बैंकको नाफा साढे १५ अर्ब पुग्यो

  • ब्याज अन्तर फराकिलो, डुबेको ऋण उठ्नु तथा बिदेशी मुद्राको किनबेच र छुट तथा कमिसन आम्दानी बढेका कारण नाफा दुई वर्षपछि वढेको हो।
  • सात बैंकले कमाए अर्ब वढी नाफा



 सुदर्शन सापकोटा
काठमाडौं, भदौ ४
घरजग्गा ऋणका कारण दुई बर्षयता आम्दानी वढाउन नसकेका बाणिज्य बैंकहरुले यस पटक भने राम्रो नाफा कमाएका छन्। बैंकहरुले नाफा १२.५६ प्रतिशतले बढाएर १५ अर्ब ४९ करोड रुपैयाँ पुर्‍याएका हुन्।
ब्याज अन्तर फराकिलो (निक्षेप र ऋण), डुबेको ऋण उठाउन तदारुकता, बिदेशी मुद्राको किनबेच र छुट तथा कमिसन (बैंक ग्यारेन्टी, प्रतिपत्र) आम्दानीबाट बैंकहरुले नाफा बढाएका हुन्। सञ्चालनमा रहेका ३२ बाणिज्य बैंकमध्ये २२ बटा बैंकले नाफा बढाएका छन्।
'अघिल्लो पटक डुबेका धेरै ऋणहरु यस पटक उठेका छन्,' नेपाल बैंकर्स संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सोमबार नागरिकसँग भने, 'डलर किनबेच र  बैंक ग्यारेन्टी, प्रतितपत्र, सेवा शुल्कबाट हुने आम्दानी पनि बढेको छ।'
बैंकहरुको ब्याज आम्दानी २.३२ प्रतिशतले वढेर ३२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। १६ वटा वाणिज्य बैंकहरुले ब्याज आम्दानी वढाएका हुन्। ऋणको किस्ता नउठेपछि नोक्सानी व्यवस्थामा राख्नु पर्ने रकम पोहोरको भन्दा ६.९५ प्रतिशतले वढेको छ। ३२ वाणिज्य बैंकहरुमध्ये जम्मा ११ वटा बैंकको यस्तो रकम वढेको हो। अघिल्लो वर्ष २४ वटा बैंकको नोक्सानी व्यवस्था रकम वढेको थियो। 


अर्बभन्दा बढी नाफा सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य र कृषि बिकास बैंक तथा निजी क्षेत्रका नबिल, नेपाल इन्भेस्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट र  हिमालयन बैंकले नघाएका छन्। यसमध्ये एभरेस्ट र हिमालयन बैंकले पहिलो पटक एक अर्ब नाफा नघाएका हुन्।
बढी नाफा गर्नेमा नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसबिआइ बैंक पनि पर्छन्। राष्ट्रिय बाणिज्य बैंकको नाफा अघिल्लो बर्षको भन्दा १५.७३ प्रतिशतले घटे पनि सबैभन्दा बढी नाफा गर्ने १० बैंकको तेस्रो सूचीमा बैंक परेको छ।
'तरलता, ब्याज दर र सम्पतिको राम्रो ब्यबस्थापन गर्न सकिएकाले नाफा बढेको हो,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नागरिकसँग भने, 'बिदेशी बिनिमयको कारोबारबाट पनि आम्दानी बढेको छ।'
नाफा बढाउनेमा नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक, सिद्धार्थ, कुमारी, सिटिजन्स् बैंक इन्टरनेसनल, बैंक अफ एसिया, ग्रान्ड, सनराइज, किस्ट, मेगा, जनता, सिभिल र माछापुच्छे्र बैंक छन्।
सबैभन्दा बढी नाफा गर्ने कृषि बिकास बैंकले २ अर्ब १७ करोड रुपैयाँ डुबेको ऋण उठाएको छ। ब्याज आम्दानी पोहोरको भन्दा आधा प्रतिशतले घटे पनि डुुबेको ऋण उठेका कारण बैंकको नाफा १८ प्रतिशतले बढेको छ। बैंकले ब्याज आम्दानी ४ अर्ब ११ करोड र छुट तथा कमिसन आम्दानी ५७ करोड ८३ लाख रुपैयाँ गरेको छ।
दोस्रो बढी नाफा गर्ने नबिल बैंकले बिदेशी मुद्राको किनबेचबाट मात्रै ४४ करोड ७० लाख रुपैयाँ कमाएको छ। बैंक ग्यारेन्टी, प्रतितपत्रलगायतको सेबाबाट ५६ करोड रुपैयाँ कमाएको छ। ब्याज आम्दानी २९.५६ प्रतिशतले बढाएर २ अर्ब ९७ करोड रुपैयाँ पुर्‍याएको छ। समग्रा आम्दानी बढेका कारण ५१ करोड रुपैयाँ नोक्सानी ब्यबस्थामा छुट्याउनु परेपनि बैंकको नाफा २८ प्रतिशतले बढेको हो। 
राष्ट्रिय बाणिज्य बैंक बढी नाफा कमाउने तेस्रो बैंक भएपनि ब्याज आम्दानी घटेका कारण गत बर्षको भन्दा कम नाफा गरेको छ। बैंकको ब्याज आम्दानी ९ प्रतिशतले घटेर २ अर्ब ३५ करोडमा सीमित भएको छ। यद्यपी बैंकले डुबेको ऋणमध्ये ९९ करोड ४८ लाख रुपैयाँ उठाएको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकको ब्याज आम्दानी घटेपनि बिदेशी मुद्राको किनबेच र छुट तथा कमिसन आम्दानी बढेका कारण नाफा १२ प्रतिशतले बृद्धि भएको हो। बैंकले अघिल्लो बर्ष नोक्सानीमा छुट्याएको रकमबाबट २५ करोड ३२ लाख रुपैयाँ उठाएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले यस पटक ब्याज र बिदेशी मुद्राको किनबेचबाट राम्रो आम्दानी गरेको छ। बैंकको यस्तो आम्दानी पढेकै कारण नाफा ४.४५ प्रतिशतले बृद्धि भएको हो। बैंकको बैंक ग्यारेन्टी, प्रतितपत्र, सेबा सुल्कलगायतबाट हुने आम्दानी भने १२.८९ प्रतिशतले घटेको छ। जोखिम रहित यस्तो आम्दानी धेरै गर्ने भनेर चिनिने स्ट्यार्न्ड चार्टर्ड बैंकको ऋण नउठेका कारण नोक्सानी ब्यबस्था बापतको रकमसमेत १५१ प्रतिशतले बढेको छ।
पहिलो पटक एक अर्ब नाफा नघाएको एभरेस्ट बैकले ब्याज तथा बिदेशी मुद्राको किनबेच र बैंक ग्यारेन्टी, प्रतितपत्र, सेबा सुल्कलगायतबाट राम्रो आम्दानी गरेको छ। अघिल्लो बर्ष  ऋण नउठेको ऋणमध्ये बैंकले यस पटक १४ करोड ९४ लाख रुपैयाँ उठाएको छ। यसले गर्दा बैंकको नाफा१७ प्रतिशतले बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेको हो।
हिमालयन बैंक पनि पहिलो पटक एक अर्ब नाफा गर्ने बैंक बनेको छ। बैंकको ब्याज आम्दानी घटेपनि बैंक ग्यारेन्टी, प्रतितपत्र, सेबा सुल्क र बिदेशी मुद्रा किनबेचबाट राम्रो आम्दानी गरेको छ। नोक्सानी ब्यबस्थाको रकमसमेत साढे ६९ प्रतिशतले घटेको छ। यसले बैंकको नाफा १७.८४ प्रतिशतले बढेर १ अर्ब ५ करोड पुगेको हो। 
यस पटक नाफा घट्नेमा सरकारी स्बामित्बको राष्ट्रिय बाणिज्य बैंकसहित निजी क्षेत्रका लक्ष्मी, प्राइम, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी), एनआइसी, सानिमा, एनएमबी र लुम्बिनी बैंक छन्। भर्खरै खुलेका कमर्ज एन्ड ट्रस्ट र सेन्चुरी कमर्सियल बैंकको समेत नाफा घटेको छ।


बढी नाफा गर्ने १० बैंक

बैंक                                                        खुद नाफा (करोडमा)
कृषि बिकास                                                   १८६.१०
नबिल बैंक                                                      १७१.८०
राष्ट्रिय बाणिज्य बैंक                                       १४४.६२
नेपाल इन्भष्टमेन्ट                                           १३१.८२
स्ट्यान्डर्ड चार्टर्ड                                              ११६.८९
एभरेस्ट बैंक                                                    १०९.०५
हिमालयन बैंक                                               १०५.२५
नेपाल बंगलादेश (एनबी) बैंक                         ७०.२९
बैंक अफ काठमाण्डू (बिओके)                         ६०.७६
नेपाल एसबिआइ ४७.५६

नाफा उच्च अंकले वढाएका पाँच बैंक

बैंक                                                        नाफा (प्रतिशतमा)                             नाफा (करोडमा)
सिभिल बैंक                                                   १९३३.६८                                        २.३६
सनराइज बैंक                                                 २३१.४२                                         १४.६६
मेगा बैंक                                                            १९३.७९                                      ७.१४
ग्रान्ड बैंक                                                            १०६.१८                                        १८.३६
किस्ट बैंक                                                            ८५.३५                                       १०.०२


No comments:

Post a Comment

thanks for comment