पुस्पाञ्जली सहकारीले पैसा फिर्ता गरेन, तीन करोड बचत डुब्यो

सुदर्शन सापकोटा
काठमाडौं, साउन १६- 
राधिका श्रेष्ठ दैनिक एक चोटी चावहिलको पुस्पाञ्जली सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ पुग्छिन्। उनले जम्मा गरेको पैसा एक वर्षदेखि फिर्ता नभएपछि त्यसैको ताकेता गर्न उनी दैनिक त्यहाँ जान्छिन्। तरकारी विक्री गरेर गुजारा चलाउने उनी हरेक दिन सहकारीबाट निरास भएर फर्किन्छन्।
चावहिलको गणेश भवनस्थित पुस्पाञ्जली सहकारीमा उनले चार लाख ३५ हजार जम्मा गरेकी छिन्। १ लाख ३५ हजार रुपैयाँ बचत खातामा छ। तीन लाख रुपैयाँ मुद्दति निक्षेपमा। गत असोज १५ गते नै उनको मुद्दति खाताको पैसा पाकिसकेको हो। तर सहकारीले भने अहिले पैसा छैन पछि आउनुस् भनेर उनलाई एक वर्षदेखि फर्काइरहेको छ।
'हरेक दिन पैसा फिर्ता लिन जान्छु तर वोलाएको समयमा कहिले कार्यालय खुल्दैन र मानिसहरु पनि कोही वस्दैनन्,' राधिकाले सोमबार नागरिकसँग भनिन्, 'तरकारी विक्री गरेर जोगाएको पैसा सवै डुब्ने भयो।' राधिका जस्तै करिव २ सय जना बचतकर्ता दिनहुँ सहकारीमा पैसा फिर्ता लिन जान्छन् र निरास भएर फर्किन्छन्।
'केही दिनअघिसम्म तपाईको पैसा डुब्दैन। 'टेन्सन' नलिनुस् भन्थिए,' उनले भनिन्, 'आज (मंगलबार) विहान त सञ्चालकले तपाईको पैसा फिर्ता हुँदैन। जे गर्न सक्नु हुन्छ गर्नुस् भने। मेरो त जिन्दगीभरीको कमाइ डुब्ने भो। दुई छोरीलाई कसरी पढाउँ अब?' उनले पाँच प्रतिशत ब्याज आउने गरी बचत खाता सञ्चालन गरेकी थिइन् भने मुद्दतिमा १३ प्रतिशत ब्याज आउने गरी राखेकी थिइन्।
'आफन्त दिदीले त्यही पैसा राख्ने गरेकाले मैले पनि जम्मा गरेको थिएँ। सुरुसुरुमा सजिलो गरी कारोबार पनि भएको थियो,' राधिकाले भनिन्, 'तर डेढ वर्षदेखि समस्या दिइरहेको छ। पैसा कसरी उठाउने भन्ने पिरले रातमा पनि निदाउन सक्दिन।'
सहकारीमा चावहिल वरपर व्यापार व्यवसाय गर्ने निम्न आयका सर्वसाधारणले पैसा जम्मा गरेका छन्। राधिकाले २०६४ सालबाट बचत पुस्पाञ्जलीमा पैसा राख्न थालेकी हुन्। तरकारी विक्रीबाट आएको थोरैतिनो पैसामध्ये उनले त्यहाँ बचत गर्थिन्।
गोकर्ण बस्ने श्याम श्रेष्ठको पनि तीन लाख रुपैयाँ डुवेको छ। उनले जग्गा विक्री गरेर पुस्पाञ्जलीमा पैसा राखेका थिए। तर आफूलाई आवश्यक पर्दा पैसा लिन जाँदा उनले फिर्ता पाएनन्। 'पाँच प्रतिशत आउने गरी बचत खातामा पैसा राखेको हो,' उनले भने, 'ब्याज त कता हो कता। सावाँ पनि फिर्ता भएको छैन।'
सहकारीले आफ्ना नातागोतामा बिना धितो ऋण प्रवाह गरेकाले सर्वसाधारणको फिर्ता गर्न नसकेको हो। ७० लाख रुपैयाँ सेयर पुँजी रहेकेा सहकारीले चार करोड रुपैयाँसम्म ऋण लगानी गरेको छ। तीन करोड रुपैयाँभन्दा वढी निक्षेप फिर्ता गर्न वाँकी छ।
सहकारीमा जोरपाटीका दुर्गा दाहाल अध्यक्ष छन्। उनका छोरा प्रविण सञ्चालक छन्। उपाध्यक्षमा दुर्गा भट्ट र काषाध्यक्ष सुदर्शन ढुङगाना छन्। सचिव दाहालकै आफन्त छन्। लेखा समिति भवानीप्रसाद पौडेल छन्। अध्यक्ष दाहालको चावहिलमा औषधिको होलसेल पसल छ।
'ऋण धेरै वढ्यो तर बचत संकलन बढ्न सकेन। त्यही भएर पैसा फिर्ता माग्न आउनेलाई दिन सकिएन,' बचतकर्ताले दवाव दिन थालेपछि भर्खरै सहकारीको सञ्चालक पद छाएका एक जनाले भने, 'कसै कसैलाई फिर्ता पनि गरेको हो। तर ऋण उठाउन नसकेकाले सहकारीमा समस्या आएको हो।' उनले सहकारीका अध्यक्ष दाहालले आफ्नै नातेदारहरुलाई दिएको ऋण उठाउन नसक्दा सर्वसाधारणको पैसा फिर्ता गर्न नसकिएको बताए। उनका अनुसार, सहकारीमा चार सयको हाराहारीमा बचतकर्ता छन्। त्यति नै ऋणी पनि भएको उनले जानकारी दिए।
उनले बिस हजार रुपैयाँ बचत खातामा जम्मा गराएर १ लाखसम्म व्यक्तिगत जमानीमा बिनाधितो ऋण दिने गरेकाले सहकारीमा समस्या आएको बताए। सहकारीले पैसा फिर्ता गर्न नसकेपछि सर्वसाधारणको दवावबाट भाग्न कार्यालयसमेत बन्द गरेको छ।
अध्यक्षका छोरो तथा सञ्चालक प्रविणले भने सकेसम्म निक्षेपकर्ताको पैसा फिर्ता गरिरहेको दावी गरे। 'सहकारीले ठ्याम्मै पैसा फिर्ता गर्न छाडेको होइन। केही समस्या भएर सवैको फिर्ता गर्न नसकेको हो,' उनले नागरिकसँग भने, 'ऋण उठाउँदै फिर्ता गरिरहेका छौं।' उनले पछिल्लो समयमा ऋण उठाउन जिल्ला प्रशासन कार्यालयको सहयोग लिइरहेको भन्दै ऋणीको सम्पति रोक्नका लागि पहल गरिरहेको दावी गरे।
'ऋण नउठेर डेढ वर्षदेखि समस्या भएको हो। ऋण उठ्न समय लाग्छ। पैसा उठेपछि सवैको फिर्ता गछौं,' उनले भने, 'कहिलेसम्म फिर्ता गर्ने भनेर समय चैँ दिन सक्दैनौं। सबै कुरा पत्रकारलाई बताउन पनि मिल्दैन।' उनले आफू दैनिक रुपमा ऋण उठाउन व्यस्त भएको दावी समेत गरे।

No comments:

Post a Comment

thanks for comment