एभरेस्ट फ्लोरिकल्चर भदौ सातमा लिलाम पक्का


काठमाडौं, साउन २४
सहवित्तीयकरणमा लिएको ऋण नतिरेपछि एभरेस्ट फ्लोरिकल्चर लिलामीमा गएको छ।  हिमालयन बैंकको नेतृत्वमा लिएको ऋण नतिरेपछि फ्लोरिकल्चरलाई लिलामीमा लगिएको हो। लिलामी भदौ सात गते हुँदैछ।
हिमालयन बैंकको नेतृत्वमा कुमारी बैंक, ग्रान्ड बैंक नेपाल, कृषि विकास बैंक, मनकामना डेभलपमेन्ट बैंक, आइएलएफसी,  र कर्मचारी सञ्चय कोषले फ्लोरिकल्चरमा लगानी गरेका थिए।
'निर्यातमूलक कृषि उद्योग भएकाले लिलामी गर्ने पक्षमा हामी पनि थिएनौं,' ग्रान्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले बुधबार नागरिकसँग भने, 'लिलामी हाम्रो वाध्यता हो। अझै पनि फ्लोरिकल्चरका सञ्चालक केही पैसा तिर्ने गरी आए हामी पुनर्विचार गर्न सक्छौं।'
फ्लोरिकल्चरले पटक पटक गरेको आग्रह र राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइले केही समय पर्खनका लागि दिएको निर्देशनपछि लिलामी रोकिएको थियो। दिएको समय पुरा भइसकेकाले अन्य सदस्य बंैकको दवावामा लिलामीमा लगिएको हो। असार मसान्तअघि नै लिलामी गरिसक्नु पर्ने सम्पति भएपनि विदेशी लगानी भित्राउन आश्वासन आएकाले लिलामी रोकिएको थियो।
फ्लोरिकल्चरले ९ वर्षअघि दुई चरणमा गरेर ३१ करोड ऋण लिएको थियो। ऋण तिर्न नसकेपछि वढेर ३८ करोड रुपैयाँ पुगिसकेको छ।
फूल उत्पादन गरी विदेश निर्यात गर्ने उद्देश्यले २००२ मा कम्पनी स्थापना भएको थियो। उत्पादनका लागि आवश्यक पुर्वाधार निर्माण गरेपछि कम्पनी ६ वर्षअघि सञ्चालनमा आएको थियो। एभरेस्ट फ्लोरिकल्चरलाई ८ बैंकले लगानी गरेका छन्। फ्लोरिकल्चरले अढाइ वर्षदेखि ऋण तिर्न सकेकेा थिएन।
काठमाडौंको सुन्दरीजलस्थित नयाँ पाटीमा १ सय ४५ रोपनी जग्गामा फ्लोरीकल्चरले गुलाफको फूल उत्पादन सुरु गरेको थियो। चालु पुँजी अभावमा व्यवसाय धान्न नसकेपछि कम्पनी बन्द अवस्थामा छ। लिएको ऋण र ब्याज गरेर कम्पनीले बैंकलाई ९ करोड रुपैयाँ वुझाइ सकेको छ।
फ्लोरि कल्चरका सञ्चालक पर्यटन व्यवसायी मदुसुदन आचार्य हुन्। उनको कम्पनीमा ३० प्रतिशत इक्विटी छ। कम्पनीमा ६ करोड इजरायली कम्पनी सयास ग्रुपको लगानी छ। 
अहिलेको मूल्य अनुसार फ्लोरिकल्चरले ओगटेको जग्गाको मूल्य ७० करोड रुपैयाँभन्दा माथि पर्छ। बैंकले लिलामीबाट आफ्नो साँवा र व्याज सजिलै उठाउन सक्छ।
वार्षिक ६० लाख  थुँगा गुलाफ उत्पादन गरी विदेश निर्यात गर्ने महत्वकांक्षी योजना लिएको फ्लोरिकल्चरले ३० लाख थुँगा विदेशी यठाउन सक्यो। ६ लाख नेपाल भित्रै विक्रीसमेत गर्‍यो। उत्पादनमा लाग्ने विउ विरुवा प्रविधि जनशक्ति सबै विदेशीको निर्भरमा रहेको कम्पनील्े ग्राहकको माग अनुसारको गुणस्तर कायम गर्न सकेन। चार वर्षदेखि सुरु भएको उर्जा संकटको असरले फ्लोरिकल्चरलाई पनि पिरल्यो। यसले उसले गुणस्तर कायम गर्न सकेन।
कम्पनीले ३० लाख थुँगा युरोप र जापानमा निर्यात गरेको थियो। यसबाट कम्पनीले ३ करोड ९० लाख जापानी येन र ३० हजार युरो आम्दानी गरेको थियो। वार्षिक एक लाख डलर खर्च गरेर ३० लाख डलर आम्दानी भित्रिन्थियो।

No comments:

Post a Comment

thanks for comment