ग्लोबल आइएमइ–सोसियल डेभलपमेन्ट बैंक मर्जरमा


  • राष्ट्र बैंकसँग स्वीकृति माग, आज स्टकमा सेयर रोकिने
  • सोसियलको प्रति सेयर मूल्यांकन ४० रुपैयाँ
  • सञ्चालक समिति ग्लोबलकै


सुदर्शन सापकोटा
काठमाडौं, वैशाख ३१
ग्लोबल आइएमइ बैंकसँग 'ख' वर्गको सोसियल डेभलपमेन्ट बैंक गाभिने (मर्ज) भएको छ। असारभित्रै गाभिएर एकिकृत वासलात (व्यालेन्सिट) ल्याउने गरी दुवै संस्थाबीच सोमबार औपचारिक सम्झौता भएको छ। 
गत असारमा तीन वटा संस्था गाभिएर ग्लोबल आइएमइ बैंक बनेको थियो। गाभिएको वर्ष दिन नपुग्दै फेरी अर्को मर्ज हुन लागेको हो। मर्जरका लागि भएको सम्झौतापत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र्रप्रसाद ढकाल र सोसियलका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। 
दुवै संस्थाले मर्जरका लागि राष्ट्र बैंकलाई सोमबारै जानकारी गराइसकेका छन्। ग्लोबल आइएमइ बैंकको सेयर कारोबार मंगलबाबाट नेपाल स्टक एक्सचेन्जमा रोक्का हुने छ। सोसियलले साधारण सेयर जारि गरिसकेकेा छैन। मर्जरपछि सोसियलको भागमा पर्ने सेयर सर्वसाधारणमा जारि गर्नु पर्छ। 
'असारभित्रै मर्जरमा जाने गरी सम्झौता भएको छ,' ग्लोबल आइएमइका अध्यक्ष ढकालले सोमबार नागरिकसँग भने, 'राष्ट्र बैंकले चाँडै प्रकृया सकिदिन आग्रह गरेका छौं। त्यहाँबाट जतिसक्दो चाँडो स्वीकृति पाउँछौं उति चाँडो मर्जर हुन्छ।' उनले चालु आर्थिक वर्षको वासलात एकिृत ल्याउन योजना रहेको जानकारी दिए। 
दुवै संस्थाबीच  भएको सम्झौता अनुसार, मर्जरपछि बैंकको सञ्चालक समितिमा सबै सदस्य ग्लोबल आइएमइबाट हुने छन्। प्रमुख कार्यकारी अधिकृत, नयाव प्रमुख कार्यकारी अधिकृतहरु पनि ग्लोबल आइएमइ बैंककै हुने छन्। सोसियलका प्रमुख कार्यकारीलगायत कर्मचारीहरुलाई आपसी समझदारीका आधारमा पद निर्धारण गरी जिम्मेवारी दिइने छ। 

दुवै संस्थाले मर्जरलाई अगाडि वढाउन चार सदस्यीय समिति बनाएका छन्। समितिमा दुई जना ग्लोबल आइएमइ र वाँकी दुई सोसियलका सञ्चालक छन्। स्रोतका अनुसार, सोसियलको प्रति सेयर मूल्यांकन ४० रुपैयाँ गरिने छ। सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) ले ठूलो अन्तर देखाए मात्र ४० रुपैयाँलाई पुर्नमूल्यांकन गरिने छ। 
'पुँजी क्षमता वृद्धि गर्ने योजना अनुसार मर्जरमा गएका हौं,' ढकालले भने। पुँजी वढाउन भनिएपनि नयाँ बैंकबाट यसका लागि खासै ठूलो योगदान भने पुग्दैन। सोसियल डेभलपमेन्टसँग ३८ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी छ। प्रति सेयर ४० रुपैयाँ मूल्यांकन गर्दा नयाँ बैंकमा सोसियलको १५ करोड ३० लाख रुपैयाँ पुँजी थपिने छ। अहिले ग्लोबल आइएमइसँग २ अर्ब २५ करोड २५ लाख रुपैयाँ पुँजी छ। मर्जरपछि नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब ४० करोड ५५ लाख रुपैयाँ पुँजी पुग्ने छ। 
एक वर्षअघि भएको मर्जरमा ग्लोबल बैंकको प्रति सेयर मूल्य १०५ रुपैयाँ मूल्यांकन गरिएको थियो। आइएमइ फाइनान्सियल इन्स्टिच्युसनको सेयर मूल्य एक सय रुपैयाँ र लर्डवुद्धलाई ७० रुपैयाँ मूल्यांकन गरिएको थियो। मर्जरअघि ग्लोबलको चुक्ता पुँजी १ अर्ब ६० करोड, आइएमइको ३६ करोड र लर्ड बुद्धको १८ करोड रुपैयाँ थियो। 
तीन वर्षदेखि सञ्चालनमा आएको सोसियल डेभलपमेन्ट बैंक गत पुसमा १ करोड १६ लाख रुपैयाँ घाटामा थियो। सेयर धितो र रियलस्टेटमा दिएको कर्जा नउठेका कारण बैंकको वित्तीय अवस्था राम्रो थिएन। बैंकले मर्जरका लागि प्रभु फाइनान्ससँग पनि कुरा गरेको थियो। वित्तीय अवस्था विग्रिएको र राष्ट्र बैंकले पनि मर्जरमा दवाव दिएका कारण सोसियल ग्लोबल आइएमइसँग मिसिन तयार भएको हो। 
ग्लोबल आइएमइ निजी क्षेत्रका बैंकमध्ये सबैभन्दा वढी शाखा सञ्जाल भएको वाणिज्य बैंक हो। बैंकका ६५ वटा शाखा कार्यालयहरु छन्। सोसियलसँग काठमाडौंस्थित कर्पोरेट कार्यालयसहित ३ वटा शाखा सञ्जाल छ। बैंकको धरान र चैनपुरमा शाखा छ। ग्लोबलको यि दुई ठाउँमा शाखा नभएका लागि दोहोरिने समस्या छैन। 
चैतसम्मको वित्तीय विवरण अनुसार, ग्लोबल आइएमइसँग ३० अर्ब ३३ करोड रुपैयाँ निक्षेप छ। बैंकले २४ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले चैतसम्म ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ। मर्जर लगत्तै गत  वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांस र ३ प्रतिशत वोनस सेयर दिएको थियो। 
चैतको विवरण सार्वजनिक गरिनसकेको सोसियल डेभलपमेन्ट बैंकसँग सर्वसाधारणको ५५ करोड ८० लाख रुपैयाँ निक्षेप छ। पुससम्मको विवरण अनुसार, बैंकले ४७ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले १० करोड ७० लाख रुपैयाँ रियलस्टेटमा लगानी गरेको छ। १० करोड ७१ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएको छ। बैंकको खराव कर्जा करिव ३३ प्रतिशत छ। 


No comments:

Post a Comment

thanks for comment