आयुर्वेदिक औषधी उत्पादन गर्दै चौधरी समूह

काठमाडौ, साउन २८- चाउचाउ उत्पादनमा अग्रणी चौधरी ग्रुपले दुई महिनाभित्रै आयुर्वेदिक औषधी उत्पादन थाल्ने भएको छ। समूहले नवलपरासीको चौधरी ग्राममा अत्याधुनिक प्लान्टबाट विश्वस्तरीय आयुर्वेदिक औषधी उत्पादन थाल्ने भएको हो। 
बरुण चौधरी
निर्देशक 
चौधरी ग्रुप
'हामीले दुई महिनाभित्रै आयुर्वेदिक औषधी उत्पादन थालेर बजारमा ल्याउनेछौ। उत्पादनको लागि तयारी अन्तिम चरणमा छ,' समूहका निर्देशक बरुण चौधरीले शुक्रवार नागरिकसँग भने, 'गुणस्तरीय आयुर्वेदिक उत्पादन नेपाली बजारमा ल्याउनेछौ।'  
आयुर्वेदिक औषधी उत्पादनको लागि समूहले सिजी वायोटेक एन्ड आयुर्वेदा कम्पनी नै स्थापना गरेको छ। आयुर्वेदिक औषधी उत्पादनको लागि १० करोडको अत्याधुनिक प्लान्ट स्थापना गरिसकेको छ।
समूहले च्यावनप्रास, अभिपत्तिकर, हिङवास्तक, सिलाजित र सिताप्लादी उत्पादन गर्नेछ। उनले बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका जस्तै गुणस्तरीय आयुर्वेदिक औषधी ल्याउने जानकारी दिए।
'बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्ने हाम्रा उत्पादन हुनेछन्,' उनले भने, 'हामीले प्लान्टनै अत्याधुनिक ल्याएका छौ।' उनले औषधी उत्पादन सम्वन्धी विश्व स्वास्थ्य संगठनको (जिएमपी)स्तरको विश्वस्तरको आयुर्वेदिक औषधी उत्पादन गर्ने प्लान्ट रहेको दावी गरे।
बरुण चौधरी
निर्देशक 
चौधरी ग्रुप

'हाम्रो समूहले गुणस्तरमा कुनै सम्झौता गर्दैन्। औषधी उत्पादनमा हामी अझ संवेदनशील छौ,' चौधरीले भने, 'त्यसैले हामीले प्लान्ट स्थापना गर्दा गुणस्तरमा कुनै सम्झौता गरिएएको छैन।' यो वाहेक कम्पनीले डायवेटिज(मधुमेह), मानसिक दबाब, छाला, किड्नी सम्वन्धी आयुर्वेदिक औषधी पनि उत्पादन गर्नेछ। कम्पनीले दोस्रो चरणमा यस सम्वन्धी आयुर्वेदिक औषधी उत्पादन थाल्नेछ।
कम्पनीले आयुर्वेदिक औषधी उत्पादनकै लागि अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान तथा विकास(रिर्सच एन्ड डेभलपमेन्ट) सुविधा समेत स्थापना गरिसकेको छ।
चौधरीले नेपालमा आयुर्वेदिक औषधी उत्पादनको प्रचुर सम्भावना देखेर समूह सहभागी भएको बताए। उनले मुलुकभित्र खेर गइरहेको जडीबुटीको मूल्य अभिवृद्धि गरेर निकासी गर्न प्लान्टको स्थापना गरेको जानकारी दिए।
'हामीसँग अमूल्य जडीबुटी चेतनाको अभावले खेर गइरहेको हामीले देख्यौ। यसरी लाखौ रुपैयाँमा बिक्री गर्न सकिने जडिबुटीको प्रशोधन गरेर निकासी गर्नेतर्फ हामी केन्द्रीत भयौ,' उनले भने। समूहले पाँच वर्षअघि छुट्टै कम्पनी स्थापना गरेर जडीबुटीको संकलन गरेर भारत निकासी थालेको थियो। कम्पनीले विभिन्न स्थानमा संकलन केन्द्र स्थापना गरेर जडीबुटी भारत निकासी गरेको थियो।
'आयुर्वेदिक औषधी उत्पादन गर्नुपूर्व हामीले मुलुकमा विभिन्न क्षेत्रमा पाइने जडीबुटीको अध्ययन अनुसन्धान गर्‍र्यो,' चौधरीले भने, 'हामीले अनुसन्धान गर्दै जाँदा १६ सय भन्दा बढी जडीबुटी नेपालमा पाइने रहेछ। त्यो मध्ये थोरै मात्रै उपयोगमा आएको रहेछ।' उनका अनुसार हुम्ला, डोल्पा लगायतका क्षेत्रमा स्थलगत अनुसन्धानपछि जडीबुटी संकलन थालेका हौ।
'जडीबुटीको अध्ययन गर्दै जाँदा धेरै किसानले कौडीको मूल्य बिक्री गरिरहेको भेटियो। त्यसपछि हामीले जडीबुटी संकलन गरेर किसानलाई पनि राम्रो रकम दिन थाल्यौ,' उनले भने, 'त्यसबाट जडीबुटी खेती गर्ने र संकलन गर्नेको आर्थिक अवस्थामै सुधार भएको छ।' समूहले संकलित जडीबुटी भारत, जर्मनी र बुलगेरिया, चेकोस्लोभाकिया लगायत मुलुकमा निकासी गर्दै आएको छ।
समूहले यो वाहेक व्यवसायिक जडीबुटी खेतीलाई पनि अघि बढाएको छ। नवलपरासीको दुम्कीबास र पाल्पामा व्यवसायिक जडीबुटी खेती सुरु गर्ने भएको छ। चौधरीले दुई महिनाभित्रै व्यवसायिक जडीबुटी खेती सुरु गर्ने जानकारी दिए।
'दुई महिनाभित्रै कुटकी, जटामसी, चिराइतोको व्यवसायिक खेती सुरु गर्दछौ,' उनले भने, 'यसका लागि दुम्कीबासमा सात विघा जग्गा समेत समेत लिइसकेका छौ।'
'हावापानी, माटो लगायतका परीक्षण गर्दा दुम्कीबासमा जडीबुटी खेती गर्न सकिने देखियो,' चौधरीले भने, 'त्यसमा ग्रिनहाउस बनाएर पनि खेती गर्ने योजना छ।' यो जडीबुटी खेतीमा चालिस जनाले रोजगार पाउनेछन्।
समूहले यो वाहेक अर्गानिक तरकारी खेतीको योजनालाई पनि केन्द्रीत गर्न खोजिरहेको छ। समूहले नवलपरासीमा व्यवसायिक खेति गर्न अध्ययन गरिसकेको छ। प्राविधिकहरुसँग छलफलमा रहेको समुहले लगानी र विजिनेस प्लान तयार पारिरहेको छ।

No comments:

Post a Comment

thanks for comment