किस्ट-एभरेस्ट गाभिने सम्झौता आइतबारसम्म हुने

काठमाडौं, कात्तिक ३
किस्ट बैंक र एभरेस्ट बैंक आपसमा गाभिन (मर्जर) का लागि आगामी आइतबारसम्म औपचारिक सम्झौता हुने भएको छ। एक आपसमा गाभिनका लागि दुवै संस्थाले औपचारिक निर्णय भने गरिसकेका छन्।
किस्ट बैंकले बुधबार विशेष साधारणसभाले मर्ज गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ। केही समयअघि भएको एभरेस्ट बैंकको विशेष साधारणसभाले पनि सञ्चालक समितिलाई अख्तियारी दिइसकेको छ। यसका लागि एभरेस्ट बैंकले आफ्ना पूर्व प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रसिंह भन्डारीलाई विशेषज्ञ नै नियुक्त गरिसकेको छ।
 पञ्जाब नेसनल बैंकको संयुक्त लगानीमा सञ्चालित एभरेस्ट बैंकसँग किस्टले मर्जरपछिको नयाँ कम्पनीमा दुई सञ्चालकसम्म चित्त बुझाउने भएको छ। २ अर्ब चुक्ता पुँजी भएको किस्ट बैंकले ठूलो रुपमा कारोबार गर्नका लागि एभरेस्टसँग मर्ज गर्न लागेको हो।
एभरेस्ट बैंकले मर्जरका लागि कुमारी र नेपाल इन्भेस्टमेन्ट बैंकसँग कुराकानी भएर रोकिएको थियो। बैंक स्रोतका अनुसार किस्ट र एभरेस्टबीच भएको मर्जरको छलफल इन्भेस्टमेन्ट र कुमारीको भन्दा फरक भएकाले मर्जर सफल हुनेछ। उनले इन्भेस्टमेन्ट बैंकसँग मर्जरका बारेमा दुई अध्यक्षबीच मात्रै कुरा भएको तथा कुमारीमा बोर्ड स्तरीय मात्र कुरा भएको जानकारी दिँदै किस्टसँगको मर्जरको पहल सबै सेयरधनी र प्रवर्द्धकस्तरबाट भएकाले सफल हुने दाबी गरे।

मर्जर गर्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि दुवै संस्थाको सम्पूर्ण वित्तीय अवस्थाका बारेमा विस्तृत परीक्षण (डिडिए) गर्न विदेशी कम्पनीलाई जिम्मा दिइने छ। दुवै कम्पनीले अहिलेसम्म आरनस्ट एन्ड यङ, डेलोइट र प्राइस वाटरकुपर कम्पनीमध्ये एकलाई डिडिए गर्ने जिम्मा दिने तयारी गरेका छन्।
सम्झौतासँगै दुवै बैंकका प्रतिनिधि सम्मिलित दुई वटा समिति बन्ने छ। मर्जरका लागि अवश्यक पहल गर्ने समिति र कर्मचारी व्यवस्थापन समिति बन्ने छ। समान प्रतिनिधि रहने गरी समिति बनाउने सहमति दुवै बैंकबीच भएको छ।
डिडिए प्रतिवेदन आएपछि कुन कम्पनीको सेयरको मूल्यांकन कति भन्ने टुङ्गो लाग्ने छ। आगामी ६ महिनाभित्र मर्जर प्रक्रिया टुङग्याउने गरी लागेका दुवै बैंकले सेयर मूल्यांकन भए लगत्तै राष्ट्र बैंकमा आसयपत्रका लागि आवेदन दिने छन्।
कर्मचारी व्यवस्थापन समितिले प्रतिवेदन दिएपछि कुन संस्थाबाट कति कर्मचारी छाँट्ने वा बढाउने बारे निर्णय हुने छ।
पञ्जाव नेसनल बैंक (पिएनबी) को पहलमा दुई बैंकबीच मर्जर प्रकृयाअघि बढेको हो। पिएनबीले नेपालमा आफ्नो हिस्सा बढाउन खोजिरहेको छ। किस्ट बैंक पनि बलियो रुपमा नेपाली बैंकिङ उद्योगमा उभिन खोजिरहेको छ। दुवैको स्वार्थ मिलेकाले मर्जर प्रक्रिया अघि बढेको स्रोतले बतायो।
किस्ट बैंकसँग मर्जरपछि पिएनबीले नेपालमा सेयर हिस्सा अहिलेको २० प्रतिशतबाट कम्तिमा ५० प्रतिशतसम्म पुर्‍याउने छ। किस्टले सोझै पिएनबीलाई साझेदार बनाउने प्रयास नीतिगत कारण असफल भएपछि मर्जरमा सहमति भएको हो। साझेदारीका लागि किस्ट बैंकले ५१ प्रतिशत सेयर दिने तयारी गरेको थियो।
राष्ट्र बैंकले साझेदारीभन्दा पनि मर्जरका लागि सुझाव दिएकाले एभरेस्ट र किस्ट मर्जको निर्णयमा पुगेका हुन्। एउटै कम्पनीलाई दुई बैंकसँग साझेदारी गर्नका लागि कानुनी अड्चन भएकाले मर्जरमा जान सुझाव दिइएको थियो।
एभरेस्ट बैंक नेपालको १०औं र किस्ट २६औं वाणिज्य बैंक हो। किस्ट बैंकलाई राष्ट्र बैंकले फाइनान्स कम्पनीबाट वाणिज्य बैंकमा स्तरोन्नति गरेको थियो। २ अर्ब चुक्ता पुँजी रहेको किस्टको देशभरी ५१ शाखा छन्। देशभरीको सञ्जालका लागि पनि एभरेस्ट किस्टप्रति आकर्षित भएको हो।

No comments:

Post a Comment

thanks for comment