बैंकको शाखा सञ्जाल १४४५ पुग्यो, बढी काठमाडौं उपत्यकामा, सुदूरपश्चिममा जम्मा ८५

काठमाडौं, २९ बैशाख
नेपाल राष्ट्र बैंकले पछिल्लो तीन वर्षमा बैंकहरुको शाखा सञ्जाल व्यापक विस्तार भएको जनाएको छ। तीन वर्षअघिको तुलनामा वाणिज्य बैंकको मात्र शाखा सञ्जाल ४ सय ४५ वटा थपिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक सुपरिवेक्षण प्रतिवदेन अनुसार अहिले शाखा सञ्जाल १ हजार ४ सय २५ पुगेको छ। अघिल्लो वर्ष यो १ हजार २ सय ४५ वटा थियो। तीन वर्षअघि शाखा ९ सय ८० वटा थियो। बैंकहरुको संख्यामा आएको वृद्धि र उनीहरुको आन्तरिक प्रतिस्पर्धाका कारण शाखा सञ्जाल विस्तार भएको हो।
बैंकहरुले विस्तार गरेको शाखाहरु काठमाडौं उपत्यका र यस वरपरका क्षेत्रहरुमा बढी छ। यो क्षेत्रमा बैंकको शाखा ७ सय ९ वटा छ। सबैभन्दा कम शाखा सञ्जाल सुदूरपश्चिमाञ्चल क्षेत्रमा छ। यो क्षेत्रमा जम्मा ८५ वटा शाखा छन्।
बैंकहरुले पूर्वाञ्चलमा २ सय ५५ वटा शाखा विस्तार गरेका छन्। २ सय ५६ वटा शाखा पश्चिमाञ्चल क्षेत्रमा छ। १ सय २० वटा शाखा मध्यपश्मिाञ्चल क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कुल सम्पति २३.०४ प्रतिशत बढेर १० खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सम्पति १०.१३ प्रतिशतले बढेको थियो। यसमध्ये ग्राहकलाई लगानी गरेको ऋण (सम्पति) को हिस्सा अधिक छ। बैंकहरुको कुल सम्पतिमा ५९ प्रतिशत ग्राहकलाई दिएको ऋणको हिस्सा छ। १८ प्रतिशत सरकारी ऋणपत्र तथा बन्डका रुपमा रहेको छ। १६ प्रतिशत सम्पति नगद र बैंक मौज्दातका रुपमा रहेको छ भने दुई प्रतिशत मात्र स्थिर सम्पति छन्।
बैंकहरुको दायित्वमध्ये ८६ प्रतिशत सर्वसाधारणबाट उठाएको निक्षेप छ। ७ प्रतिशत पुँजीका रुपमा र अन्य दायित्व ४ प्रतिशत रहेको प्रतिवेदनमा छ। बैंकहरुले उठाएको निक्षेपमध्ये ३५ प्रतिशत बचत खातामा रहेको छ। ३४ प्रतिशत मुद्दति खातामा निक्षेप छ भने ११ प्रतिशत चालु खातामा छ। वाँकी २० प्रतिशतमा अन्य खातामा रहेको छ।
बैंकहरुको सबैभन्दा बढी लगानी उत्पादनमूलक (उद्योग कलकारखाना) मा गरेको देखिन्छ। यसमा कुल लगानीको २३.०९ प्रतिशत छ। १८.१० प्रतिशत होलसेलर र रिटेलर (थोक तथा खुद्रा) मा छ भने ११.२० प्रतिशत अन्य क्षेत्रमा लगानी गरेका छन्। बैंकहरुल्े ९.८० प्रतिशत निर्माण उद्योगमा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ। कुल लगानीको ६.१६ प्रतिशत यातायात र सञ्चारमा लगानी छ। वाँकी ८.९५ प्रतिशत फाइनान्स, इन्स्योन्स्स लगानी रहेको छ। बैंकहरुको कुल लगानीमध्ये ७२ प्रतिशत सरकारी ऋणपत्र र २६ प्रतिशत सेयर तथा डिवेन्चरमा भएको छ। वाँकी २ प्रतिशत अन्य क्षेत्रमा छ। बैंकहरुले ऋण भनेर ग्राहक र लगानी भनेर सरकारी ऋणपत्र तथा सेयरमा पैसा लगाउँछन्।


बैंकहरुले सबैभन्दा बढी सम्पति (घरजग्गा) को धितोमा ऋण दिने गरेका छन्। ८४.५ प्रतिशत ऋण घरजग्गा तथा अचल धितोमा दिने गरेका छन्। यद्यपी घरजग्गा धितो राखेर ऋण लिने चलन भने विस्तारै कम हुँदै गएको प्रतिवेदनमा उल्लेख छ। ८४.९२ प्रतिशत घरजग्गा धितोमा ऋण दिइएको छ। यसअघि ८५.५५ प्रतिशत र यसको एक वर्षअघि ८५.९ प्रतिशत लगानी घरजग्गा धितो राखेर दिने गरिन्थ्यो।



अहिले सुनचाँदी धितो राखेर ऋण दिने क्रम बढेको छ। यद्यपी यसको हिस्सा भने धेरै छैन। सुनचाँदी धितोमा ३.४१ प्रतिशत ऋण दिइएको छ। यसअघि २.९६ प्रतिशत ऋण सुनचाँदी धितोमा दिने गरिएको थियो। पछिल्लो समय बैंकहरुले साना साना ऋणहरु सुन धितोमा दिनका लागि स्किम नै ल्याउन थालेका छन्।



राष्ट्र बैंक प्रतिवदेन अनुसार अहिले सबैभन्दा बढी कर्जा 'माग र चालु पुँजी' का लागि जाने गरेको छ। यस्तो ऋणको हिस्सा २४.९६ प्रतिशत छ। यसपछि ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको हिस्सा १७.२६ प्रतिशत रहेको छ। १४.०१ प्रतिशत ऋण आवधिक (टर्म) ऋण जाने गरेको छ। रियलस्टेटका लागि जम्मा ११.१९ प्रतिशत ऋण गएको छ। सेयर खरिद गर्नका लागि बैंकहरुले ५.१४ प्रतिशत ऋण दिएका छन्।



वाणिज्य बैंकहरुको खरवा कर्जा १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यसमध्ये राष्ट्रिय वाणिज्य र नेपाल बैंकको मात्र ७ अर्ब ४८ करोड रुपैयाँ खराव ऋण छ। बाँकी खराब कर्जा (९ अर्ब १२ करोड) ३० वटा वाणिज्य बैंकको हो।

No comments:

Post a Comment

thanks for comment