घर र कार किन्न ऋण महँगो

सुदर्शन सापकोटा
काठमाडौं, असोज २४ - 
बैंकसँग पैसा बढेकाले एपार्टमेण्ट, घरजग्गा, कार किन्न ऋण दिन थालेका छन् तर, ब्याज र सांवाको किस्ता भने पहिले भन्दा बढी तिर्नु पर्नेछ। बैंकमा लगानी गर्ने पर्याप्त पैसा (तरलता) बढेसँगै घर तथा गाडीका लागि कर्जा दिन थालिएको हो। तरलता नहुँदा बैंकहरुले केही समय व्यापार तथा छोटो अवधिका बाहेक अन्य कर्जा दिन छाडेका थिए।
'बैंकसँग लगानी गर्ने पैसा बढेकाले ऋण दिन थालिएको छ,' सनराइज बैंकका प्रमुख कार्यकारी सुरेन्द्रमान प्रधानले सोमबार नागरिकसँग भने।
बजेट समयमा आएर सरकारी खर्च बढेको, विदेशमा काम गर्नेले पठाउने पैसा (रेमिट्यान्स) मा वृद्धिले बैंकमा लगानी गर्ने पैसा थपिएको हो।
बैंकले यही पैसा कार, घरजग्गा र एपार्टमेण्टमा लगानी गर्न थालेका हुन्। व्याजदर महँगो भएकाले सामान्य आम्दानी गर्नेले ऋण लिन सक्ने अवस्था भने छैन।
घर बनाउन तथा अपार्टमेन्ट र गाडी किन्नका लागि दुई वर्ष अघि भन्दा व्याज ४० प्रतिशतसम्म महँगो भएको छ। महँगो व्याजकै कारण ऋण दिन थाले पनि माग कम छ। दुई वर्ष अगाडि १० प्रतिशतभन्दा कममा पाइने व्याज अहिले कम्तिमा १४ प्रतिशत पुगेको हो।
'घर जग्गा र कारमा ऋण दिइरहेका छौं, तर माग बढेको छैन,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भने, 'घर तथा अपार्टमेन्टको कारोबार सुस्त भएकाले भविस्यमा घट्ने आशंकाले माग नभएको हो। महंगो व्याजले मध्यम आम्दानी हुनेलाई हतोत्साहित वनाएको छ।
बैंकले घर बनाउन लाग्ने खर्चको १ सय २० प्रतिशत र गाडी खरीदका लागि ८० प्रतिशतसम्म ऋण दिइरहेका छन्। गाडि किन्न १० वर्षसम्म र घर तथा अपार्टमेन्टका लागि २० वर्षे किस्तामा ऋण पाइन्छ।
घर वनाउने तथा त्यसमा चाहिने फर्निचर किन्नसमेत बैंकले पैसा दिन्छन्। सामान्यतया राजधानीमा २० लाख रुपैयाँमा एक तल्ले घर बन्छ। घर बनाउन २० लाख रुपैयाँ लिदां अहिलेको व्याज १४.५ प्रतिशतका हिसावले १५ वर्षे अवधिमा तिर्ने गरी मासिक २७ हजार रुपैयाँ किस्ता तिर्नु पर्छ।
२० वर्षका लागि लिए किस्ता भार अझ कम पर्छ। 'मासिक आम्दानी ६० हजार रुपैयाँ हुनेले यो ऋण लिन सक्छन्,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले सोमबार नागरिकसँग भने, 'नियमित आम्दानी भएकालाई हामीले ऋण दिइरहेका छौं।'
१६ लाख ५५ हजार रुपैयाँ पर्ने कार किन्न बैंकले १३ लाख २४ हजार रुपैयाँसम्म ऋण दिन्छन्। १० वर्षसम्म लगाएर तिरे हुने यो कर्जाको मासिक किस्ता २६ हजार रुपैयाँ पर्छ।
बैंकका अनुसार मासिक ५५ हजार रुपैयाँ आम्दानी हुनेले १७ लाख सम्मको कार किन्न सक्छन्। मासिक ३५ हजार रुपैयाँ कमाउनेले १० लाख सम्म पर्ने कार किन्न कर्जा पाउँछन्। यो कारको किस्ता मासिक १३ हजार रुपैयाँ पर्छ।
अहिले वाणिज्य बैंकसँग कर्जा दिन पर्याप्त तरलता छ। आवश्यकताभन्दा करिव २२ अर्ब रुपैयाँ अधिक तरलता लिएर वसेका बैंकले ऋणको माग नहुँदा १ प्रतिशतमा अन्तर बैंक सापटी दिइरहेका छन्।
असारदेखि असोज दोस्रो सातासम्म बैंक कर्जा जम्मा ७ अर्बले बढेको छ। गएको कर्जामध्ये अधिकांस व्यापार तथा पहिले नै प्रतिवद्धता जनाएको क्षेत्रमा लगानी भएको छ। '३१ वाणिज्य बैंकबाट तीन महिनामा सात अर्ब ऋण जानु सामान्य हो,' भट्टराईले भने, 'माग भए बैंकहरुले अहिले प्रर्याप्त कर्जा दिन सक्ने अवस्था छ।'

No comments:

Post a Comment

thanks for comment