नेपाल बैंकको सेयर कारोबार भएन

काठमाडौं, मंसिर १७
नेपाल बैंक लिमिटेडको पहिलो कारोबार नेपाल स्टक एक्सचेन्जमा हुन सकेन। कारोबारका लागि सुचीकरण गरिएको बैंकको सेयर विक्रेता नआउँदा किनबेच नभएको हो।
नौ वर्षदेखि किनबेच रोक्का रहेको नेपाल बैंकको सेयर अघिल्लो आइतबार नेप्सेमा सुचीकरण भएको थियो। बैंकको ३८ लाख ३ हजार ८ सय २६ कित्ता सेयर सुचीकरण भएको छ।
पुँजी वृद्धि गर्न सरकारले आर्थिक सहयोग गरेपछि बैंकले हकप्रद निस्कासन गर्न सेयर सुचीकरण गरेको थियो। बैंकले माघमा हकप्रद सेयर निस्कासन गर्दै छ।
नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सुचीकरण खारेज गरिएको थियो।
धितोपत्र ऐन अनुसार, नेप्सेमा सुचीकरण नभएको कम्पनीले हकप्रद सेयर निस्कासन गर्न पाउँदैन। बैंकले गत असोज २५ गते नेप्सेमा ओभर द काउन्टर (ओटिसी) किनबेचका लागि सेयर दर्ता गराएको थियो। नेप्सेमा पनि पहिलो पटक नेपाल बैंककै सेयरमार्फत ओटिसी कारोबार भएको थियो।
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न पैसा उपलब्ध गराइसकेको छ। सेयर सुचीकरण गरेपछि सरकारको नाममा सेयर वितरण हुन्छ। बैंकले हकप्रद निस्कासन पछि  मात्रै सरकारी पैसा पुँजीमा देखाउन पाउँछ। सरकारले यो बैंकलाई एक अर्ब ३७ करोड रुपैयाँ उपलब्ध गराएको हो।
बैंकले पुँजी वृद्धि गर्न प्रति एक बराबर ९.५ प्रतिशतका दरले हकप्रद निस्कासन गर्न लागेको छ। यसका लागि बैंकले निस्कासन तथा विक्री प्रबन्धकसमेत नियुक्त गरिसकेको छ।
बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। यसलाई ४ अर्ब पुर्‍याउने बैंकको योजना छ। बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९.९४ प्रतिशत सेयर छ। बैंकलाई ९ अर्ब ७४ करोड रुपैयाँ पुँजी कोष आवश्यक छ। 
नेपाल बैंकमा वित्तीय समस्या आएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरिएको थियो। सुधार कार्यक्रमपछि बैंकको अवस्थामा सुधार आएको छ। अझै पनि बैंकको वित्तीय अवस्था पूर्ण रुपमा स्वस्थ छैन।  वित्तीय स्वास्थ पुरै ठिक हुन पुँजी बढाउनु पर्ने भएकाले बैंकले सेयर जारी गर्न लागेको हो।
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने  तयारी गरेको छ। ७६ वर्ष पुरा गरेको बैंकले आर्थिक वर्ष २०७१/७२ पछि सेयरधनीलाई लाभांश बाँड्ने योजना बनाएको छ। सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले यो घटेर ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक भएको छ।
बैंकका अनुसार, बैंकको चालु वर्षको असोजमा २ करोड ७९ लाख नाफा कमाएको छ। यो अघिल्लो वर्षको भन्दा ३६ प्रतिशतले वढी हो। बैंकसँग ५६ अर्ब ११ करोड निक्षेप छ। बैंकले २९ अर्ब ८१ करोड लगानी गरिसकेको छ। बैंकको पुँजी कोष अहिले पनि ४.३६ प्रतिशतले ऋणात्मक छ। बैंकको खराव ऋण ५.८६ प्रतिशत छ। पुँजी कोष १० प्रतिशतभन्दा वढीले धनात्मक र खराव कर्जा ५ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्था छ।
राष्ट्रिय वाणिज्य र नेपाल बैंकको आर्थिक अवस्था बिग्रिएपछि सन् २००२ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम ल्याइएको थियो। प्राविधिक रुपमा टाँट पल्टिएको बैंक कार्यक्रम आएपछि सुधार हुन थालेको हो। विश्व बैंकको ऋण सहयोगमा सुरु भएको कार्यक्रमले पनि बैंकको ऋणात्मक नेटवर्थमा भने सुधार ल्याउन सकेको थिएन।

No comments:

Post a Comment

thanks for comment