खासाबाट दैनिक ५० किलो सुन तस्करी, रेमिट्यान्स नेपाल नल्याइ उतै भुक्तानी


सुदर्शन सापकोटा
काठमाडौं, वैशाख २९
बैंकहरुले व्यापारीलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँछन्। व्यापारीका अनुसार, बजारमा दैनिक माग ४५ किलो छ। तैपनि ग्राहकले बजारमा सुन नपाएर रित्तो हात फर्कनु परेको छैन। 
यसको कारण हो– नेपालको मागलाई तिब्बत (चिन) को अवैधानिक सुनले धानिरहेको छ। 
पछिल्लो समय तिब्बतबाट दैनिक ५० किलो सुन नेपाल भित्रिरहेको छ। बैंकले विक्री गर्ने १५ किलो र तिब्बतबाट आएकोमध्ये ३० किलो सुन नेपालमा खपत हुन्छ। नेपालमा वढी भएको सुन भारतीय बजारमा सजिलै विक्री हुन्छ। 
भारतीय समाचार एजेन्सीहरुका अनुसार विहारको हजिपुरमा गत बिहीबार ७२ किलो सुन अवैध पक्राउ परेको थियो। यो सुन नेपालबाट गएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।  
'अहिले नेपालको अधिकांस सुनको माग खासा (चिन) ले धान्न थालेको छ,' नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले आइतबार नागरिकसँग भने, 'नेपालमा माग ४५ किलोभन्दा वढी छ, आपुर्ति जम्मा १५ किलो। अपुग सुनको माग खासाले पुर्ति गरिरहेको छ।'
नेपालको भन्दा चीनमा सुनको मूल्य प्रति १० ग्राम २ सय ६० रुपैयाँ महँगो छ। प्रति १० ग्राम साढे ५३ हजार रुपैयाँको हाराहारीमा पुगेको सुनको मूल्य विस्तारै घट्न थालेपछि नेपालमा यसको माग वढ्दै गएको छ। विवाहको मौसम सुरु भएको र चाडपर्वहरु नजिकिँदै गरेका कारण पनि सुनमा लगानी वढिरहेको। माग वढिरहेको तर बैंकहरुले उपलब्ध गराउने सुनले स्थानीय माग नधान्ने भएका कारण चीनको महँगो सुन नेपाल भित्रिएको हो। 
सुन भित्राउन पहिलेजस्तो नेपालबाट नगद भुक्तानी गर्नु पर्दैन। तस्करहरुले यसको वेग्लै …च्यानल' बनाइ सकेका छन्। बजारमा अमेरिकी डलर सहजै उपलब्ध हुन छाडेपछि व्यवसायीहरुले भुक्तानीका लागि नयाँ उपाय अपनाउन थालेका छन्। 

व्यवसायीहरुले भुक्तानीका लागि वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाउने पैसा (रेमिट्यान्स) नेपाल नभित्राइ सोझै सुन विक्रेता (खासाका व्यापारी) लाई दिन्छन्। स्थानीय एजेन्टले कामदारका आफन्तलाई यहाँ नेपाली रुपैयाँमा भुक्तानी गर्छन्। यसो गर्दा सुन तस्करी गर्नेहरुले नेपालमा अमेरिकी डलरको जोहो गरिरहनु पर्दैन नै भुक्तानीका लागि जोखिम पनि उठाउनु पर्दैन। पछिल्लो समय हुन्डीबाट चीनको व्यापार वढ्न थालेका कारण पनि नेपालमा  भित्रिने रेमिट्यान्सको वृद्धि दर कम देखिन थालेको छ। 
'अहिले चीनबाट हुने अधिकांस ब्यापार हुन्डीको माध्यमबाट हुने गरेको छ,' सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले भने, 'नेपाल आउने रेमिट्यान्सको रकमले व्यापारीले वाहिर किन्ने सामानको भुक्तानीमा प्रयोग हुन्छ। नेपालमा स्थानीय एजेन्टले परिवारका सदस्यलाई पैसा दिन्छ।' पछिल्लो समय चीनतिर हुन्डी कारोबार वढ्न थालेको उनले  जानकारी दिए। 
एक वर्षअघि नेपालमा भन्दा चीनमा सुनको मूल्य प्रति दश ग्राम करिव २ हजार रुपैयाँ सस्तो थियो। सस्तो भएका कारण नेपालमा बैंकको सुन विक्री हुनै छाडेको थियो। तीन महिनायता सुनको मूल्य घट्दै गएको र विहेवारीका कारण बैंकले दिने सुनले माग धान्न छाडेकाले चीनको महँगो सुन नेपाल तस्करी हुन थालेको व्यापारीहरु बताउँछन्। 
तस्करहरुले भुक्तानीका लागि रेमिट्यान्सको प्रयोग गर्न थालेपनि सुन भित्राउने …सिस्टम' भने परिवर्तन गरेका छैनन्। तस्करहरुले चिनको सुन स्थानीय बासिन्दालाई प्रयोग गरेर नेपाल छिराउ“छन्। स्थानीयले प्रति किलो सुन नेपाल छिराए वापत २० हजार रुपैया“सम्म पारिश्रमिक वुझ्ने गरेको स्रोतले जानकारी दियो। एक खेपमा स्थानीयले १० किलो सुन नेपाल भित्राएर २ लाख रुपैया“ कमाउने गरेका छन्। 
चिनबाट नेपाल भित्राउन लाग्ने खर्चको भार पनि उपभोक्तालाई नै भुक्तान गर्न लागाइन्छ। चिनियाँ सुन नेपालमा भन्दा प्रति दश ग्राम २ सय ६० रुपैयाँ महँगो पर्छ। यसमा नेपाल भित्राउने शुल्क जोडिएको छैन। स्थानीय व्यवसायीहरुले तोकिएको मूल्यभन्दा वढी दिन उपभोक्ता तयार भए मात्र सुन विक्री गर्छन्। विवाहको मौसम भएका कारण उपभोक्ताले सुनहरुको तोकिएको मूल्यभन्दा वढी तिरेर किनिरहेका छन्। 
व्यवसायीले गहनाको सुनभन्दा काँचो (ढिक्का) को मूल्य अझ वढी राखेका छन्। व्यवासयीहरुले गहनाको भन्दा काँचो सुनमा ४ हजार वढी मूल्य असुलिरहेको स्रोतले जानकारी दियो। 
स्रोतका अनुसार, ढिक्का सुनमा मिसावट (जति) नहुने भएका कारण यसको मूल्य वढि लिइन्छ। तर गहनामा जर्ति वढी प्रयोग गरिएकाले यसको मूल्य काँचोभन्दा सस्तो पर्छ। जबकी व्यवसायीहरुको संगठन महासंघले शुद्ध (ढिक्का) सुनको मूल्य तोक्ने गर्छ। 
…व्यवसायीले गहनामा प्रयोग गरेको जर्तिको मूल्य पनि सुनको बराबर नै असुल्ने भएकाले गहना सुनको मूल्य काँचोभन्दा कम लिने गरिएको हो,' एक व्यवसायीले भने, …चिनबाट ल्याइएको सुन महँगो पर्ने भएका कारण व्यवसायीले ढिक्का सुनमा वढी असुल्छन्।'  उनका अनुसार, त्यही भएर जर्ति वढि प्रयोग गरिने गहना सुनको मूल्य महासंघले तोके बराबर हुन्छ, ढिक्काको महँगो पर्न जान्छ।

No comments:

Post a Comment

thanks for comment