इन्भेस्टमेन्ट बैंकका सिइओ ज्योति पाण्डे भन्छन्–हाम्रो बारेमा गलत हल्ला चलाइएको हो

तरलता सहज भएको छ। रियलस्टेट समस्या विस्तारै सानो हुँदै गएको छ।  अहिले समग्रमा बैंकिङ कस्तो भइरहेको छ?
ज्योतीप्रकाश पाण्डे
प्रमुख कार्यकारी अधिकृत
नेपाल इन्भेस्टमेन्ट बैंक
अहिले आएर समग्र बैंकिङमा सुधार भएको छ। तरलता अभाव र रियलस्टेटका कारण समस्या आएको थियो। डेढ वर्षजति तरलता अभावले समस्या भएको थियो। नयाँ निक्षेप ल्याउनलाई मात्रै होइन भएकै निक्षेपलाई टिकाइ राख्न पनि समस्या थियो। इन्भेस्टमेन्ट बैंककै बचत खातामा रहेको १८ अर्ब रुपैयाँ घटेर १४ अर्बमा आएको थियो। तरलता अभावका कारण महँगोमा निक्षेप उठाउन पर्‍यो। यसले बैंकको पुँजी लागत (कस्ट अफ फन्ड) बढेर गयो। साढे पाँचमा लिएको मुद्दतिको ब्याज १२ प्रतिशत पुर्‍याउनु पर्‍यो। महँगो ब्याजका कारण ऋण लगानी हुने अवस्था थिएन।
अहिले आएर विस्तारै पुँजी लागत घटेर गएको छ। मुद्दति निक्षेप साढे ६ प्रतिशतसम्म आउको छ। साढे ६ प्रतिशतमा पनि निक्षेप नलिने अवस्था आइसकेको छ। निक्षेपको घटेसँगै ऋणको व्याज पनि घट्न थालेको छ। व्याज घटेका कारण ग्राहकलाई पनि काम गर्न सजिलो भएको छ। अहिले बल्ल बैंकिङ राम्रो हुन थालेको छ।तरलता सहज छ। तर ऋणको माग छैन नि?
देशको राजनीतिक अस्थिरताले विदेशबाट लगानी नआउने अलग कुरा हो तर आन्तरिक रुपमा ऋणको माग छ। अहिले हामीसँग एकदमै राम्रो राम्रो योजनाहरु आउन थालेका छन्। हो, राम्रो योजना भएपनि लगानीकर्ता केही पर्खिरहेका छन्। इन्भेस्टमेन्ट बैंकमा नै आधा दर्जन हाराहारीमा जलविद्युत् योजना आएका छन्। सहवित्तीयकरणमार्फत लगानी गर्ने गरी त्यतिकै हाराहारीमा योजना छन्। लगानीका लागि लगानीकर्ताहरु अध्ययन गरिरहेका छन्। माग नभएर होइन बरु बैंकको आन्तरिक कारणले चै लगानी रोक्नु पर्ने हुन सक्छ। तरलता वढी भएपनि बैंकहरुको पुँजी पर्याप्तता अनुपात कम हुन थालेका कारण रोकिनु पर्ने हुनसक्छ।
ज्योतीप्रकाश पाण्डे
प्रमुख कार्यकारी अधिकृत
नेपाल इन्भेस्टमेन्ट बैंक
कस्तो क्षेत्रमा माग वढिरहेको छ?
अहिले तराईमा राम्रो उद्योगहरु आउन चाहिरहेको छ। जलविद्युतमा आइरहेको  छ। सिमेन्ट उद्योग आउँदैछ तीन चार वटा। कतिपय उद्योगमा सहवित्तीयकरणमार्फत हामी लगानी गर्दैछौं। सरकारले वाटो तथा अन्य पूर्वाधार निर्माण गरिदिए लगानी वढाउन समस्या नै छैन।
भनेपछि पुँजी वढाउँदै हुनु हुन्छ?
हामीलाई पुँजी बढाउन अलिकति कठिनाइ छ। पुँजी वढाएको अनुपातमा सेयरधनीलाई प्रतिफल दिनु पर्ने हुन्छ। प्रतिफल दिन अलिकति गाह्रो हुँदै गएको छ। वातावरण राम्रो बन्यो भने पुँजी वढाउँछौं। सेयरधनीहरुले पनि केही समय पर्खौं भन्नु भएको छ। वातावरण बने जुनसुकै बेला पैसा थप्न गाह्रो हुन्न। अहिले हामीले लगानी विस्तार गरेको नाफाबाट हो।
यसपटक सेयरधनीले कस्तो आसा गर्न सक्छन्?
हाम्रो नाफा राम्रो छ। १ सय ३० करोडको हाराहारीमा नाफा छ। नाफका कारण सेयरधनीलाई प्रतिफल दिने अवस्था छ। पहिले पनि २० देखि २५ प्रतिशतको हाराहारीमा प्रतिफल दिएकै हो। त्यति दिन गाह्रो हुन्न। तर के दिने कति दिने भन्ने टुङ्गो भएको छैन।
निक्षेपको अनुपातमा ऋणको व्याज घटेन नि?
निक्षेपको अनुपातमा ऋणको  व्याज नघटेको पक्कै हो। तर व्याज घटाउनलाई धेरै दवाव परिरहेको छ। हरेक महिना नै व्याज दर पुनर्मुल्याङकन गरिरहेका छौं। बैंकहरु धेरै भएकाले व्याज दर घटाउनलाई प्रतिस्पर्धा हुन थालेको छ। तैपनि पुराना र ठूला बैंकले घटाइरहेका छन्। नयाँ बैंकलाई गाह्रो छ अझै घटाउन। नयाँको पुँजी लागत धेरै छ। इन्भेस्टमेन्ट बैंकको हकमा हामीले घटाएर लैजान थालेका छौं। ग्राहक पनि धेरै सचेत भइसकेका छन्। व्याजमा मोलतोल हुन थालेको छ। अब बैंकसँग घटाउने वाहेक अहिले अर्को विकल्प छैन।
ब्याज कुन स्तरमा आएर बस्ला? स्प्रेड त अझै वढी छ?
ऋणको ब्याज दुई अंकभन्दा तल आउँदैन। अर्थात १० प्रतिशतभन्दा कममा व्याज आउँदैन। बैंकहरुले लिने शुल्क आम्दानीमा धेरै नियन्त्रण भइसकेको छ। बैंकहरुले सवै निक्षेप लगानी गर्न पाउँथे अब ८० प्रतिशत मात्र गर्न पाउँछन्। निक्षेप बिमाका लागि पनि ठूलो खर्च छ। इन्भेस्टमेन्ट बैंकको मात्र ३२ करोड खर्च हुन्छ यसमा। यसले गर्दा बैंकको खर्च फराकिलो भएर गएको छ। त्यही भएर स्प्रेड वढी लिए भन्न मिल्दैन।
ऋणको माग आएका छन् भन्नु भयो। तर लगानी वढेजस्तो बजारमा केही देखिँदैन। अल्पकालिन खालको मात्र ऋणको माग भएको होइन र?
अहिले अल्पकालिन व्यापारका लागि ऋणको माग वढेकै हो। उनीहरुको व्यापार चाँडो हुने भएकाले यो देखिन्छ।  दीर्घकालिन प्रकृतिको योजना पनि आएका छन्। तर यसको काम सुरु हुन समय लाग्छ। दीर्घकालिन प्रकृतिको लगानीमा अलि वढी जोखिम पनि हुन्छ। त्यही भएर यसका लागि वढी अध्ययन हुन्छ। सुरक्षा र वातावरणको कुरा पनि आउँछ। लगानीकर्ता सवै काम सकेर पर्खिएर बसेका छन्। योजनाहरु जुनसुकै बेला सञ्चालनमा जाने गरी पर्खिएर बसेका छन्।
राष्ट्र बैंकले कृषिका लागि विभिन्न सुविधाहरु घोषणा गरेको छ। यसमा बैंकहरुको प्रतिकृया कस्तो छ?
अहिले कृषिमा ऋणको माग राम्रो छ। राष्ट्र बैंकले प्रशोधन र प्याकेजिङलाई पनि कृषिमा राखेकाले ऋण लगानी गर्न थप सजिलो भएको छ। कृषिप्रदान देश भएकाले यसमा अवशर पनि राम्रो छ। हामी पनि पशुपालनमा लगानी गर्दैछौं। नमुनाका रुपमा चरिकोट र गुल्मीमा वाख्रा पालनमा जान खोजिरहेका छौ। व्याज र लगानी फिर्ता हुनु पर्छ हामी ८ प्रतिशतमा नै लगानी गर्छौ भनेर कुराकानी गरिरहेका छांै। यो पशुपालन सफल भएमा नेपालको पहाडी क्षेत्रमा विस्तार गरेर लैजान्छौं।
राष्ट्र बैंकले नीतिगत रुपमा विस्तारै कडाइ गर्दै लगेको छ। के भन्नु हुन्छ?
राष्ट्र बैंकको नीति ठिक छ। बैंकहरुले नाफा मात्रै कमाएर भएन। सामाजिक दायित्व पनि पुरा गर्नु पर्छ। तलको क्षेत्र वृद्धि भएन बैंक पनि वृद्धि हुने हो। विपन्न वर्ग, कृषि, उत्पादनमूलक क्षेत्रको वृद्धिमा राष्ट्र बैंकको नीति राम्रो छ।
अनिवार्य नगद अनुपात (सिआरआर) अहिलेको अवस्थामा वढाउनु पर्ने थियो। अहिले सबैसँग पैसा छ। टे्रजरीको व्याज दर धेरै कम छ। त्यसमा पनि पाउने अवस्था छैन। आखिरी पैसा त त्यतिकै वसिरहेको छ नै। अहिलेको अवस्था अनुसार वढाउनु ठिकै हो। अप्ठ्यारो परे राष्ट्र बैंकले पुन घटाउन सकिहाल्छ। 
व्याजको आधर दर तोक्ने भन्ने कुरा छ। यसले कतिको अप्ठेरो पर्छ?
आधार दरमा गएपछि यसलाई बजार आफैले आफैलाई 'एडजस्ट' गर्छ। समग्रमा हेर्दा बैंकले धेरै पैसा कमाए भन्ने छ। ३०/४० प्रतिशतको वृद्धि छ भन्ने छ। आधार दर तोक्दा बैंकलाई गाह्रो भने हुन्छ। ब्याजको स्प्रेड मात्र खाएर वस्छु भनेर अब बैंकिङ हुँदैन। अन्य आम्दानी गर्नतिर पनि लाग्नु पर्छ। अब लगानीको अन्य क्षेत्र खोज्नु पर्छ। भगिनी संस्थाहरु पनि खोल्नु पर्छ। बैंकहरुले पनि अब विवेकशिल बैंकिङ गर्नु पर्छ। राष्ट्र बैंकको मार्ग निर्देशनले ढिलोचाँडो बैंकहरुलाई फाइदै हुन्छ।
तपाईहरुको मर्जरको कुरा एकाएक सेलायो। के हुँदैछ?
पहिले मर्जरका लागि एभरेस्ट बैंकसँग सम्झौता पनि भएको हो। तर विभिन्न कारणले गर्दा अगाडि वढ्न सकेन। अहिले पनि हामीले मर्जर विकल्प वन्द गरेका छैनौं। मर्जर गर्न सजिलो त छैन। धेरै कुरा समेटेर जानु पर्छ। त्यही भएर हामी अर्को बैंकलाई किन्ने पक्षमा छौं। व्यवहारिक र प्राविधिक कठिनाइ छन् मर्जरमा।
हामीसँग सेयरधनी कोष नै ६ अर्ब पुगिसकेको छ। त्यही भएर मर्ज नै गर्नु पर्छ भन्ने वाध्यता पनि हामीलाई छैन। अलिकति पुँजी वढाएर अगाडि वढन् पनि सक्छौंं।
रियस्टेटलगायत ऋणका कारण नेपाल इन्भेस्टमेन्ट बैंक जुनसुकै बेला समस्यामा जानसक्छ। उसले आफ्नो हिसावकिताव जसोतसो मात्र मिलाएको हो भनिन्छ। के हो खास कुरा चैँ?
कुल ऋणको ११.२ प्रतिशत हाम्रो रियलस्टेटमा छ। यसमा पनि पाँच वटा मात्र हाम्रो ठूलो ऋण हो। यि सवै ऋणले नियमित व्याज र किस्ता भुक्तानी गरिरहेका छन्। रियलस्टेटमा बजार मूल्यको ५० प्रतिशतभन्दा वढी ऋण छैन। केही गरी रियलस्टेट ऋण समस्यामा नै गयो भने पनि हामीले धितो बेचेर पनि सजिलै आफ्नो पैसा उठाउन सक्छौं। ठूलो बैंक र निरन्तर वृद्धि गरिरहेको बैंक भएकाले वाहिर हल्ला चलाइएको पनि हुन सक्छ। इन्भेस्टमेन्ट बैंकको कारोबार, यसको विस्तार र नाफाका कारण वाहिर हल्ला चलेको हो। हाम्रो वासलातबाटै देखिहाल्छ नि समस्या छैन भन्ने कुरा।
बैंकको आगामी योजना के छन्?
हामी यो वर्ष ६ शाखा खोल्छौं। ग्राहक संख्या विस्तार गर्छौं। ऋण लगानी गर्न बैंकलाई गाह्रो छैन। नयाँ ठूलो योजना आए पुँजीको आधारमा पनि हामीलाई वोलाउनै पर्छ। त्यही भएर हामी अहिले ग्राहक आधार वढाउनतर्फ केन्द्रित छौं।

No comments:

Post a Comment

thanks for comment