सेयरमा कुन कम्पनीले कति गरे कारोबार ? ९ कम्पनीको पुँजीकरण १० अर्ब नाघ्यो

काठमाडौं, भदौ १३ - 
सबैभन्दा बढी नाफा गरेर कर तिरेको नेपाल टेलिकम बजार पुँजीकरणको हिसाबले पनि नम्बर एक कम्पनी बनेको छ। गत वर्ष कम्पनीको बजार पुँजीकरण ७५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
अन्तिम कारोबार मूल्यलाई कम्पनीको सूचीकृत सेयरले गुणा गरी बजार पुँजीकरण निकालिन्छ। टेलिकमभन्दा पछाडि रहेका कम्पनीको बजार पुँजीकरण तीन गुणा कम छ।
टेलिकमको अन्तिम कारोबार मूल्य प्रति सेयर ५ सय ३ रुपैयाँ थियो। टेलिकमको नेपाल स्टक एक्स्चेन्जमा १५ करोड कित्ता सेयर सूचीकृत छ। कम्पनीले यस वर्ष १३ अर्ब ८६ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४५ प्रतिशत लाभांश दिएको थियो।
स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीमध्ये ९ वटाको बजार पुँजीकरण १० अर्ब रुपैयाँभन्दा बढी छ। नेपाल टेलिकम र चिलिमे जलविद्युत आयोजनाबाहेक सबै वाणिज्य बैंक छन्। चिलिमे पुँजीकरणको हिसाबले आठौं स्थानमा छ। बजार पुँजीकरण बढी भएका बैंकहरुमध्ये एसबिआइ र बैंक अफ काठमान्डूबाहेक सबैले एक अर्बभन्दा बढी नाफा कमाएका छन्।
बजार पुँजीकरणमा स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो स्थानमा आउँछ। कुल १ करोड ६० लाख ८२ हजार ५६१ कित्ता सेयर सूचीकृत भएको बैंकको बजार पुँजीकरण २८ अर्ब ९३ करोड २५ लाख रुपैयाँ छ। बैंकको अन्तिम कारोबार मूल्य १ हजार ७९९ रुपैयाँ थियो। बैंकले एक अर्ब १६ करोड नाफा गरेको थियो।
१ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको नबिल बैंक बजार पुँजीकरणका हिसाबले तेस्रो स्थानमा छ। २ करोड २ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर सूचिकृत भएको कम्पनीको पुँजीकरण २७ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ छ। बैंकको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ५५ रुपैयाँ थियो। बैंकले गत वर्ष लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिएको थियो।
हिमालयनको १५ अर्ब ६७ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको १५ अर्ब ३८ करोड, नेपाल एसबिआई बैंकको १३ अर्ब २८ करोड र एभरेस्ट बैंक बजार पुँजीकरण १२ अर्ब ७२ करोड रुपैयाँ छ। बैंक अफ काठमान्डूको १० अर्ब ७ करोड रुपैयाँ छ। चिलिमे जलविद्युत कम्पनीको पुँजीकरण भने १२ अर्ब २३ करोड रुपैयाँ छ।
हिमालयन बैंकले एक अर्ब पाँच करोड नाफा कमाएको छ। एभरेस्ट बैंकले एक अर्ब नौं करोड नाफा कमाएको छ। एसबिआईले भने ४७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ। बैंक अफ काठमान्डूले ६० करोड ७६ लाख नाफा कमाएको छ।
टेलिकमपछि सबैभन्दा बढी इन्भेस्टमेन्ट बैंकको सेयर सूचीकरण छ। बैंकको ३ करोड १ लाख १३ हजारभन्दा बढी कित्ता सेयर सूचीकृत छ। सबैभन्दा प्रति सेयर बजार मूल्य स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ।। त्यसपछि नबिलको छ। एक अर्ब रुपैयाँभन्दा माथि र १० अर्ब रुपैयाँभन्दा कम बजार पुँजीकरण ३४ कम्पनीको छ ।

No comments:

Post a Comment

thanks for comment