नाफामा रहेको अग्नी एयर विक्रीमा

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १८
अग्नी एयर प्रालिले आफ्ना पाँच वटा जहाजहरु विक्री गरेर बैंकको ऋण राफसाफ गर्ने भएको छ। तिहारलगत्तै कम्पनीका सबै जहाज ग्राउन्डेड भएपछि ऋण दिएका बैंकहरुको सुझावमा जहाज विक्री गर्ने भएको हो।
कम्पनीका दुई वटा जहाज पहिलेदेखि नै ग्राउन्डेड थिए। वाँकी तिन वटा जहाज तिहारपछि ग्राउन्डेड भएको हो। जहाज विक्रीका लागि मूल्यांकन गर्न तिन वटा वेग्लावेग्लै समुहले अध्ययन गरिरहेको छ।
सहवित्तीयकरणमा ऋण दिएका बैंकहरुसँग केही दिनअघि भएको सम्झौता अनुसार, तीन वटै मूल्यांकनकर्ताले वुझाएको मूल्यांकनको औषत रकमभन्दा नघट्ने गरी जहाज विक्री गरिने छ। अग्नी एयरले बैंकहरुलाई ६५ करोड रुपैयाँ ऋण तिर्न वाँकी छ।
गत वर्ष २८ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले ग्रान्ड बैंक नेपालको नेतृत्वमा सनराइज बैंक र आइएलएफसी वित्तीय संस्थासँग सात वर्षअघि ऋण लिएको थियो। जहाज ग्राउन्डेड भएर 'नगद प्रवाह' हुन छाडेपछि बैंकहरुले विक्री गरेर पैसा फिर्ता गर्न सुझाव दिएका थिए। अग्नीमा ग्रान्ड र सनराइजको ३५ प्रतिशतका दरले ऋण लगानी गरेका छन्। वाँकी ३० प्रतिशत आइएलएफसीको छ।
'बैंक र अग्नीका सञ्चालक दुवैले जहाज किन्ने ग्राहक खोज्ने छन्,' ऋण दिने बैंकमध्येका एक प्रमुख कार्यकारी अधिकृतले सोमबार नागरिकसँग भने, …जसले वढी मूल्यमा ल्याउँछ उसैको ग्राहकलाई विक्री गरिने छ।' उनले पुस दोस्रो सातासम्म जहाज विक्री प्रक्रिया सुरु भइसक्ने जानकारी दिए। कम्पनीका अधिकारीहरुले भने १ अर्बभन्दा कममा जहाज विक्री नगर्न बैंकसँग आग्रह गरेको स्रोतले बतायो।
अग्नी एयरका सञ्चालकको रियलस्टेटमा ठूलो रकम 'फ्रिज' भएका कारण पनि नगद प्रवाह हुन नसकेर जहाज विक्री गर्नु पर्ने अवस्था आएको स्रोतले दावी गर्‍यो। स्रोतका अनुसार, जहाज खरिदका लागि केही चलेका एयरलाइन्स कम्पनीहरु आएका छन्। यसवाहेक दुई वटा विदेशी कम्पनीले पनि चासो देखाएको छ। उनीहरुले बैंकको ऋण तिर्न पुग्ने रकम (६५ करोड) बराबर मूल्य हाल्ने प्रस्ताव गरेका छन्।
'हामीले बैंकको ऋण वाहेक केही रकम अग्नीका सञ्चालकहरुले पनि पाउन् भनेर उनीहरुको प्रस्तावलाई स्वीकार गरेका छैनौं,' ती बैंकरले भने, 'मूल्यमा छलफल भइरहेको छ। मूल्य मिल्ने वित्तिकै विक्री गर्छौं।'
अग्नी एयरको अध्यक्षमा एक महिनाअघि सुशिल बस्नेत आएका छन्। उनले नै ऋण भुक्तान गरी केही रकम कम्पनीलाई पनि आउनु पर्ने गरि बैंकहरुसँग छलफल गरेका हुन्।
'जहाज ग्राउन्डेड भएपनि सम्पतिको गुणस्तर राम्रो भएकाले आकर्षक मूल्य लिएर विक्री गर्न अग्नीका अध्यक्षले भन्नु भएको छ,' ती बैंकरले भने,'हामी पनि राम्रो मुल्यमा बेच्नका लागि प्रयत्न गरिरहेका छौं।'
अग्नीसँग जेट स्ट्रिम–४१०० जहाज तीन वटा र डोर्नियर–२२८ जहाज २ वटा छन्। नेपालजस्तो भूभाग भएको मूलुकमा डोर्नियर जहाजलाई राम्रो मानिन्छ। नगद प्रवाह हुन नसकेका कारण अग्नीले नागरिक उड्यान प्राधिकरणलाई वुझाउनु पर्ने शुल्क भुक्तानी गर्न सकेको छैन। कर्मचारीहरुलाई पनि मासिक तलव दिन सकेको छैन।
'जहाज मेसिनरी सामान भएकाले त्यतिकै थन्किँदा मूल्यमा ह्रास आउँछ,' ती बैंकरले भने, 'त्यही भएर मूल्य पाउँदै विक्री गर्न सके बैंकको ऋण भुक्तानी भएर अग्नीका सञ्चालकले पनि केही रकम पाउने छन्।'

No comments:

Post a Comment

thanks for comment