कानुन मिचेर व्रोकरबाट सेयर कारोबार

काठमाडौं, मंसिर १७
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन दिनभित्र राफासाफ  नभएका सेयर व्रोकरहरुमार्फत आइतबार कारोबार गराएको छ। राफसाफ नभएका सेयर व्रोकरको रकम शुन्यमा झारेर कारोबार बन्द गराउनु पर्ने व्यवस्था छ।
नेप्सेको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा सेयर खरिदकर्ता र विक्रीकर्ता व्रोकरले एकै पटक आवश्यक कागजात पेस गरी कारोबार राफसाफ गर्नु पर्ने नयाँ व्यवस्था लागू भएपछि तीन दिनभित्र राफसाफ हुन छाडेको छ। कात्तिक १ गतेबाट सञ्चालनमा आएको सिडिएसले नेप्सेले गर्दै आएको काम नगरेपछि तीन दिनभित्र राफसाफ हुन छाडेको हो।
नयाँ व्यवस्थाका कारण सोमबार १० मिनेट कारोबार भएको थिएन। कारोबार नै नभएर अझ समस्या वढ्ने भएपछि नेप्सेले आफ्नो तजविजमा केही व्रोकरहरुको खातामा कारोबारका लागि पैसा राखिदिएको थियो। आइतबार सञ्चालनमा रहेका ४८ वटै व्रोकर कम्पनीहरु राफसाफ नभएका कारण कारोबार गर्न अयोग्य थिए।  कम्पनीहरुले आफ्नो खातामा भएको रकमको २० गुणासम्म बराबरको कारोबार गर्न पाउँछन्।
राफसाफका कारण कारोबार गर्न समस्या भएपछि नेपाल स्टक व्रोकरर्स संघले आकस्मिक पत्रकार सम्मेलन गर्दै नयाँ व्यवस्थालाई सुधारेर बजारलाई सहज बनाउन  नेप्सेसँग माग गरेको छ। 'प्रणाली वाहिरबाट कारोबार गर्ने रकम झिक्ने र राख्दा राफसाफ प्रणाली असफल भइ धितोपत्र बजारलाई प्रतिकुल असर पारेको छ,'  संघका अध्यक्ष अन्जन पौडेलले भने, 'नयाँ व्यवस्थालाई तुरुन्त सच्याउनु पर्छ।'
उनका अनुसार, सिडिएसमा जानु पूर्व नै यो व्यवस्था नगर्न संघले आग्रह गरेको थियो। नेप्सेका अधिकारीहरुले सिडिएस तत्काल सुरु गर्नु पर्ने भएकाले व्यवहारिक कठिनाइहरुलाई पछि समाधान गर्ने प्रतिवद्धता जनाएका थिए। तर उनीहरु समस्या समाधान गर्नतर्फ नलागी विदेश भ्रमणमा मात्र रमाएका कारण लगानीकर्ताले समयमा पैसा र सेयरको प्रमाणपत्र पाएका छैनन्।
कानुनतः लगानीकर्ताले सेयर विक्री गरेको चौथो दिनभित्र भुक्तानी पाइसक्नु पर्छ। खरिदकर्ताले पनि प्रमणपत्र पाउनु पर्छ। सेयर विक्री गर्ने र खरिद गर्ने व्रोकरहरु एकै चोटी उपस्थित भए मात्र राफसाफ गर्ने व्यवस्थापछि लगानीकर्ताले समयमा भुक्तानी र प्रमाणपत्र पाउन छाडेका छन्।
व्रोकरहरुले समस्या सच्याउन आग्रह गरेपनि इजिप्टको भ्रमणमा रहेका नेप्से तथा सिडिएसका अध्यक्ष जिवनाथ धिताल फर्किएर आएपछि मात्र छलफल हुने छ। उनी २४ गते नेपाल फर्किदैछन्। धितालसँगै नेप्सेका महाप्रबन्धक शंकरमान सिंह पनि इजिप्ट गएका छन्।
'कसैको पनि राफसाफ तीन दिनभित्र भएको छैन। उहाँहरु नफर्किएसम्म समस्या समाधानके छाँट देखिँदैन,' पौडेलले भने, 'यो अवधिभरी ब्रोकरहरुले गैरकानुनी रुपमा कारोबार गर्नु पर्ने देखिन्छ।' उनले नेप्सेका उपलब्ध अधिकारीहरुसँग छलफल गर्दा अध्यक्ष र महाप्रबन्धक फर्किएर नआउन्जेल तत्काल केही गर्न नसक्ने बताएको जानकारी दिए।
नेप्सले पाँच वर्षअघि पनि सेयर विक्री गर्ने र खरिद गर्ने व्रोकरहरु एकै चोटी उपस्थित भए मात्र राफसाफ गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको थियो। तर, यो व्यवस्था व्यवहारिक नदेखिने भएपछि नेप्सेले कुनै एकको उपस्थितिमा राफसाफ गर्ने व्यवस्थालाई निरन्तरता दिएको थियो।
वाहिर पनि स्टक एक्सचेन्ज वा सिडिएसले कोही एकको उपस्थितिमा पनि राफसाफ गर्ने प्रचलन छ। 'आफ्नो काम अरुलाई गर्न लगाएर लगानीकर्तालाई समस्या पार्न खोजिएको छ,' उनले भने, 'कर्मचारी अभाव भयो भन्दैमा सेयर व्रोकरलाई वाध्य पार्न पाइँदैन।' उनले पहिलेकै व्यवस्था अनुसार सेयर राफसाफ गर्न माग गरेका छन्। 'अहिले गैरकानुनी रुपमा कारोबार हुँदा समस्या थुप्रिएर अझ ठूलो रुप लिने छ। लगानीकर्ताले अझ दुःख पाउने अवस्था  आउने छ,' उनले भने।
संघले अहिलेको  व्यवस्था सच्याउन महिना दिनअघि नै नेप्से र सिडिएसलाई लिखित आग्रहसमेत गरेको थियो।

No comments:

Post a Comment

thanks for comment