लघुवित्त संस्थामा विकृति: सानो ऋणमा पनि समस्या बढ्दो

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक ६- 
इनरुवाका श्यामबल कार्कीले आधा दर्जन लघुवित्त विकास बैंकसँग ऋण लिए। तिर्न नसक्ने भएपछि उनले तीन महिनाअघि विष पिए। छिमेकीको सहयोगले बेलैमा अस्पताल पुगेकाले उनी बाँचे।
सानो रकम ऋण दिई गरिबको जीवनस्तर उठाउने उद्देश्यले खुलेका लघुवित्त संस्थाले मर्म अनुसार ऋण नदिँदा र दोहोरोपनाका कारण विकृति बढ्दै गएका छन्।
सानो रकम ऋण दिई गरिबको 
जीवनस्तर उठाउने उद्देश्यले 
खुलेका लघुवित्त संस्थाले मर्म 
अनुसार ऋण नदिँदा र दोहोरोपनाका 
कारण विकृति बढ्दै गएका छन्।
 बंगलादेशको ग्रामीण विकास बैंकको ढाँचामा खुलेका लघुवित्त संस्था विगतमा निकै सफल मानिएका थिए। मोरङका रामजी खवासले लघुवित्त समूहका १२ जना सदस्यको नामबाट १२ लाख रुपैयाँ ऋण लिए। व्यवसाय बिग्रेर रामजीले ऋण तिर्न नसक्ने भएपछि आफ्नो नामबाट ऋण दिएका समूहका ५ जना सदस्य भारत गए। यसरी ऋण दिनु लघुवित्त संस्थाको उद्देश्य विपरीत थियो।
झापामा एक लघुवित्त केन्द्र प्रमुख छायाँ दासको उदाहरण पनि यस्तै छ। नौ वटा संस्थाबाट ऋण लिएर बाहिरका मानिसलाई चलाउन दिइन्। बाहिर दिएको ऋण फिर्ता नभएपछि उनी अहिले थातथलो छाडिन्।
यी दुई विपन्न गरिबको जीवनस्तर उकास्ने उद्देश्यले खोलिएका लघुवित्त संस्था नाफामुखी हुन थालेपछि एकै ठाउँ र परिवारमा लगानी गर्दा आएको समस्याका उदाहरण हुन्।

घरदैलोमा पुगेर वास्तविक गरिबलाई मात्र बिनाधितो ऋण दिने अवधारणा अनुसार चल्न नसक्दा लघुवित्त संस्थामा समस्या आएको हो।
एउटा लघुवित्त संस्थाले सदस्य बनाएको ग्राहकलाई पुनःलगानी गर्दै नाफा कमाउन केही लघुवित्त संस्था लागेका छन्।
'आफ्नो हरहिसाब राम्रो बनाउन एकै व्यक्तिलाई ऋण दिन थालिएकाले अहिले बिकृतिहरु बढेर गएको छ ' माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी) का प्रमुख कार्यकारी अधिकृत शंकरमान श्रेष्ठले भने।

'संस्थामा नाफामुखी प्रवृत्ति बढेर गएको छ,' श्रेष्ठले भने, 'जसले गर्दा उनीहरुले लघुवित्तको सिद्धान्तलाई समेत बेवास्ता गर्दै पहिले अर्कै संस्थाबाट ऋण पाएकालाई पनि उसको क्षमता मूल्यांकन नगरी ऋण दिन थाले।'
लघुवित्त संस्थाहरुका अनुसार अहिलेसम्म १६ लाख ५० हजार महिलाले लघुवित्त संस्थाबाट ऋण लिएका छन्। दोहोरो ऋणलाई गणना नगर्ने हो भने यो संख्या जम्मा १० लाख हाराहारीमा आउँछ।
लघुवित्त संस्थाले एक व्यक्तिलाई पहिलोपटकमा बढीमा २० हजार रुपैयाँसम्म ऋण दिन्छन्। तर, संस्थाको संख्या बढेसँगै ग्राहकको माग पनि बढेकाले ऋण सीमामा समेत प्रतिस्पर्धा हुने गरेको छ। संस्थाले एकैपटक ९० हजार (अधिकतम सीमा) सम्म ऋण दिन थालेका छन्।
एउटै ग्राहकलाई धेरै संस्थाले ऋण लिँदा बैंकलाई तिर्नुपर्ने किस्ता ठूलो हुन्छ। ऋणीले लिएको सबै रकम आय आर्जनमा उपयोग हुँदैन। तर,सबै ऋणको ब्याज तिर्नुपर्ने हुन्छ। यसले गर्दा लघुवित्तमा कर्जा डुब्ने खतरा बढ्दै गएको छ।
हाल लघुवित्त संस्थाको कर्जा असुली दर भने ९८ प्रतिशत भनिए पनि यो यर्थाथ नभएको सम्वद्ध अधिकारी बताउँछन्।
'लघुवित्त संस्थाका लागि दोहोरोपना एउटा समस्या बनेर आएको छ,' लघुवित्त विकास बैंक संघका अध्यक्ष तथा पश्चिमाञ्चल ग्रामीण विकास बैंकका प्रमुख कार्यकारी अधिकृत धर्मराज पाण्डेले भने, 'अव यसलाई सच्याएर जानुपर्छ।'
केही संस्थामा नाफामुखी प्रवृत्ति बढेसँगै ग्राहकको महत्वाकांक्षामा समेत वृद्धि भएकाले दोहोरोपना मौलाएको पाण्डेले बताए। उनका अनुसार अहिलेको बजार भाउमा एउटा भैंसी किन्न करिब ९० हजार रुपैयाँ चाहिन्छ। तर, लघुवित्त संस्थाले एकपटकमा बढीमा २० हजार रुपैयाँ मात्रै दिने गरेकाले उनीहरु अन्य संस्थामा पनि ऋण माग्न जान्छन्। यसले गर्दा एकै व्यक्तिले धेरै संस्थाबाट ऋण लिनुपरेको हो। 'धेरै संस्थाबाट ऋण लिएर गरेको व्यवसाय सफल भएमा कुनै समस्या हुँदैन,' उनले भने, 'तर व्यवसाय असफल हुँदा ग्राहक, समूह र बैंकलाई नै असर गर्छ।'
लघुवित्तका संलग्नका अनुसार पहाडी क्षेत्रभन्दा तराईमा कर्जा खपत बढीछ। पहाडमा बस्ने ऋण लिन डराउने स्वभावका हुन्छन् तर तराईमा सजिलै ऋण पाइने भएपछि जसले पनि लिइदिने गरेका छन्। 'तराईका गरिबले लघुवित्तबाट सजिलै कर्जा पाइन्छ भनेर बुझेका छन्। यसले गर्दा उनीहरु नयाँ संस्था पुग्नेबित्तिकै ऋण लिन तयार भइहाल्छन्,' छिमेक विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले भने, 'संस्था खोल्न नपाउँदै ग्राहक आएपछि लघुवित्तले पनि सजिलै ऋण दिन्छन्।'
यातायात तथा अन्य भौतिक पूर्वाधार पुगिसकेकाले तराईमा काम गर्न सजिलो हुने भएकाले पनि लघुवित्त विकास बैंकहरु तराई केन्द्रित भएका हुन्। जोशीका अनुसार गएको दुई वर्षयता एकैचोटी लघुवित्त कम्पनीको संख्या बढेसँगै दोहोरोपनाले समस्या बढेको हो।

दुई वर्षअघि सरकारी पाँच लघुवित्त विकास बैंक र निजी क्षेत्रका स्वावलम्बन, छिमेक, डिप्रोक्स र निर्धन उत्थान लघुवित्त विकास बैंक सञ्चलनमा थिए। तर राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्था खोल्न रोक लगाएसँगै उच्च नाफा खोज्नहरु लघुवित्त विकास बैंक खोल्न थाले। दुई वर्षअघि ९ वटा संस्था रहेकोमा अहिले २२ वटा पुगेको छ।

कसरी सुरु भयो दोहोरोपना?
दोहोरोपना अहिले लघुवित्त संस्था पुगेका सबै ठाउँमा पुगेपनि सुरुवात चार वर्षअघि राजविराजबाट सरुभएको हो। सशस्त्र समूहले त्यस क्षेत्रबाट केही लघुवित्तकर्मीलाई धपाए। स्थानीय जनशक्ति प्रयोग गरेर अन्य लघुवित्त संस्थासमेत थपिए। स्थानीय तीन संस्था हुँदाहुँदै अन्य तीन संस्थाले त्यहाँ कारोबार थाले।
ती संस्थाका कर्मचारीले आफ्नो काम देखाउन तथा अरुको नाममा ऋण लिएर एकै व्यक्तिलाई दिन थाले। नक्कली ऋणी तयार पारियो। ऋण लिन आउने महिलाले अनिवार्य रुपमा श्रीमान्को स्वीकृति लिएर आउनुपर्ने व्यवस्था थियो। ऋण लिने महिलाले नक्कली लोग्ने खडा गरेर ऋण लिए। नक्कली ऋणी र लोग्नेलाई दुई/तीन सय रुपैयाँ बुझाएर चलाख सदस्यले हजारौं ऋण लिए। सुरुसुरुमा एउटा संस्थासँग लिएर अर्को संस्थामा ऋण गरे पनि अधिकांश ऋण डुबेको थियो।

एकै ठाउँमा किन गए?
संख्या बढेकाले सजिलो खोज्दै लघुवित्त संस्था एकै ठाउँमा जान थालेका हुन्। अलिकति पुँजी लगाएर संस्था खोल्ने अनि आक्रमक लगानी गरेर नाफा खाइहाल्ने प्रवृत्ति लघुवित्त लगानीकर्तामा आयो।
एउटा संस्था गइसकेको ठाउँमा जाँदा लघुवित्तका बारेमा बुझाइरहनु नपर्ने र तयार भइसकेका ऋणमा तत्काल लगानी गरेर ब्याज आर्जन गरिहाल्न संस्थाहरु एकै ठाउँमा गए। तराईका केही जिल्ला र गाविसमा कम्तीमा चारदेखि १२ वटा संस्था कार्यरत छन्।
लघुवित्त संस्थाले जति बढीलाई कर्जा दियो त्यति नै धेरै कार्यसम्पादन गरेको देखिन्छ। उनीहरुले स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गर्ने लघुवित्तकर्मीलाई ग्राहक संख्या र ऋण वढाउने लक्ष्य दिएका हुन्छन्। स्थानीयस्तरमा काम गर्ने लघुवित्त कर्मीले सजिलो बाटो रोज्दै अन्य संस्थाका सदस्यलाई ऋण दिने गरे। ग्राहकलाई ऋण दिँदा विभिन्न प्रक्रिया पुर्‍याइदिनुपर्ने हुन्छ। त्यो प्रक्रिया तथा लघुवित्तको सिद्धान्तलाई वास्ता नगरी उनीहरुले सिधै लगानी गरे।
वाणिज्य बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको साढे २ प्रतिशतदेखि साढे तीन प्रतिशतसम्म विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्ने वाध्यात्मक प्रावधान छ। उनीहरुले आफू सिधै लगानी नगरी लघुवित्त संस्थामार्फत जान्छन्। जुन लघुवित्त संस्थाले धेरै लगानी गरेको हुन्छ उनीहरुलाई नै बैंक तथा वित्तीय संस्थाले पनि पत्याउने गरेका छन्। लगानीका लागि सजिलै पैसा पाइरहेका लघुवित्त संस्थाले पनि तत्काल लगानी गर्न अरु संस्था पुगेका ठाउँमा नै कर्जा विस्तार गरे।
कसरी दिइन्छ ऋण?
लघुवित्तको सिद्धान्त अनुसार, सामान्यतया गरिब बढी भएको क्षेत्रमा लघुवित्त कम्पनी जान्छन्। पहिले स्थानीय समुदाय भेला गरेर त्यस गाउँ तथा क्षेत्रमा सर्भेक्षण गरिन्छ। त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विवरण संकलन गरिन्छ। यी विवरणको आधारमा गरिबको संख्या यकिन गरी सेवा विस्तार गर्ने रणनीति संस्थाहरुले तयार गर्छन्।
संस्थाले संकलन गरेको विवरणमध्ये सबैभन्दा गरिब बस्ने वस्तीमा पहिलो समूह तयार गरिन्छ। प्राय संस्थाले पहिचान गरेको गरिब समुदायलाई सात दिने तालिम दिइन्छ। नेपालमा सञ्चालित लघुवित्त कार्यक्रमले महिलालाई मात्र सेवा दिइरहेको हुनाले गरिव परिवारका महिला सदस्यहरु यस्तो तालिममा सहभागी हुन्छन्। तालिममा पनि सबैभन्दा पहिले नाम र थर लेख्न सिकाइन्छ।
सात दिने तालिम अवधिमा हरेक दिन एक सदस्य बराबर १० रुपैयाँ बचतका लागि ल्याउन लगाइन्छ। करिब २० जना सदस्य बराबर सात दिनमा २ हजार ८ सय रुपैयाँ संकलन हुन्छ। उनीहरुलाई उदाहरणसहित बचत संकलन गर्दा के हुन्छ भनेर सिकाइन्छ। त्यसपछि उनीहरुको आवश्यकता पहिचान गरेर आवश्यक कर्जा दिने गरिन्छ। अहिले अधिकांश लघुवित्त संस्थाहरुले यो सिद्धान्तलाई बेवास्ता गर्दै लगानी गरिरहेका छन्। उनीहरुले ग्राहकलाई सोझै ऋण दिने गरेका छन्।

No comments:

Post a Comment

thanks for comment