एच एन्ड बी बैंक ठगी प्रकरण : लहरोले तान्यो पहरो

सुदर्शन सापकोटा, काठमाडौं, पुस २ - एच एन्ड बी डेभलपमेन्ट बैंक ठगी प्रकरणमा बैंकका सञ्चालक, उच्च कर्मचारी र ऋण दिने सहकारीको मिलेमतो भेटिएको छ। ठगीमा संलग्नबारे अनुसन्धान गहिरिन थालेपछि ऋण दिने सहकारीका सञ्चालक भने लापत्ता हुन थालेका छन्।
बैंकका कुलेश्वर शाखा प्रमुख निरज नेपाललाई मात्र औंल्याएर केही वरिष्ठ कर्मचारी र सञ्चालक उम्कन खोजिरहेका बेला राष्ट्र बैंकको अनुसन्धानले उक्त प्रकरणमा ठूलो गिरोहको संलग्नता भेटेको हो।
सुरुमा उक्त प्रकरणमा बैंक म्यानेजर नेपालसहित ग्राहकद्वय मनोज चौरसिया र जयकुमार यादवको मात्र संलग्नता देखिए पनि अनुसन्धानमा गिरोह नै रहेको देखिएको छ।
राष्ट्र बैंक स्रोतअनुसार कुलेश्वर ठगी काण्डमा चेकको धितोमा भुक्तानी दिने सहकारी सञ्चालकहरु अहिले सम्पर्कमा छैनन्। ‘एउटा व्यक्ति र ग्राहक मिलेरमात्र यत्रो ठगी सम्भव छैन,' स्रोतले भन्यो, ‘यसमा भुक्तानी दिने केही सहकारी, बैंक सञ्चालक र माथिल्लो व्यवस्थापकहरुको समेत सहभागिता देखिन्छ।'

बैंकको ‘गुड फर पेमेन्ट' चेक धितोमा साढे ८ करोड रुपैयाँ लगानी गरेको भेटिएको छ। यसबाहेक बैंकको खाताबाट १७ करोड रुपैयाँ नगदसमेत हराएको छ। नेपालले केही ग्राहकसँग मिलेमतोमा पैसा नभएको खाताबाट ‘गुड फर पेमेन्ट' चेक जारी गरेका थिए।

जारी भएका चेकको धितोमा आधा दर्जन सहकारीबाट रकम झिकिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। ‘बाहिर यतिउति भुक्तानी दिएको भनेर हल्ला गरे पनि ती सहकारीहरु ठगीमा आफ्नो संलग्नता देखिने डरले बैंकमा आउन सकेका छैनन्,' बैंककी प्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुले भनिन्। उनले एउटा खाताको सम्बन्ध (लिंक) अर्कोसँग रहेकाले अनुसन्धानमा समय लागेको जानकारी दिइन्।

नेपालले मिलेमतोमा चेक जारी गर्दै पैसा निकाल्न सहयोग गरे पनि उनी र उनका आफन्तका खातामा पैसा भने भेटिएको छैन। स्रोतका अनुसार दुई कोठा भाडामा लिएर बस्दै आएका नेपालको कुनै कुलत पनि देखिँदैन। ‘उनको जीवनशैलीमा कुनै पनि किसिमको परिवर्तन आएको छैन,' स्रोतले भन्यो, ‘रकम कतै लुकाएको हुनुपर्छ। नभए सबै मिलेमतो गरेका मानिससँग छ।'

प्रहरी थुनामा रहेका नेपालले पैसा फिर्ता गर्न तीन दिनको समय मागेका छन्। आधा दर्जन सहकारी संस्था र केही व्यक्तिले चेकको धितोमा ६३ करोड रुपैयाँबराबरको रकम भुक्तानी दिएको दाबी गरिरहेका छन्। दाबी गर्नेमध्ये केहीले मात्र प्रमाण देखाउन सकेका छन्।

राष्ट्र बैंकले उपल्लो तहका कर्मचारीमाथि पनि अनुसन्धान बढाएको छ। लामो समयदेखि नेपालले ‘गुड फर पेमेन्ट' चेक जारी गर्दै आए पनि बैंकको आन्तरिक लेखापरीक्षणमा उच्च कर्मचारी र सञ्चालकको समेत संलग्नता भेटिएपछि यसमा ठूलो समूहको मिलेमतो रहेको आशंकामा अनुसन्धान थालिएको छ।

राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बैंकको आन्तरिक नियन्त्रण प्रणाली बलियो नभएकाले ठगी भएको बताए। ‘बैंककै कर्मचारीबाट ठगी हुन थालेका घटना सार्वजनिक हुँदा यसले निक्षेपकर्तालाई निराश बनाउँछ,' ज्ञवालीले भने, ‘बैंकिङप्रतिको विश्वास पनि घट्दै जान्छ।'

ग्राहकको खातामा पर्याप्त पैसा भएपछि मात्र भुक्तानी पाउनेको नाममा ‘गुड फर पेमेन्ट' चेक जारी गर्न पाइन्छ। चेक जारी भएपछि यसको भुक्तानीको पूर्ण दायित्व बैंककै हुन्छ। यस्तो चेकको धितोमा ऋण पनि सजिलै उपलब्ध हुन्छ।

नेपालले रकम नभएको खाताबाट कतिवटा चेक जारी गरे भन्ने अझै खुल्न सकेको छैन। बैंकले केही कर्मचारीलाई निलम्बन गरिसकेको छ। तर, उपल्लो तहका कर्मचारीसँग स्पष्टीकरणसमेत मागेको छैन।

‘यसमा ठूलो समूह लागेकाले घटनालाई छोप्न खोजिएको छ,' बैंकस्रोतले भन्यो, ‘साना कर्मचारीलाई कारबाही गरेजस्तो गरेर ठूलालाई जोगाउने खेलसमेत हुन थालेको छ।'

थानकोटको चन्द्रागिरि सहकारीले अहिलेसम्म ठूलो रकम (२१ करोड) भुक्तानी दिएको मौखिम दाबी गरेको छ। यसबाहेक वेस्ट वान सहकारी संस्था, नेपाल बहुउद्देश्यीयलगायत आधा दर्जन सहकारीले १ करोडदेखि ८ करोडसम्मको दाबी गरेका छन्। भुक्तानी दिनेमा वैभव फाइनान्स कम्पनी पनि छ। फाइनान्सले २ करोड रुपैयाँ भुक्तानी दिएको थियो। फाइनान्स सञ्चालक समितिले प्रमुख कार्यकारीलाई निलम्बन गरिसकेको छ।

बैंकले प्रमाणसहित आउनेको भुक्तानी तत्काललाई रोकेर राखेको छ। आवश्यक अनुसन्धान भइरहेको भन्दै बैंकले प्रमाणसहित साढे ८ करोड रुपैयाँ भुक्तानी माग्न आउनेको रकम रोकेर राखेको हो।

कानुनी रुपमा कुनै पनि चेकको धितोमा ऋण दिन पाइँदैन। चेकको धितोमा ऋण दिएका कारण सहकारी तथा फाइनान्स कम्पनी सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत तानिने राष्ट्र बैंक स्रोतले जनायो। ‘अनुसन्धान पूरा भएपछि बैंकका उच्च व्यवस्थापन तथा सञ्चालकहरु र धितोमा ऋण दिनेहरुमाथि कारबाही हुन्छ,' स्रोतले भन्यो, ‘धितोमा ऋण दिनेहरु यसमा स्वयं जवाफदेही हुने भएकाले बैंकले यसको क्षतिपूर्ति दिन मिल्दैन।'

बंैंकस्रोतका अनुसार नेपालले जारी गरेको ‘ठूलो' रकमको चेक पाउने ग्राहकले चिनजानमा रहेका बैंकका उच्चपदस्थ एक कर्मचारीलाई जानकारी गराएपछि ठगी घटना सार्वजनिक भएको हो। बैंक उच्च व्यवस्थापनले ‘ठूलो' गुड फर पेमेन्ट चेक जारी गरेको आन्तरिक प्रणालीमा नदेखिएपछि कुलेश्वरमा अनुसन्धान गर्न पठाएको थियो। अनुसन्धान टोलीले नेपालले यस्ता चेक धेरैपटक जारी गरेको भेटेपछि उनलाई मंगलबार प्रहरीको जिम्मा लगाइएको थियो।

जारी चेकको सम्पूर्ण दायित्व बैंकको हुने भएकाले ठगीबाट बैंकको वित्तीय अवस्थामा असर पर्ने देखिन्छ। ‘धेरै चेक जारी भएर ठूलो रकम निस्किएको भए बैंकको वित्तीय अवस्थामा केही असर पर्छ,' राष्ट्र बैंकस्रोतले भन्यो, ‘हामीले नेपालसहित शंकाको घेरामा रहेका अधिकांशको बैंकखाता रोक्का गरेकाले अनियमितता भएको रकम उठ्ने अवस्था पनि छ।'

राष्ट्र बैंकले शंका लागेका व्यक्ति तथा संस्थाको खाता तथा सेयर कारोबारसमेत रोक्का राखेको छ। नेपाल स्टक एक्सचेन्जले आइतबार बैंकको सम्पूर्ण सेयर कारोबार रोक्का गरेको छ।

No comments:

Post a Comment

thanks for comment