बैंकिङ क्षेत्रकै पुँजी लागत घट्यो

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १३
वाणिज्य बैंकसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुको पुँजी लागत (कस्ट अफ फन्ड) घट्न थालेको छ। बैंकिङ प्रणालीमा पैसा (तरलता) वढेर निक्षेपको व्याज घट्न थालेपछि लागत घटेको हो।
बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको असोजसम्मको वित्तीय विवरण अनुसार, पुराना बैंकहरुको लागत धेरै नै घटेको  छ।  लागत घटेकाले ऋणको व्याज अझ घट्ने देखिन्छ।
'पुँजी लागत विस्तारै घट्न थालेको छ। डेढ वर्षभन्दा वढी अवधि महँगो दरमा निक्षेप उठाएकोमा त्यो रकम घट्दै गएकाले लागत कम भएको हो,' कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नागरिकसँग भने।
उनका अनुसार, पैसा वढेसँगै बैंकहरुले नयाँ निक्षेप सस्तोमा लिन थालेको र पुरानोसमेत परिपक्क भएपछि नवीकरण हुन थालेकाले लागत कम हुँदै गएको हो।
पुराना बैंकहरुको पुँजी लागत साढे चार प्रतिशतको हाराहारीमा आइसकेको छ। बीचतिर खुलेका बैंकहरुको सात प्रतिशतको हाराहारीमा छ। नयाँ बैंकहरुको भने ९ प्रतिशतको वरपर छ। यसअघि पुरानको पुँजी लागत ६ प्रतिशतभन्दा माथि, बीचतिर खुलेका बैंकहरुको नौं प्रतिशत हाराहारी र नयाँको साढे १० प्रतिशतभन्दा मथि थियो।
बैंकहरुको लागत कम हुँदा ऋण लिने उपभोक्ताले सस्तो व्याजमा पैसा पाउँछन्। निक्षेप महँगोमा लिएका कारण बैंकहरुले सवै खर्च र आम्दानी जोड्दा ऋण थप महँगो पर्न जान्छ। 'तरलता वढेर बैंकहरुले निक्षेपकर्तालाई दिने व्याज घटाउन थालेपछि पुँजी लागत घटेको हो,' उनले भने, 'यसले गर्दा पहिलेको तुलनामा ऋणको व्याज सस्तिन थालिसकेको छ।'
वित्तीय कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले पुँजी लागत कम भएका कारण बैंक तथा वित्तीय संस्थाले दिने व्याजमा कमी आइसकेको बताए। उनका अनुसार, अहिले छोटो अवधिको कर्जा धेरै नै घटिसकेको छ। लामो अवधिको कर्जा पनि सस्तोमा आइसकेको छ।
अधिकांस विकास बैंक तथ वित्तीय कम्पनीहरुको पुँजी लागत ११ प्रतिशतको हाराहारीमा छ। स्थापित भइसकेका वित्तीय संस्थाहरुको लागत अझ कम छ।
'निक्षेपको व्याज घटेर लागत कम भएकाले नै ऋणको घटाउन संभव भएको हो,' शाक्यले भने। पुँजी लागत वढेर ऋणमा महँगो ब्याज लिन थालेपछि उद्योगधन्दा तथा सर्वसाधारणले बैंकबाट पैसा लिन छाडेका थिए। अहिले लागत घटेर व्याज सस्तो हुन थालेपछि ऋण लगानी वढ्न थालेको छ।
असोजसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा तथा लगानी ५.४ प्रतिशत अर्थात ५१ अर्ब ७९ करोडले बढेको छ। अघिल्लो वर्षको असोजमा कर्जा तथा लगानी १६ अर्ब ३ करोड रुपैयाँले बढेको थियो। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुकोे कर्जा तथा लगानी क्रमशः ५.१ प्रतिशत, ३.८ प्रतिशत र १.९ प्रतिशतले बढेको छ।
बैंकिङ प्रणालीमा पैसा थुप्रिन थालेपछि एक वर्षे मुद्दति निक्षेपको ब्याज १२ प्रतिशतबाट ७ प्रतिशतभन्दा मूनी आइसकेको छ। विकास बैंक र फाइनान्स कम्पनीले पनि व्याज ९/१० प्रतिशतमा झारिसकेका छन्। यि कम्पनीहरुले ग्राहकलाई अधिकतम १५ प्रतिशतसम्म व्याज दिन्थे।
सबैभन्दा वढी व्याज  माग्ने वित्तिकै फिर्ता गर्नु पर्ने (कल डिपोजिट) निक्षेपको घटेको छ। ठूला र पुराना वाणिज्य बैंकहरुले १२ प्रतिशतबाट यसको व्याज घटाएर १/२ प्रतिशतको हाराहारीमा झारिसकेका छन्। विकास बैंक र फाइनान्स कम्पनीले पनि यो घटाएर ३ देखि ५ प्रतिशतको हाराहारीमा छ।
कल डिपोजिट वाहेक बचत खाताको ब्याजसमेत घटाएका छन्। बैंक तथा वित्तीय संस्थाको सवैभन्दा राम्रो निक्षेपको 'जग' बचत खाता हो। बचत खाताको ब्याज घट्दाको प्रभावकारी असर पुँजी लागतमा पर्छ। 
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २.५ प्रतिशत अर्थात २४ अर्ब ९७ करोडले बढेको छ। अघिल्ल् वर्षको असोजमा निक्षेप परिचालन ५.२ प्रतिशत अर्थात ४३ अर्ब १४ करोडले बढेको थियो। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप परिचालन क्रमशः १.७ प्रतिशत, ४.८ प्रतिशत र ३.४ प्रतिशतले बढेको छ।

No comments:

Post a Comment

thanks for comment