण कायस्थलाई चयन गरिसकेको छ। बैंकको ऋण नतिरेर कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका अर्का सञ्चालक विष्णुराज अधिकारी राजीनामा दिने तयारीमा छन्। कारबाहीबाट जोगिन एनबी समूहका सञ्चालकले राजीनामा गरेका हुन्। 
राष्ट्र बैंकको सञ्चालक समितिमा छउन्जेल कारबाहीबाट जोगाएका कायस्थलाई एनबीले हतारहतार सञ्चालक बनाएको हो। एनबी समूहले प्रवर्द्धन गरेका बैंक तथा वित्तीय संस्थालाई कारबाही सिफारिस सञ्चालक समितिमा लैजाँदा कायस्थले जहिले पनि त्यसलाई रोक्न 'लबिङ' गरेको स्रोत बताउँछ। 'कायस्थजीसँग एनबी समूहका बैंक वित्तीय संस्थाको कुरा आउने बित्तिकै बहस सुरु हुन्थ्यो,' उनीसँगै काम गरेका अर्का सञ्चालकले भने, 'उहाँले जसरी भए पनि कारबाही अगाडि बढ्न नदिने उपाय लगाउनुहुन्थ्यो।' 
कायस्थ सञ्चालक बन्नुअघि राष्ट्र बैंकले बंगलादेश बैंकको ऋण खाएर नतिरेका सञ्चालकबाट २ अर्ब ५० करोड रुपैयाँ उठाएको थियो। २०६४ साउन ८ गतेबाट कायस्थ राष्ट्र बैंकको सञ्चालक बनेपछि एनबीबाट एक पैसा पनि उठ्न सकेको थिएन। एनबी समूहले बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स र श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्रवर्द्धन गरेको छ। यसमध्ये श्रीलंका नेपाल बंगलादेश बैंकसँग एक वर्षअघि मर्ज भएको हो।

आठ वर्षअघि पनि नेपाल राष्ट्र बैंकले एनबी बैंकलाई कारबाही गरेको थियो। राष्ट्र बैंकले तत्कालीन सञ्चालक समितिलाई खारेज गरेर व्यवस्थापन लिएको थियो। राष्ट्र बैंकले जिम्मा लिएपछि बैंकमा सुधार आएको थियो।
स्रोतका अनुसार सञ्चालकले आफंैले लिएको ऋण नतिरेर अपलेखन गरिएको छ। ४० करोड रुपैयाँको यस्तो ऋण अहिले ब्याजसहित ५० करोड रुपैयाँको हाराहारीमा पुगिसकेको छ। श्रीलंका मर्चेन्ट बैंकका सम्पूर्ण सम्पत्ति तथा दायित्व स्वीकार्दाको ९० करोड रुपैयाँ ऋण पनि यसैगरी अपलेखन गरिएको छ। त्यो ऋण सञ्चालकले लिएका थिए।
एनबी समूहले नै प्रवर्द्धन गरेको श्रीलंका मर्चेन्ट बैंकबाट पनि सञ्चालकले आफैंले ऋण लिएर भुक्तानी गरेका छैनन्। यस्तो ऋण नउठाएर अपलेखन गरी वासलातबाट हटाइएको छ। 'गलत प्रक्रियाले अपलेखन गरिएको यस्तो ऋण उठाउन सञ्चालकलाई निर्देशन दिइसकेका छौं,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो।
बैंकले सम्पत्ति लिलाम गर्दा बोलकबोलबाट बाहिरिएको आफ्नै संस्थाको बैना रकमसमेत फिर्ता गरेको छ। कम्पनीले ४ करोडको सम्पत्तिको लिलामीमा भाग लिन ४७ लाख रुपैयाँ बैना दिएको थियो। पछि लिलामीमा भाग नलिने भएपछि बैंकले पूरै रकम भुक्तानी गरेको थियो।
अन्तर्राष्ट्रिय अभ्यासअनुसारै पनि बैना रकम भुक्तानी गर्न मिल्दैन। 'आफ्नै कम्पनीलाई लिलामीमा भाग लिन लगाएर पछि बैना फिर्ता गरिएको छ। यो रकम उठाउन पनि निर्देशन दिएका छौं,' राष्ट्र बैंक स्रोतले भन्यो। लिलामी प्रक्रियामा एनबी समूहका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठको तर्फबाट युनाइटेड विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रवीन्द्रबहादुर सिंह संलग्न थिए। उनी अहिले बैंकिङ कसुर ऐनअन्तर्गत जेलमा छन्। 
'बैंकलाई घाटा गराएजति रकम फिर्ता गराउन निर्देशन दिएका छौं,' स्रोतले भन्यो, 'तुरुन्तै फिर्ता गर्नुपर्छ। नभए राष्ट्र बैंक थप कडा कारबाहीमा जान्छ।'

समस्या एनसिसीमा पनि 
एनबी समूहले प्रवर्द्धन गरेको कुनै पनि बैंक तथा वित्तीय संस्था समस्या मुक्त छैन। लक्ष्मीबहादुर श्रेष्ठ नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको पाँच वर्षअघि अध्यक्ष भएका बेला पनि अढाइ करोड रुपैयाँ घोटाला भएको थियो। यो रकम उठाउन राष्ट्र बैंकले धेरै प्रयास गरे पनि कायस्थले एनबी समूहको तर्फबाट लबिङ गर्दिनाले उठाउने प्रयास सफल हुन सकेको थिएन।

राष्ट्र बैंकले पैसा उठाउन नसकेपछि यो मुद्दालाई राष्ट्रिय सतर्कता केन्द्रले हेरिरहेको छ। लक्ष्मीबहादुरले आफ्नै लगानीको सांग्रिला हाउजिङलाई यो रकम लगानी गरेका थिए। 'एनसिसी बैंकले नियमविपरीत लगानी गरेको रकम फिर्ता गर्न निर्देशन दिएका छौं,' स्रोतले भन्यो, 'फिर्ता नगरे कारबाही हुन्छ।'
एनबी समूहले नै प्रवर्द्धन गरेको एनबी इन्स्योरेन्समा १५ करोड रुपैयाँको घोटाला पुष्टि भएपछि २० दिनअघि मात्रै बिमा समितिले कारबाही गरेको थियो। समितिको कारबाहीको कारण इन्स्योरेन्सको सबै कारोबार रोक्का छ।
श्रीलंका मर्चेन्टका सञ्चालकलाई कारबाही
राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकसँग मर्ज हुनुअघि नियमविपरीत लगानी गरेका कारण श्रीलंका मर्चेन्टका तत्कालीन सञ्चालक समिति सदस्यहरुलाई बैंकिङ कसुर ऐनअन्तर्गत कारबाही गर्ने भएको छ। राष्ट्र बैंकको शुक्रबार बसेको सञ्चालक समितिले बैंकिङ कसुर ऐन लगाउने निर्णय गरिसकेको छ।

'अर्थ मन्त्रालय हुँदै प्रहरीमार्फत कारबाही अगाडि बढाउँछौं,' स्रोतले भन्यो, 'आइतबार बिहानै कारबाही अघि बढ्छ।' राष्ट्र बैंकले बंगलादेश बैंकसँग मर्जरमा जान स्वीकृति दिएपछि श्रीलंका मर्चेन्टले अल्का अस्पताललाई ९ करोड रुपैयाँ ऋण दिएको थियो। 'आठवटा पार्टीलाई ऋण दिइएको छ,' स्रोतले भन्यो, 'ऋण लैजाने सबै 'डमी' हुन्। पैसा एनबी समूहमा पुगेको छ।'
श्रीलंका मर्चेन्टका तत्कालीन कार्यकारी अध्यक्ष रुबि जोशीसहित अन्य पाँच सञ्चालकलाई कारबाही गर्न लागिएको हो। यो ऋणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ। 


 
 
प्रश्न नैतिकताको 
केन्द्रीय बैंकको सञ्चालकबाट अवकास लिएको २६ दिनमै शम्भुशरण कायस्थ आफैंले नियमन गर्दै आएको संस्थामा सञ्चालक भएर गएका छन्। उनी एनबी बैंक गएका हुन्।
राष्ट्र बैंक छाडेको एक वर्ष बितेपछि मात्रै आफैंले नियमन गर्ने संस्थामा जाने चलन छ। यसअघि राष्ट्र बैंकबाट अवकास पाएका कुनै पनि सञ्चालक एक वर्ष नगुजारी बैंक तथा वित्तीय संस्थामा गएका थिएनन्। कायस्थ अवकास पाएको २६ दिनमै कारबाहीको मुखमा परेको एनबी बैंकमा गएका हुन्।
'सधैं कारबाहीको दायरामा परेको बैंकमा जानु त झन् ठूलो नैतिक प्रश्न हो,' राष्ट्र बैंकका एक पूर्वसञ्चालकले भने, 'कायस्थजीको एनबीमा स्वार्थ बाझिएको देखिन्छ।' एनबी समूह कायस्थ हुन्जले पाँच वर्ष राष्ट्र बैंकको कारबाहीबाट जोगिनुको कारण यही थियो। 
स्रोतका अनुसार कायस्थले एनबी समूहले प्रवर्द्धन गरेका संस्थाबारे प्रश्न उठ्दा जहिल्यै प्रतिकार गर्थे। उनको कारणले राष्ट्र बैंकले कारबाही गर्न सकेको थिएन। 'कायस्थजी बाहिरिएपछि कारबाही थालेका थियौं,' राष्ट्र बैंक स्रोतले भन्यो, 'उहाँ पुनः ढाल बनेर उभिनुभएको छ। तर अब कारबाही रोकिन्न जसरी पनि अगाडि बढ्छौं।'
कायस्थ सरकारको सचिवबाट अवकास पाएपछि राष्ट्र बैंक छिरेका हुन्। उनलाई नेपाली कांग्रेसको सरकार हुँदा राष्ट्र बैंकमा नियुक्ति दिइएको थियो। 
पछिल्लोपटक राष्ट्र बैंकले एकाघरले सञ्चालन गरेका बैंकहरुलाई मर्ज गर्न दबाब दिइरहेको थियो। तर एनबी र एनसिसी बैंकको हकमा राष्ट्र बैंक कायस्थकै कारण कडा बन्न सकेको थिएन। एक वर्षअघि दुवै बैंकले मर्जमा जान विशेष साधरण सभाको आह्वान पनि गरेका थिए। तर कायस्थले 'भूमिका' खेलेपछि विशेष साधरण सभा रोकिएको थियो। 
 

No comments:

Post a Comment

thanks for comment