नेपाल बैंकको हकप्रद जेठ ९ बाट


काठमाडौं, वैशाख २३ 
नेपाल बैंक लिमिटेडले जेठ ९ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकले एक सय रुपैयाँ कित्ता अंकित दरका ३ करोड ६१ लाख ९६ हजार १ सय ७४ कित्ता सेयर निस्कासन गर्ने भएको हो। 
बैंकले आफ्ना सेयरधनीका लागि  प्रति एक बराबर ९.५ को अनुपातमा हकप्रद जारि गर्न लागेको हो। सेयर विक्री खुला १२ गतेसम्म रहने छ। हकप्रद सेयरमार्फत बैंकको पूँजी कोषमा ३ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ थपिने छ। सेयर जारिपछि चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्ने छ। 
सरकारले बैंकलाई आफ्नो हिस्सा वापतको रकम उपलब्ध गराइसकेको छ। बैकमा सरकारको ३८.६० प्रतिशत सेयर स्वामित्व छ। सर्बसाधारण, संगठित संस्था तथा कर्मचारहरुको ६१.४० प्रतिशत सेयर हिस्सा रहेको छ। बैंकले सेयर वितरणका लागि धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सह–बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। बैंकले आफ्ना कार्यालयहरु मार्फत आबेदन दिनसक्ने व्यवस्थासमेत मिलाएको छ। बैंकले बुक क्लोज २६ गते गर्दैछ। 
बैंकले हकप्रद सेयर निस्कास गर्न ९ वर्षपछि आफ्नो सेयर पुनः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत गरिसकेको छ। बैंकको ३८ लाख ३ हजार ८ सय २६ कित्ता सेयर सुचीकृत छ। बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३४ अर्ब ५० करोड ऋण लगानी गरी ५६ अर्ब निक्षेप संकलन गरेका छ। बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीलाई लाभांस ख्वाउने योजना बनाएको छ।

नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सुचीकरण खारेज भएको थियो। बैंकले गत असोज २५ गते नेप्सेमा ओभर द काउन्टर (ओटिसी) किनबेचका लागि सेयर दर्ता गराएको थियो। नेप्सेमा पनि पहिलो पटक नेपाल बैंककै सेयरमार्फत ओटिसी कारोबार भएको थियो। 
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न उपलब्ध  गराएको पैसा हकप्रद निस्कासनपछि  मात्रै पुँजीमा देखाउन पाइन्छ। बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। ७६ वर्ष पुरानो बैंकको वित्तीय अवस्था खराव भएपछि विश्व बैंकको ऋण लिएर सुधार प्रकृया थालिएको थियो। सरकार र सर्वासाधारणले पुँजी लगानी गरेपछि बैंकको अवस्था सुधि्रने छ। 
सुधार प्रकृया सकेर विदेशी समूह फर्किएपछि अहिले बैंकको व्यवस्थान राष्ट्र बैंकले हेरिरहेको छ। राष्ट्र बैंकले आगामी पुससम्म व्यवस्थापन हेर्ने गरि चैतमा करार नवीकरण गरेको छ। पुँजी वृद्धिसँगै गैरबैंकिङ सम्पति विक्री गरेपछि राष्ट्र बैंकले व्यवस्थापन छाड्ने योजना बनाएको छ। 
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने  तयारी गरेको छ। सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले यो घटेर ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक भएको छ। बैंकका १ सय १५ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन्। 

No comments:

Post a Comment

thanks for comment