बंगलादेश बैंकमा दुई सञ्चालक थपिए


सुदर्शन सापकोटा, काठमाडौं, भदौ ११- नेपाल बंगलादेश (एनबी) बैंकले थप दुई सञ्चालक नियुक्त गरेको छ। बैंकले व्यवासायिक सञ्चालकका रुपमा अच्युत बजगाइँ र सर्वसाधारणका तर्फबाट मुकुन्द ढुंगेललाई नियुक्त गरेको हो। 
'दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गरेका छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले आइतबार नागरिकसँग भने, 'बैंकको वित्तीय स्वास्थ्य राम्रो छ। अब अगाडि बढ्न थप सजिलो हुने छ।'
नेपाल राष्ट्र बैंकले पाँच लाख रुपैयाँ जरिवानासहित थप कारवाही गर्ने भएपछि एनबी समूहका तर्फबाट लक्ष्मीबहादुर श्रेष्ठ र पुष्पराज राजकर्णिकारले बैंक सञ्चालकबाट राजिनामा गरेका थिए। राष्ट्र बैंकको कारवाहीबाट जोगिन बैंकले शुक्रबार शम्भुशरण कायस्थलाई बिहीबार सञ्चालक बनाएको थियो। उनी राष्ट्र बैंकको सञ्चालकबाट २६ दिनअघि मात्र अवकास भएका थिए।
बजगाइँ नेपाल राष्ट्र बैंकका पूर्व विशिष्ठ श्रेणिाका कर्मचारी हुन्। उनी विभिन्न बैंकका सञ्चालकसमेत भइसकेका छन्। ढुंगेल नेपाल स्टक एक्सचेन्जका पूर्वमहाप्रबन्धक हुन्। एनबी समूह बाहिरिएसँगै नयाँ सञ्चालक समितिको बैठक सोमबार बस्दैछ। सोमबारको बैठकमा भाग लिन बैगलादेशी सञ्चालक समेत आउँदैछन्।
बैंकको ऋण नतिरेर कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका अर्का सञ्चालक विष्णुराज अधिकारी राजीनामा दिइसकेका छैनन्। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनअनुसार, कालो सूचीमा परेको सञ्चालक कम्तिमा तीन वर्षका लागि पुनः सञ्चालक हुन नपाउने व्यवस्था छ। 
गत वर्षको वासलातमा देखिएको कैफियत सुधार नगरेको, प्र्रक्रिया नपुर्‍याइ ऋण अपलेखन गरेको, लिलाम बोलकबोलको बैना रकम फिर्ता गरेको लगायतको बारेमा राष्ट्र बैंकले स्पष्टीकरण सोधेको थियो। सञ्चालकहरुले स्पष्टीकरणको चित्त बु‰दो उत्तर नदिएको भन्दै राष्ट्र बैंक कारवाहीको तयारीमा छ। 
एनबी समूहका तर्फबाट चयन भएका सञ्चालक बाहिरिएसँगै उनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने प्रक्रियासमेत अगाडि बढ्ने भएको छ। एनबी समूहले विभिन्न कम्पनीको नाममा २६ प्रतिशत अर्थात ६० लाख कित्ता सेयर ओगटेर बसेका छन्। सञ्चालकको नाममा भने जम्मा ४ लाख कित्ता सेयर छ।
सञ्चालकले आफ्नो सेयर बिक्री गर्न पद छाडेको एक वर्ष समय कुर्नु पर्ने कानुनी व्यवस्था छ। यही व्यवस्थाका कारण एनबी समूहको सेयर बिक्री योजना पछि सरेको थियो। 'चार लाख कित्ता बाहेकको बाँकी ५६ लाख कित्ता सेयर बिक्री गर्न समस्या छैन,' बैंक स्रोतले भन्यो, 'राष्ट्र बैंकले स्वीकृति दिए पुसभित्र सेयर बिक्री गरेर सञ्चालकले लिएको ऋण उठाउने अवस्था छ।'
एनबी समूहले ओगटेको सेयर बंगलादेशी समूहले खरिद गर्ने तयारी गरेको छ। १८ वर्षअघि खुलेको बैंकमा बंगलादेशको आइएफआइसी बैंकको ९.९२ प्रतिशत सेयर लगानी छ। अर्को बंगलादेशी बैंक बैंक एसिया लिमिटेडको १४.८८ प्रतिशत सेयर छ। एनबी समुहका लक्ष्मीबहादुर श्रेष्ठको प्रत्यक्ष लगानी ३.५ र जितबहादुर श्रेष्ठको ३.३ प्रतिशत सेयर छ। 
एनबी बैंकमा बैंक एसियाका तर्फबाट इरफानुद्दिन एहेमद र आइएफआइसीका तर्फबाट मोहम्मद लुत्फर रहमान सञ्चालक छन्। आइएफआइसीले सबै एनबी समूहको सेयर किनेपछि उसको कुल सेयर २६.९२ प्रतिशत पुग्नेछ। राष्ट्र बैंक पनि एनबी समूहलाई बैंकबाट अलग गराउन चाहन्छ। 
एनबी समूहले सेयर बिक्री गरेर आएको पैसा त्यही बैंकको ऋण भुक्तानी गर्न प्रयोग गर्नु पर्ने छ। राष्ट्र बैंकले सेयर बिक्री गरेको रकम ऋण भुक्तानी गर्नलाई प्रयोग गर्नु पर्ने गरी एनबी समूहलाई लिखित हस्ताक्षर गराइसकेको छ। एनबी समुहले एनबी बैंकबाट लिएको करिव ५० करोड ऋण भुक्तानी गर्न वाँकी छ। 
एनबी समूहको ६० लाख कित्ता सेयर प्रति कित्ता सय रुपैयाँका दरले विक्री भएमा पनि बैंकको ऋण तिर्न पुग्छ। बंगलादेश बैंकको प्रवर्द्धक सेयरको पछिल्लो कारोबार मूल्य प्रति कित्ता २ सय २० रुपैयाँ छ। बैंकको संस्थापक सेयर कारोबार २०१० मे १३ मा भएको थियो। बैंकले गत आर्थिक वर्ष ७० करोड २९ लाख नाफा कमाएको थियो। 

No comments:

Post a Comment

thanks for comment