निक्षेप लागत वढेपछि आधार दर वृद्धि


सुदर्शन सापकोटा
काठमाडौं, जेठ २
अधिकांस वाणिज्य बैंकहरुको आधार ब्याज दर तीन महिनामै वृद्धि भएको छ। लगानी योग्य पुँजी (तरलता) अभावका कारण निक्षेपको ब्याज वृद्धि  गर्दा लागत वढेर आधार दर वढेको हो। 
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आधार दर प्रकाशित गरेका २९ वाणिज्य बैंकमध्ये १६ वटा बैंकको आधार दर वढेको छ। एनएमबी र नेपाल इन्भेष्टमेन्ट बैंकको स्थिर छ। ११ वटा बैंकले भने तीन महिना अगाडिको भन्दा घटाएका छन्। 
'तरलता अभावले निक्षेपको ब्याज वृद्धि गरिएकाले लागत वढेर आधार दर वढेको हो,' बैंक बैंकरले बिहीबार नागरिकसँग भने, 'चैतपछि थप ब्याज वढेकाले आउँदो दिन आधार दर थप वढ्ने छ।' बैंकहरुले तरलता अभाव हुन थालेपछि ६ प्रतिशतमा रहेको निक्षेपको ब्याजलाई साढे १० प्रतिशत माथि पुर्‍याइ सकेका छन्। निक्षेपको ब्याज करिव ५.५ प्रतिशत विन्दुसम्मले वढेका कारण बैंकहरुको लागतमा उच्च वृद्धि आएको छ। लागत कटाएर  आधार दर तोकिने भएकाले आउँदो त्रैमासमा यो अझ वढ्ने छ। 
नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याज दर पारदर्शी बनाउनका लागि गत माघ १ गतेबाट आधार दर कार्यान्वयनमा ल्याएको थियो। आधार दर उपभोक्तालाई दिने ऋणको सन्दर्भ (रिफरेन्स) ब्याज दर हो। सामान्यतयाः आधार दर वढी भएका बैंकहरुमा ऋणको ब्याज महँगो हुन्छ।  
राष्ट्र बैंकले निक्षेपको लागत, अन्य खर्च कटाएर नाफाको हिस्सा जोडेपछि आधार दर निकाल्नु पर्ने व्यवस्था गरेको छ। आधार दरमा नाफासमेत जोडिएको हुनाले उपभोक्ताले मोलमोलाइ गरे यही दरको छेउछाउ ऋण पाउन सक्छन्। राष्ट्र बैंकले बैंकको व्याज दर महँगो भएको जनगुनासो व्यापक वढेपछि यसलाई पारदर्शी र समय सान्दर्भिक बनाउन आधार दर कार्यान्वयनमा ल्याएको हो। 
बैंकहरुले ग्राहकसँग उठाउने ब्याज आँफैले तोक्छन्। तर, आधार दरका बारेमा राष्ट्र बैंकले नियमित अनुगमन गर्ने भएकाले व्याज दर व्यापक परिवर्तन आउँद बैंकलाई सचेत गराउन सक्छ।  बैंकहरुले तोकेको आधार दरभन्दा ग्राहकसँग उठाउने ब्याज अन्तर भने उच्च छ। राष्ट्र बैंकले आधार दरको १/२ प्रतिशत माथि ब्याजमा ऋण लगानी गर्ने अपेक्षा गरेपनि बैंकहरुले निकै ठूलो अन्तरमा लगानी गरिरकेका छन्। यही अन्तरका कारण बैंकहरुको नाफा उच्च छ। 

बैंकहरुले निक्षेपमा दिनेभन्दा कर्जामा लिने ब्याज अन्तर (स्प्रेड) फराकिलो बनाएका कारण चैत मसान्तसम्म करिव ५० प्रतिशतको हाराहारीमा नाफा वृद्धि गरेका छन्। गत पुसमा पनि नाफा ५० प्रतिशतले वढेको थियो। गत असोजमा नाफाको वृद्धि दर ४१ प्रतिशत थियो। राष्ट्र बैंकले स्प्रेड दर नतोके पनि सामान्यतया तीन प्रतिशतको हाराहारीमा हुनु पर्ने जनाएको छ।
सबैभन्दा वढी आधार दर सेन्चुरी कमर्सियल बैंकको छ । बैंकको आधार दर ११. ४९ प्रतिशत छ। यसपछि कमर्ज एन्ड ट्रस्ट बैंकको ११.४५ प्रतिशत पुगेको छ। कृÈि विकास बैंक, नेपाल बंगलादेश बैंक, जनता बैंक, लुम्बिनी बैंक, सिद्धार्थ बैंक, सनराइज बैंकलगायतको आधार दर पनि उच्च छ। यि बैंकले गत पुसमा सार्वजनिक गरेको आधार दरभन्दा यसपाली थप वढाएका छन्। 
मेगा बैंक, ग्लोबल आइएमइ, नेपाल बैंक लिमिटेड, सिटिजन्स् बैंक इन्टरनेशनल, नेपाल एसबिआइ र बैंक अफ काठमाण्डूले पनि आधार दर वढाएका छन्। आधार दर सानिमा, प्राइम कमसिर्यल, ग्रान्ड बैंक नेपाल, एनसिसी, लक्ष्मी, एनआइसी, नबिल, एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्डलगायत ११ बैंकले घटाएका छन्। 

No comments:

Post a Comment

thanks for comment