नेपाली बैंकले चिनियाँको 'ग्यारेन्टी' नस्विकार्ने

काठमाडौं, मंसिर १६
बैंकहरुको छाता संगठन बैंकर्स संघले चिनीयाँ बैंकहरुको बैंक ग्यारेन्टी नस्वीकार्ने निर्णय गरेको छ। चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसनले बैंक ग्यारेन्टी वापतको रकम फिर्ता नगरेपछि संघको विशेष वैठकले नस्विकार्ने निर्णय गरेको हो।
'चिनियाँ बैंकले आफूले दिएको ग्यारेेन्टी भुक्तानी माग्न जाँदा अस्विकार गरेकोे छ,' संघका उपाध्यक्ष राजनसिंह भन्डारीले नागरिकसँग भने, 'त्यही भएर यो बारेमा सबै बैंकहरुलाई जानकारी गराउँदै सचेत रहन आग्रह गरेका छौं।'
मेलम्ची सुरुङ निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी चाइना रेल्वे व्युरो कर्पोरेसनले चाइना कन्स्ट्रक्सन बैंकले गरेको काउन्टर ग्यारेन्टीका आधारमा बैंक अफ काठमाण्डू (बिओके) र हिमालनय बैंकबाट रकम लगेको थियो। बीचैमा ठेक्का रद्द गरेर कम्पनी भागेपछि उसले लगेको रकम नेपाली बैंकले चाइना कन्स्ट्रक्सनसँग माग गरेका थिए।
उनीहरुले माग गरेको रकम केही दिनमा दिलाइ दिन्छु भन्दै टारेको बैंकले पछि अदालतको आदेश भन्दै पैसा फिर्ता नगर्ने जवाफ पठाएको थियो। दुई बैंकको रकम नउठ्ने भएपछि तत्काललाई चिनीयाँ बैंकको ग्यारेन्टी नस्विकार्ने निर्णय गर्न संघ वाध्य भएको हो।
ठेकेदार भागेपछि बिओकेको ७० करोड २१ लाख र हिमालयनको ५८ करोड ३१ लाख रुपैयाँ डुवेको छ। 'दुई वटा बैंकले धोका पाएका छन्,' संघका एक सदस्यले भने, 'अन्य बैंकले धोका पाउनु हुँदैन भनेर संस्थागत रुपमा निर्णय गरिएको हो।' उनले रकम फिर्ता नहुन्जेलसम्मलाई कारोबार नगर्ने निर्णय भएको जानकारी दिए।
चाइना रेल्वेले मेलम्चीको सुरुङ खन्न नसकेर भागेपछि आयोजना निर्माणको समय चार वर्षपछि धकेलिएको छ।
चिनियाँ कन्स्ट्रक्सन बैंकसँग नेपालका पुराना अधिकांस बैंकहरुले कारोबार गर्छन्। यो बैंक चिनकै ठूलोमध्येको हो। ठेकेदार कम्पनीले बैंकलाई भुक्तानी नदिन आग्रह गरेको थियो। यही आधारमा स्थानीय अदालतबाट अन्तरिम आदेश लिएर चिनियाँ कन्स्ट्रक्सनले नेपाली बैंकलाई भुक्तानी नदिएको हो।
'संघले संस्थागत रुपमा पैसा उठाउनलाई विभिन्न निकायको सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ,' भन्डारीले भने, 'हामी राष्ट्र बैंक, अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत पैसा उठाउन पहलका लागि आग्रह गर्नेछौं।'
विदेशी कम्पनीहरुले नेपालमा सोझै काम गर्न पाउँदैनन्। उनीहरुले आफ्नो मुलुकको बैंकमार्फत नेपाली बैंकबाट ग्यारेन्टी जारी गरेर काम गर्नु पर्छ। यही कारणले चिनियाँ कन्स्ट्रक्सनको आग्रहमा नेपाली बैंकले ग्यारेन्टी जारि गरेका थिए।
'बैंकले प्रत्याभुत गरेको कम्पनीले लिएको पैसा नतिरेपछि ग्यारेन्टी गर्नेले स्थानीयलाई भुक्तानी गर्नु पर्छ,' एक बैंकरले भने, 'चिनियाँ बैंकले कानुनी रुपमा भुक्तानी गर्नु पर्ने अवस्था आएपछि अदालतको आदेशभन्दै भुक्तानी नगरेको हो।' उनले मुद्दाको फैसला नहुन्जेल भुक्तानी गर्न नसक्ने भन्दै चिनियाँ बैंकले पत्रचार गरेको जानकारी दिए।
नेपालमा काम गर्न आएका चिनिया कम्पनीहरुको छवी भने पहिले देखिनै राम्रो छैन। नेपालका विभिन्न क्षेत्रमा काम गर्छु भन्दै आएका चिनियाँ कम्पनीहरुले सम्झौता गरेअनुसारको काम गरेका छैनन्। नेपालका टेन्डरमा चिनियाँ कम्पनीको सहभागिता वढिरहेका बेला चिनियाँ कम्पनीहरु र त्यहाँको बैंकको व्यवहारले काम गर्न निकै अप्ठेरो हुने नेपाली बैंकरहरु बताउँछन्।
चिनियाँ कम्पनीहरुले पछिल्लो समय कम दर प्रस्ताव गरेर ठेक्का लिने र पछि घाटा हुने भएपछि काममा ढिलाई गर्नेे, सम्झौताभन्दा बढी रकम माग गर्ने, कम गुणस्तरका उपकरण दिने, नभए ठेक्का तोड्ने लगायतका काम गर्दै आएका छन्।  सम्झौता अनुसारका काम नर्गदा सरकारले उनीहरुलाई कारवाही गर्ने कुरा त परै जाओस् उनीहरुको माग पुरा गर्न आफै लविङ गर्ने गरेको छ।

No comments:

Post a Comment

thanks for comment