पुँजी वढाउने तयारीमा राष्ट्र बैंक


बैंक तथा वित्तीय संस्थाको 
दीगोपनाका लागि अहिलेको 
पुँजीको ५ गुणासम्म वृद्धि गर्नु 
पर्ने आवश्यकता भइसकेको छ। 
अब पुँजी वृद्धि गर्नुको विकल्प छैन 
..................
भास्करमणि ज्ञवाली
 प्रवक्ता  
राष्ट्र बैंक
सुदर्शन सापकोटा
काठमाडौं, वैशाख २५
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी वृद्धि गर्ने भएको छ। अहिलेकै पुँजी आधारमा संस्थाहरु वलियो हुन नसक्ने र लगानी विस्तारमा पनि समस्या आउने भन्दै राष्ट्र बैंकले पुँजी वृद्धि तयारी गरेको हो। 
'बैंकहरुले पुँजीको आधार बलियो बनाउँदै लैजानु पर्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि   ज्ञवालीले बुधबार नागरिकसँग भने, 'बैंक तथा वित्तीय संस्थाको दीगोपनाका लागि अहिलेको पुँजीको ५ गुणासम्म वृद्धि गर्नु पर्ने आवश्यकता भइसकेको छ। पुँजी वढाउनुको विकल्प छैन।'
बैंक तथा वित्तीय संस्थासँग पुँजी अभाव हुँदै गएपछि उनीहरुको लगानी क्षमतासमेत घटेको छ। पुँजी कम भएकै कारणले लगानी विस्तार गर्न केही बैंकहरुले ऋणपत्र जारी गरिरहेका छन्। पछिल्लो समय जोखिम वढ्दै गएकाले यसलाई न्यूनीकरण गर्न पनि वलियो पुँजी चाहिने भन्दै राष्ट्र बैंकले बढाउने तयारी गरेको हो।
नेपाल राष्ट्र बैंकले यसअघि २०६३ को मौद्रिक नीतिमार्फत पुँजी वृद्धि गर्ने योजना ल्याएको थियो। यो योजना अनुसार सबै वाणिज्य बैंकहरुले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्‍याइ सकेका छन्। केही वित्तीय संस्थाहरुले पुँजी वृद्धिका लाग मर्जर प्रकृया अगाडि वढाएका छन्। केही संस्थाको मर्जर पनि भइसकेको छ। 

राष्ट्र बैंंकले पुँजी बजारलाई प्रभावित नपार्ने गरी पुँजी वृद्धि योजना ल्याउने तयारी गरेको छ। २०६३ मा पुँजी वृद्धि योजना ल्याउँदा सेयर बजारले अस्वभाविक वढ्दो गति समातेर पछि समस्या परेको थियो। त्यसको असरले अहिलेसम्म पनि बजार राम्रोसँग उठ्न सकेको छैन। 
राष्ट्र बैंकले बजार प्रभावित नहुने गरी पुँजी वृद्धि योजना ल्याउने विकल्पहरुमा छलफल गरिरहेको स्रोतले जानकारी दियो। 'सेयर बजारमा प्रत्यक्ष प्रभाव नपर्ने गरी पुँजी वृद्धि योजना ल्याउने प्रयास हुन्छ,' स्रोतले भन्यो, 'यसका लागि राष्ट्र बैंकमा चौतर्फी छलफल तथा परामर्श भइरहेको छ।'
राष्ट्र बैंकले पुँजी वृद्धिका लागि मर्जरलाई उत्कृष्ठ विकल्पका रुपमा लिएको छ। धेरैभन्दा धेरै संस्था मर्जर हुँदा लगानीकर्ताले थप पैसा लगाइ कम्पनीको पुँजी वढाउन सकिन्छ। यसले गर्दा संस्थाको संख्या घटेर राष्ट्र बैंकलाई नियमन गर्न पनि सजिलो हुने विश्लेषण त्यहाँका अधिकारीहरुको छ। 
'उदारवादी लाइसेन्स नीति लिँदा धेरै संस्था जन्मिए। बैंकिङ पहुँच वढाउनका लागि यस्तो नीति लिइए पनि उद्देश्य पुरा हुन सकेन,' ती अधिकारीले भने, 'अहिलेको समयमा संस्था गाभिएर पुँजी वृद्धि हुँदा जोखिम पनि घट्ने र पहुँच विस्तार गर्न सहज हुनेछ।' उनका अनुसार, सञ्चाल विस्तार गर्न पनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पुँजीको अभाव देखिन थालेको छ। 
'पुँजी वढी भएको संस्थाले जोखिमहरुलाई सहजै पचाएर अगाडि वढ्न सक्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, …अहिले पुँजी कम भएको छ। यसले जोखिम वढ्ने खतरा छ।' राष्ट्र बैंकले चुक्ता पुँजी यतिउति हुनु पर्ने भन्ने टुङ्गो गरिसकेको भने छैन। तर अहिलेको पुँजीभन्दा ५ गुणासम्म पुर्‍याउन आवश्यक भइसकेको भन्ने निष्कर्षमा भने पुगिसकेको छ।
अहिले  वाणिज्य बैंकहरुको २ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकहरुको ६४ करोड र फाइनान्स कम्पनीहरुको पुँजी २० करोड तोकिएको छ। पाँच गुणा पुर्‍याउनु पर्ने व्यवस्था गरिए बैंकहरुको पुँजी १० अर्ब पुग्ने छ। विकास बैंकको ३ अर्ब २० करोड र फाइनान्स कम्पनीहरुको १ अर्ब पुँजी पुग्ने छ। 
राष्ट्र बैंकले मर्जरलाई दवाव दिनका लागि पनि पुँजी वृद्धि योजना अगाडि वढाउन लागेकेा हो। आफूले ल्याएको मर्जर नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरु उतिसारो गाभिनतिर नलागेको हुनाले पनि पुँजी वृद्धिको  व्यवस्थापछि यसमा दवाव दिन खोजिएको हो। बैंक तथा वित्तीय संस्थालाई वाध्यात्मक मर्जरमा लैजान पुँजी वृद्धि योजना अगाडि सार्नु पर्ने सुझाव अन्तर्राष्ट्रिय मुद्रा कोषले दिँदै आएको छ। 

No comments:

Post a Comment

thanks for comment