बैंकले निक्षेप र कर्जाको ब्याज वढाउन थाले


सुदर्शन सापकोटा
काठमाडौं, वैशाख १८
लगानी योग्य पुँजी (तरलता) अभाव हुन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुलेे धमाधम निक्षेपको ब्याज वढाउन थालेका छन्। केही बैंकले ऋणको ब्याज पनि वृद्धि गरिसकेका छन्। 
बैंकहरुले निक्षेपको ब्याज ३ प्रतिशत विन्दु र कर्जाको १ प्रतिशत विन्दुले वढाएका छन्। निक्षेपको ब्याज वढ्दा उपभोक्तालाई फाइदा हुन्छ भने कर्जाको व्याज वढ्दा बैंकबा सापटी लिएर काम गर्नेहरुको आर्थिक भार वढेर जान्छ। 
'तरलता अभावले निक्षेप र कर्जा दुवैको ब्याज दर वृद्धि भइरहेको छ,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बुधबार नागरिकसँग भने, 'नयाँ बजेट आएपछि र आउँदो वर्ष निर्वाचन हुने भए तरलता सहज भएर व्याज दर घट्ने छ।'
आर्थिक वर्ष सकिन लाग्दा पनि सरकारी विकास खर्च नवढेको, चैतमा कर वापत ठूलो रकम सरकारी खातामा जम्मा भएको कारणले बजारमा  तरलता अभाव चर्किएर गएको छ। अभावका कारण बैंकहरुको कर्जा–निक्षेप अनुपातसमेत वढ्न थालेपछि यसलाई सहज गर्न व्याज दर वृद्धि  गरिएको हो। 
'अहिले बैंकमा पैसा राख्नेले राम्रो लाभ उठाउन सक्छन्,' शाहले भने, 'ऋण लिने बेला भने अहिले होइन।' उनका अनुसार, बजेट आएपछि तरलता सहज भएर ब्याज दर घट्छ। अहिले ऋणको ब्याज वढ्दो क्रममा रहेकाले बैंकबाट पैसा लिन ग्राहकले पर्खिदा राम्रो हुने जानकारी दिए। 
अहिले बैंकहरुसँग निक्षेप नै घट्न थालेको छ। पैसा घट्न थालेकाले त्यसलाई आकर्षित गर्न ब्याज वढाउनु परेको हो। बैंकहरुले स्किम नै ल्याएर ब्याज वृद्धि गर्न थालेका छन्। कर्जाको  व्याज वढ्न थालेकाले ऋण लिने क्रम बन्द भएको छ। दुई सातादेखि बैंकहरुले ऋण लगानी गर्न सकेका छैनन्। 
तीन सातादेखि बैंकहरुको निक्षेप क्रमशः घट्दै गएको छ। ९ सय २७ अर्ब रुपैयाँ पुगेको निक्षेप ९ सय २४ अर्ब हुँदै अहिले ९ सय १९ अर्बमा झरेको छ। कर्जा लगानी दुई सातादेखि ७ सय २३ अर्ब रुपैयाँमा सीमित भएको छ।  निक्षेप घट्ने र कर्जा यथावत रहेकाले बैंकहरुको कर्जा–निक्षेप अनुपात पनि ७८ प्रतिशत माथि पुगिसकेको छ। 

दुई साताअघिसम्म ८ प्रतिशत हाराहारीमा रहेको निक्षेपको ब्याज दर साढे १० प्रतिशत पुगिसकेको छ। बैंकहरुले सोमबार मात्र  नेपाल टेलिकममो २ अर्ब रुपैयाँ १०.५५ प्रतिशत ब्याज तिरेर लिएका छन्। साना निक्षेपकर्ताबाट पैसा जम्मा हुन समय लाग्ने भएकाले बैंकहरुले वढी व्याज तिरेर संस्थापक र ठूला निक्षेपकर्तालाई वढि व्याज दिइरहेका छन्। 
कृषि विकास बैंकले सर्वसाधारणलाई दिनेभन्दा एक प्रतिशत विन्दु वढीले संस्थागत निक्षेपकर्तालाई व्याज दिने जनाएको छ। बैंकले ठूला निक्षेपकर्तालाई साढे ८ प्रतिशत ब्याज दिने भएको छ।
बैंकहरुले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, गुठी संस्थानहरु, नेपाल टेलिकम, राष्ट्रिय विमा संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरीलगायतका ठूला निक्षेपकर्तालाई वढी ब्याज दिइरहेका छन्। राष्ट्र बैंक, बिमा समिति, बिमा कम्पनीहरु पनि ठूला निक्षेपकर्ता हुन्। 
बैंकहरुको १२/१३ प्रतिशतमा रहेको कर्जाको ब्याज दर क्रमशः १४/१५ प्रतिशत पुग्न थालेको छ। विकास बैंक तथा फाइनान्स कम्पनीहरुको भने अझ वढी छ। तीन वर्षअघिबाट वढ्न थालेको ब्याज दर गत वर्षदेखि घट्न थालेको थियो। गत वर्ष निक्षेपको ब्याज घटेर अधिकतम ६ प्रतिशत थियो। विशेष कर्जा योजनाहरुको ब्याज दर साढे नौं प्रतिशतसम्म झरेको थियो। 


No comments:

Post a Comment

thanks for comment