पैसा बढेपछि अन्तर बैंक कारोबार ठप्प

काठमाडौं, असोज २६
वाणिज्य बैंकहरुसँग पैसा (निक्षेप) बढेका कारण आपसमा दिने सापटी (अन्तर बैंक) कारोबार लगभग ठप्प भएको छ। ऋणको माग नभएकाले १ प्रतिशतमा सापटी पाउँदासमेत वाणिज्य बैंकबीचको कारोबार ठप्प भएको हो।
 '१ रुपैयाँमा पैसा उपलब्ध हुँदासमेत अन्तर बैंक कारोबार लगभग ठप्प छ,' सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले नागरिकसँग भने, 'वाहिर पनि ऋणको माग नभएकाले पैसा त्यसै थन्काएर राख्नु परेको छ।' वाणिज्य बैंकहरुसँग अहिले २७ अर्ब रुपैयाँ अधिक तरलता छ।
खासगरी पुसमा बैंकहरुले कर्जा-निक्षेप अनुपात ८० प्रतिशतमा कायम गरिसक्नु पर्ने तथा एक संस्थाले अर्कोमा व्याज आउने गरी पैसा राख्न नपाउने व्यवस्था पालना गर्नु पर्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न सर्वसाधारणबाट बचत तथा मुद्दतिमा निक्षेप लिइरहेका छन्। दसैंमा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) वढेको, सरकारी खर्च हुन थालेको र कर्मचारीले वढेको तलवसहित गरेर बैंकमा निक्षेप वृद्धि भएकाले अन्तर बैंक सापटीमा आकर्षण घटेको हो।

एक महिनाको अवधिमा नै वाणिज्य बैंकमा १३ अर्ब रुपैयाँ निक्षेप वढेको छ। असार मसान्तयता मात्रै निक्षेप २८ अर्बले वढेको छ। बुधबारसम्म निक्षेप वढेर ७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। कर्जा भने एक महिनामा ६ अर्बले वढेर ५ खर्ब ३ अर्ब पुगेको छ।
'अहिले बैंकिङ क्षेत्रमा आसालाग्दो गरी निक्षेप वढिरहेको छ। सवै बैंकसँग पर्याप्त पैसा भएकाले आपसमा सापटी दिन मात्रै अग्रसर छन्,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले बुधबार नागरिकसँग भने, 'अहिले सापटी माग्ने बैंक छैनन् भन्दा हुन्छ।' दसैं विदापछि बैंकहरु सञ्चालनमा आएदेखि नै सापटी कारोबार लगभग ठप्प भएको हो।
वाणिज्य बैंकबीच कारोबार नभए पनि विकास बैंक र फाइनान्स कम्पनीमा भने पैसाको माग भइरहेको छ। 'विकास बैंक र फाइनान्स कम्पनीहरुमा मात्रै अहिले अन्तर बैंक सापटी चलिरहेको छ,' प्रधानले भने, 'आफूलाई विश्वास लागेका संस्थालाई वाणिज्य बैंकहरुले सापटी दिइरहेका छन्।'
तीन महिनाअघि पैसा अभावका साथै एक अर्कामा गर्ने विश्वासका कमीले अन्तर बैंक कारोबार ठप्प भएको थियो। राष्ट्र बैंकले सरकारी ऋणपत्र, वोन्ड, डिभेन्चरलगायतको धितोमा सापटी दिनका लागि बाटो खुला गरिदिएपछि अन्तर बैंक कारोबार पुःन सुरु भएको थियो। 'अहिले पैसा चाहिन्छ भने लैजाउ भन्दासमेत लाने बैंक छैनन्,' प्रधानले भने, 'पहिले पैसा दिनु पर्यो भनेर खोजी खोजी आउँथे।'
वाणिज्य बैंकहरुबीच आपसमा अन्तर बैंक सापटीको माग नभए पनि विकास बैंक र फाइनान्स कम्पनीहरुबीच भने दैनिक २ अर्बको कारोबार हुने गरेको छ। तत्कालै कर्जा दिनु पर्ने तथा अनिवार्य नगद मौज्दात कायम गर्नु पर्ने वित्तीय संस्थाहरुबाट सापटी माग हुने गरेको छ। यि कम्पनीबीच दैनिक २५ वटासम्म कारोबार हुने गरेको छ।
वाणिज्य बैंक आपसमा कारोबार नभएपनि पैसा माग गरेर आउने वित्तीय संस्थाहरुलाई भने उसको वित्तीय स्वास्थ्य हेरेर सापटी दिइरहेका छन्। राम्रा विकास बैंक र फाइनान्स कम्पनीहरुले समेत वाणिज्य बैंकहरुकै वाटो पच्छ्याएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। कम्पनीको वित्तीय स्वास्थ्य अनुसार कम्तिमा तीन प्रतिशतदेखि १४ प्रतिशतसम्म व्याज लिएर सापटी दिने गरिएको छ। यस्तो कारोबार कुल सापटी रकमको २० प्रतिशत हो।
वाणिज्य बैंकहरुले विश्वास लागेका विकास बैंक र फाइनान्स कम्पनीलाई एक सय रुपैयाँ बराबरको सुरक्षण लिएर १ सय २० रुपैयाँसम्म दिइरहेका छन्। तर, आफूलाई शंका लागेका संस्थालाई भने एक सय रुपैयाँको धितोमा ८० देखि ९० रुपैयाँसम्म दिइरहेका छन्।

No comments:

Post a Comment

thanks for comment