एभरेस्ट फ्लोरिकल्चरको लिलामी रोकियो

काठमाडां, भदौ ७-
सरकारले एभरेस्ट फ्लोरिकल्चरलाई ऋण तिर्न दिन केही समय पर्खिन आग्रह गरेपछि लिलामी टरेको छ। लामो समयदेखि ऋण ततिरेपछि हिमालयन बैंकले बिहीबार (भदौ सात गते) फ्लोरिकल्चरलाई लिलाम गर्ने मिति तोकेको थियो।
फ्लोरिकल्चरले लिलामबाट उम्किन सर्वोच्च अदालतसँग बुधबार अन्तरिम आदेशसमेत मागेकेा थियो। लामो समयदेखि ऋण तिर्न नसकेकाले अदालतले फ्लोरिकल्चरले मागेको अन्तरिम आदेशलाई अस्विकार गरेको थियो।
सबै प्रयास विफल भएर अन्ततः लिलाम पक्का भइरहेका बेला उद्योग मन्त्रालयले रुग्ण उद्योग भएकाले ऋण तिर्नका लागि केही समय दिन बैंकलाई आग्रह गरेको हो। 'मन्त्रालयका अधिकारीहरुले समय दिन आग्रह गरेकाले केही समय पर्खन्छौं,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बिहीबार नागरिकसँग भने, 'अन्य सहकर्मी बैंकहरुसँग छलफल गरेर अन्तिम निर्णय गर्ने छौं।'

सहवित्तीयकरणमा लिएको ऋण नतिरेपछि एभरेस्ट फ्लोरिकल्चरलाई लिलामीमा चढाइएको थियो। हिमालयन बैंकको नेतृत्वमा कुमारी, ग्रान्ड, कृषि विकास, मनकामना डेभलपमेन्ट, आइएलएफसी फइनान्स र कर्मचारी सञ्चय कोषले फ्लोरिकल्चरलाई ऋण लगानी गरेका थिए।
फ्लोरिकल्चरबाट मनोरमा थापा, निर्मला लम्साल र सयास ग्रुप इजरायजकी रचेल सयागले ऋण लिएका थिए। ऋणका लागि मधु लम्साल, निर्मला लम्साल, एकनाथ  थापा र मनोरमा थापाले व्यक्तिगत जमानी दिएका थिए।
फ्लोरिकल्चरले पटकपटक गरेको आग्रह र राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइले केही समय पर्खनका लागि दिएको निर्देशनपछि बैंकहरुले लिलामीे रोकेका थिए। दिएको समयमा पनि ऋण नतिरेपछि बैंकले भदौ सात गते लिलामको मिति तोकेको थियो।
फ्लोरिकल्चरले ९ वर्षअघि दुई चरणमा गरेर ३१ करोड ऋण लिएको थियो। ऋण तिर्न नसकेपछि बढेर ३१ करोड रुपैयाँ पुगिसकेको छ। फ्लोरिकल्चरले विभिन्न समयमा ९ करोड रुपैयाँ ऋण तिरेको थियो। पछिल्लो अढाइ वर्षदेखि भने ऋण तिर्न छाडेको हो।
फूल उत्पादन गरी विदेश निर्यात गर्ने उद्देश्यले २००२ मा कम्पनी स्थापना भएको थियो। उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माण गरेपछि कम्पनी ६ वर्षअघि सञ्चालनमा आएको थियो।
काठमाडौंको सुन्दरीजलस्थित नयाँ पाटीमा १ सय ४५ रोपनी जग्गामा फ्लोरीकल्चरले गुलाफको फूल उत्पादन सुरु गरेको थियो। चालु पुँजी अभावमा व्यवसाय धान्न नसकेपछि कम्पनी बन्द अवस्थामा छ। फ्लोरिकल्चरका सञ्चालक पर्यटन व्यवसायी मदुसुदन आचार्य हुन्। उनको कम्पनीमा ३० प्रतिशत इक्विटी छ। कम्पनीमा ६ करोड इजरायली सयास ग्रुपको लगानी छ। 
अहिलेको मूल्य अनुसार फ्लोरिकल्चरले ओगटेको जग्गाको मूल्य ७० करोड रुपैयाँभन्दा माथि पर्छ। बैंकले लिलामीबाट आफ्नो साँवा र व्याज सजिलै उठाउन सक्छ।
वार्षिक ६० लाख  थुँगा गुलाफ उत्पादन गरी विदेश निर्यात गर्ने महत्वकांक्षी योजना लिएको फ्लोरिकल्चरले ३० लाख थुँगा विदेशी पठाएको थियो। ६ लाख नेपाल भित्रै बिक्रीसमेत गरेको थियो।
उत्पादनमा लाग्ने बिउ बिरुवा प्रविधि जनशक्ति सबै विदेशीको निर्भरमा रहेको कम्पनीले ग्राहकको माग अनुसारको गुणस्तर कायम गर्न सकेन। चार वर्षदेखि सुरु भएको उर्जा संकटको असरले फ्लोरिकल्चरलाई पनि पिरल्यो। यसले उसले गुणस्तर कायम गर्न सकेन।
कम्पनीले ३० लाख थुँगा युरोप र जापानमा निर्यात गरेको थियो। यसबाट कम्पनीले ३ करोड ९० लाख जापानी येन र ३० हजार युरो आम्दानी गरेको थियो। वार्षिक एक लाख डलर खर्च गरेर ३० लाख डलर आम्दानी भित्रिन्थ्यो।

No comments:

Post a Comment

thanks for comment