दसैंमा २५ अर्बको नयाँ नोट साटियो

काठमाडौं, असोज २३ 
दसैंका लागि सर्वसाधारणले २५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटेका छन्। राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको नोट बजारमा पठाए पनि सर्वसाधारणले २५ अर्ब रुपैयाँ बराबरका नोट साटेका हुन्। गत वर्षको दसैंमा २२ अर्बको नोट साटिएको थियो।
चालु वर्ष सरकारी कर्मचारी तथा मजदुरको तलव भक्ता वढेका आधारमा गत वर्षभन्दा ३० प्रतिशत वढी नोट बजारका लागि ठिक्क पारेको राष्ट्र बैंकले देशभरका ६४ जिल्लामा रहेको नोट कोषबाट पैसा वितरण गरेको थियो।
राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाका सवै शाखाबाट नोट सहज रुपमा वितरण गर्ने व्यवस्था मिलाएको थियो। बैंक तथा वित्तीय संस्थाका देशभरका १ हजार १ सयभन्दा वढी शाखा कार्यालयबाट नयाँ नोट साटिएको हो।
'यसपाली सर्वसाधारणले मागेजति नयाँ नोट सहजै उपलब्ध गराउन सफल भएका छौं,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले आइतबार नागरिसँग भने, 'नोटका कारण सर्वसाधारणबाट गुनासो पनि आएन।'

रास्ट्र बैंकले पर्याप्त नोट उपलब्ध गराएका कारण असोज पहिलो साताबाटै सर्वसाधारणले आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकका काउन्टरबाट पैसा साटेका थिए।
विगतमा बैंक तथा वित्तीय संस्थामा नयाँ नोट पर्याप्त नभएपछि राष्ट्र बैंकका कार्यालयमा नै सटहीका लागि सर्वसाधारण लाममा बस्ने गरेका थिए। यसपटक राष्ट्र बैंकमा मात्रै नोट सटहीको लाम खासै लागेको थिएन।
राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा सर्वसाधारणलाई नोट सटही सहज बनाउन तीन काउन्टर राखेको थियो। भिड वढे थप काउन्टर वढाउने तयारी गरेको राष्ट्र बैंकले काउन्टर वढाउनु परेन। बैंक तथा वित्तीय संस्थाले सहजै मागेजति नोट दिएकाले काउन्टर थप्नु नपरेको हो।
बजारमा अहिले १ खर्ब ६० अर्ब नोट छन्। यी मध्येकै अधिकांश पुराना नोट साटिएर बजारमा नयाँ जाने अनुमान छ। राष्ट्र बैंकले समयमा नै व्यवस्थापन गर्न नसक्दा दुई वर्षअघि देशभर नै नोट अभाव भएको थियो। गतवर्ष पनि मागे जति नोट सर्वसाधारणले पाएनन्।
बैंक तथा वित्तीय संस्थाले नयाँ नोट वितरणमा सहयोग नगर्ने र सर्वसाधारणले अन्तिम समयमा माग गर्ने अवस्थाले नोट अभाव देखिएको हो। यसपाली नयाँ नोट लिन आएका सर्वसाधारणलाई फर्काएको जानकारी पाए कारवाही गर्ने राष्ट्र बैंकको चेतावनीले गर्दा पनि नोट वितरणमा समस्या नआएको हो।
दसैंले बैंकिङ क्षेत्रबाट सर्वसाधारणका हातमा रकम बढाएको छ। यसले बैंकिङ क्षेत्रमा तरलता केही कम हुन्छ। सामान्यतया दसैंमा वाहिरिएका नोट डेढदेखि दुई महिनाभित्र प्रणालीभित्र भित्रिने गरेकाले तरलतामा खासै चाप नपर्ने राष्ट्र बैंकको अनुमान छ। सरकारी ढुकुटीबाट तलब, भत्ताका लागि धेरै रकम बजारमा जाने भएकाले तरलताको अवस्था पर्वपछि अझै सुधार हुने राष्ट्रका अधिकारीहरु बताउँछन्।

No comments:

Post a Comment

thanks for comment