तरलता अभाव झनै चर्कियो


सुदर्शन सापकोटा
काठमाडौं, वैशाख १७
ब्याज दर वृद्धि गर्दा पनि निक्षेप वढ्नुको साटो उल्टो घट्न थालेपछि बैंकिङ क्षेत्रमा तरलता (लगानी योग्य पुँजी) अभाव चर्किएको छ। तरलता अभाव चर्किएपछि दुई सातायता बैंकहरुले ऋण लगानी गरेका छैनन्।
'अहिले अभाव चर्किएर गएको छ, लगानी पनि नगरी वस्नु परेको अवस्था हो,' एक बैंकरले भने,'अन्तर बैंक सापटी पनि पाउन छाडेको छ। राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा लिएर काम चलाइरहेका छौं।'
तीन सातादेखि बैंकहरुको निक्षेप क्रमशः घट्दै गएको छ। ९ सय २७ अर्ब रुपैयाँ पुगेको निक्षेप ९ सय २४ अर्ब हुँदै अहिले ९ सय १९ अर्बमा झरेको छ। कर्जा लगानी दुई सातादेखि ७ सय २३ अर्ब रुपैयाँमा सीमित भएको छ। 
अभाव चर्किएका कारण बैंकहरुले अनिवार्य नगद अनुपात (सिआरआर) पुरा गर्न पनि स्थायी तरलता सुविधा लिनु परेको छ। राष्ट्र बैंकका अनुसार, ३२ वाणिज्य बैंकले सिआरआर पुरा गर्न ५५ अर्ब २ करोड रुपैयाँ राख्नु पर्छ। तर बैंकहरुले चैतसम्म जम्मा ४९ अर्ब ७६ करोड रुपैयाँ मात्र जम्मा सिआरआर वापत राष्ट्र बैंकमा जम्मा गरेका छन्। वाँकी पैसा स्थायी तरलता सुविधा लिएर व्यवस्थापन गरेका छन्। 
तरलता अभाव चर्किएका कारण मुस्किलले आधा दर्जन बैंकले मात्र अरु बैंकलाई सापटी दिन सकेका छन्। अहिले अधिकांस बैंकले सापटी माग गरिरहेपनि पैसा पाउन सकेका छैनन्। सापटीको  दर ३ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ। यो दर बाणिज्य बैंकबीचको हो। वित्तीय संस्थाहरुको दर अझ माथि ७.४३ प्रतिशत छ। 
बैंकहरुसँग पैसा नभएका कारण कारोबार रकम पनि उल्लेख्य घटेको छ। ४ अर्बसम्म पुगेकेा कारोबार रकम अहिले १ अर्ब ६५ करोडमा सीमित भएको छ। वित्तीय संस्थाको कारोबार रकम अझ घटेर ४० करोडमा झरेको छ। 

अहिले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, एभेष्ट बैंक, लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र माछापुच्छे्र बैंकले अन्तर बैंकमा सापटी दिइरहेका छन्। बाँकी अधिकांस बैंकले सापटी माग गरिरहेका छन्। 
सापटी सजिलै पाउन छाडेपछि बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा (एसएलएफ) पनि माग गरिरहेका छन्। अन्तर बैंकभन्दा स्थायी तरलता सुविधाको दर महँगो छ। स्थायी तरलता सुविधा प्रयोग गर्न बैंकहरुले ८ प्रतिशत ब्याज तिर्नु पर्छ। 
राष्ट्र बैंक स्रोतका अनुसार, बैंकहरुले दैनिक औषत ५० करोड रुपैयाँ एसएलएफ चलाइरहेका छन्। दैनिक २/३ वटा बैंकले एसएलएफ प्रयोग गरिरहेका छन्। अन्तर बैंकमा पैसा नपाइएपछि एसएलएफ वढी प्रयोग हुन्छ। एसएलएफ ऋणपत्र धितो राखेर राष्ट्र बैंकबाट तुरुन्त लिन सकिन्छ। 
बैंकहरुले तरलता अभाव लम्बिन थालेपछि धमाधम निक्षेपको  ब्याज बढाउन थालेका छन्। तीन दिनअघि मात्र सनराइज बैंकले १५ महिना बैंकमा पैसा राखे ९.५ प्रतिशत व्याज दिने निक्षेप योजना ल्याएको छ। सेञ्चुरीले सय दिन पैसा राखे ९ प्रतिशत ब्याज दिने योजना ल्याएको छ भने ग्लोबलले एक वर्षे मुद्दति निक्षेपको ब्याज ९ प्रतिशत पुर्‍याएको छ। 
बैंकहरुले संस्थागत र ठूला निक्षेपकर्तालाई अझ वढी ब्याज दिन थालेका छन्। नेपाल टेलिकमको २ अर्ब रुपैयाँ पैसा लिन सोमबार मात्र बैंकहरुल्े १०.५५ प्रतिशतसम्म ब्याज दिए। २ अर्बका लागि २० वटा बैंकले वोलकवोल गरेका थिए। २० बैंकले न्युनतम ९ प्रतिशत ब्याज दिने प्रस्ताव गरेका थिए। 
'६ महिनाअघि संस्थागत निक्षेपकर्तासँग बैंकहरुले ६ प्रतिशत पनि ब्याज तिरेर पैसा लिन मान्दैन थिए,' एक बैंकरले भने, '६ महिनापछि  साढे १० प्रतिश ब्याजमा पैसा लिनु पर्ने अवस्था आएको छ।' उनले बैंकहरुले ६ महिनापछिको तरलता रणनीति पनि बनाउन नसक्दा अहिले समस्या आएको बताए। 
सरकारी खर्च नभएको, बैंकहरुले निक्षेपको तुलनामा कर्जा वढी लगानी गरेकाजस्ता कारणले अभाव भएको हो। पछिल्लो चोटी नेपाल टेलिकमले नाफा वापत सरकारलाई करिव साढे तीन अर्ब रुपैयाँ बैंकबाट झिकेर लाभांस वुझाएका कारण पनि निक्षेप घटेर अभाव भएको हो। 

No comments:

Post a Comment

thanks for comment