कुल नाफामा ५ बैंकको ४३ प्रतिशत हिस्सा


मङ्गलबार ७ जेष्ठ, २०७०
गत आर्थिक वर्ष घट्दो अवस्थामा रहेको वाणिज्य बैंकहरुको नाफा चालु वर्षमा भने उच्च दरले बढिरहेको छ। समस्यामा परेका ऋणहरु विस्तारै उठ्न थालेको र ब्याज दरमा फराकिलो अन्तर (स्प्रेड) ले वाणिज्य बैंकहरुको नाफा बढेको हो। चालु आर्थिक वर्षको चैत मसान्तमा मात्रै बैंकहरुको नाफा ४५ प्रतिशतले बढेको छ। गत पुसमा नाफाको वृद्धि दर ५० प्रतिशत थियो भने असोजमा ४१ प्रतिशत। सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकले चैतसम्म १२ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएका छन्।


नाफा वृद्धिमा सबैभन्दा बढी योगदान निजी क्षेत्रका ५ वटा बैंकको छ। नबिल, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकको कुल नाफा ५ अर्ब ४८ करोड रुपैयाँ छ। यो ३२ वाणिज्य बैंकले चैत मसान्तसम्म गरेको कुल नाफाको ४२.४८ प्रतिशत हो। यी बैंकहरुको नाफा समस्यामा परेको ऋण उठेको, फराकिलो स्प्रेड दर र शुल्क, कमिसन तथा छुट आम्दानीका कारण वृद्धि भएको हो।

सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ। बैंकको नाफा १ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ पुगेको छ। बैंकले गत पुसमै नाफा १ अर्ब नघाएको थियो। यसपछि नेपाल इन्भेस्टमेन्ट बैंकले नाफा बढाएको छ। इन्भेस्टमेन्टको नाफा १ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। एभरेस्ट बैंकले १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ नाफा गरेको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि १ अर्ब ३ करोड २५ लाख रुपैयाँ नाफा गरेको छ।

निजी क्षेत्रका अर्को बैंक हिमालयनको नाफा ७१ करोड ८० लाख रुपैयाँ पुगेको छ। स्ट्यान्डर्ड चार्टर्डको गत वर्षको भन्दा नाफा वृद्धि दर घटेपनि ८४ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

...अझै पनि बैंकहरुको नोक्सानी व्यवस्थाको रकम (प्रोभिजनिङ) उच्च नै छ, प्रोभिजनिङ घट्न थालेपछि नाफा अझ बढ्ने छ,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नागरिकसँग भने, ...बैंकहरुले यसपाली ऋण लगानी वृद्धि गरेका कारण पनि आम्दानी बढेको हो।'

नाफा वृद्धिमा सबैभन्दा बढी योगदान ब्याज आम्दानीको रहेको छ। पाँच ठूला बैंकमध्ये ब्याज आम्दानीमा बढी निर्भर एभरेस्ट बैंक छ। बैंकको कुल आम्दानीमा ब्याज आम्दानीको हिस्सा ८१.४ प्रतिशत छ। यसपछि नेपाल इन्भेस्टमेन्ट बैंकको निर्भरता ७८.१२ प्रतिशत रहेको छ। नबिल बैंकको पनि ७६.४९ प्रतिशत छ। स्ट्यान्डर्ड चार्टर्ड र हिमालयनको ७० प्रतिशतको हाराहारीमा छ। यी बैंकले बाँकी आम्दानी भने कमिसन, छुट र शुल्कबाट गरेका छन्। ब्याज आम्दानी ऋण लगानी गरेपछि मात्र हुने भएकाले यसमा जोखिम बढी हुन्छ। कार्ड कारोबार, बैंक ग्यारेन्टी (प्रत्याभूति), अन्य सेवा बिक्रीबाट शुल्क तथा कमिसन आम्दानी हुन्छ। यस्तो आम्दानीमा जोखिम कम हुन्छ।

निजी क्षेत्रका पाँच ठूला बैंकमध्ये सबैभन्दा बढी निक्षेप नेपाल इन्भेस्टमेन्ट बैंकसँग छ। इन्भेस्टमेन्टले ५८ अर्ब ५२ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यसपछि नबिलले ५७ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ। एभरेस्टको ५१ अर्ब २९ लाख, हिमालयनको ४७ अर्ब ९१ लाख र स्ट्यान्डर्ड चार्टर्डको ३८ अर्ब २५ लाख रुपैयाँ निक्षेप छ। कर्जा विस्तारमा पनि इन्भेस्टमेन्ट बैंक अगाडि छ

No comments:

Post a Comment

thanks for comment