वर्ल्ड मर्चेन्ट समस्याग्रस्त घोषणा


काठमाडौं, वैशाख १५
नेपाल राष्ट्र बैंकले वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ। मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यालय रहेको फाइनान्सले समानुपातिक चुक्ता पँुजी कायम गर्न नसकेको र पुँजी कोष ऋणात्मक भएपछि समस्याग्रस्त घोषणा गरिएको हो। 
राष्ट्र बैंकका अनुसार, कम्पनीको पुँजी कोष ४२.०६ प्रतिशतले ऋणात्मक छ। कम्पनीले कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो। कम्पनीको वित्तीय अवस्था दुई वर्षदेखि नै खराव थियो। अन्य संस्थाहरुलाई कारवाही गरेपनि राष्ट्र बैंकले वर्ल्ड मर्चेन्टलाई कारवाही गर्न आलटाल गर्दै आएको थियो। 
वर्ल्ड मर्चेन्टले राष्ट्र बैंकलाई गलत विवरण प्रस्तुत गर्ने गरेको थियो। वर्षौदेखि राष्ट्र बैंकको निर्देशन विरुद्ध गएर फाइनान्सले एकल ग्राहक कर्जा सीमा नाघेर कर्जा प्रवाह गर्दै आएको थियो। 'लामो समयदेखि वर्ल्ड मर्चेन्टका गल्तीहरुलाई माथिल्लो व्यवस्थापनले आँखा चिम्लिदिएको थियो,' राष्ट्र बैंकका एक अधिकृतले भने, 'संस्था नसुधि्रने पक्का भएपछि अहिले कारवाही गरिको हो।' उनका अनुसार, संस्थालाई कारवाही नगर्दा राष्ट्र बैंकलाई अप्ठेरो पर्ने अवस्था आइसकेको थियो।
कम्पनीको निस्कृय कर्जा पुस मसान्तमा ७५.७६ प्रतिशत पुगिसकेको छ। कतिपय कर्जा प्रवाह गर्दा कर्जा सुरक्षण वापत लिइने धितो रोक्का तथा दृष्टिबन्धकसमेत नगरेको फेला परेको छ। राष्ट्र बैंकले कारवाही गर्नु पूर्व तयार पारेको प्रतिवेदनमा संस्थामा उच्च संचालन जोखिममा रहेको, आन्तरिक नियन्त्रण प्रणाली अत्यन्त कमजोर रहेको, संस्थागत सुशासन कायम हुन नसकेको उल्लेख छ।
'वर्ल्ड मर्चेन्टले विगत निरीक्षणका क्रममा देखिएका कैफियतका आधारमा दिएका निर्देशनहरु पालना गरेको भेटिएन,' ती अधिकारीले भने,'एकै ड्याङका संस्थाहरु कारवाहीमा पर्दा पनि यो उम्किरहेको थियो। निर्देशन पनि मान्न छाडेकाले अहिले कारवाहीमा परेको हो।' 

राष्ट्र बैंकका अनुसार, स्थापनादेखि अध्यक्ष रही आएका संस्थाका अध्यक्षले अप्रत्यक्ष रुपमा संस्थाबाटै कर्जा उपयोग गरेकोसमेत भेटिएको छ। संस्थाले लामो समयदेखि अनिवार्य नगद मौज्दात (सिआआर) र बैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेको राष्ट्र बैंकले जनाएको छ। 
'निर्देशन बमोजिम विपन्न वर्ग कर्जा प्रवाह गर्न नसकेको तथा त्यो नगरेबापत जरिवाना र हर्जाना रकम पनि जम्मा गर्न सकेको थिएन,' कारवाही गर्नु पर्ने कारणहरु खुलाउँदै राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ, 'तरलता जोखिम उच्च रहेको छ।' राष्ट्र बैंकका अनुसार, संस्थाको स्रोत परिचालनमा कुल कर्जा सापटको अंश १७६.९ प्रतिशत रहेको छ। 
'समयमै आवश्यक कारवाही नगरेमा वित्तीय प्रणालीमै नकारात्मक सन्देश प्रवाह हुने संभावना रहेको तथा संस्थामा अविछिन्न उत्तराधिकारको संभावना नदेखिएको अवस्था छ,' कारवाही विवरणमा छ, 'अहिलेकै अवस्थामा संस्था संचालन गर्न दिएमा सर्वसाधारणको निक्षेप जोखिममा पर्ने, लगानीकर्ताको पुँजी थप क्षय हुने देखिएकाले समस्याग्रस्त घोषणा गरिएको छ।' 
राष्ट्र बैंकले संस्था सुधारका लागि सञ्चालक समितिलाई ६ महिनाको समय दिएको छ। राष्ट्र बैंकले ६ महिनाभित्र पुँजी कोष ११ प्रतिशत कायम गर्न निर्देशन दिँदै निक्षेप संकलन र नवीकरणमा रोक लगाएको छ।  उसले थप कर्जा तथा जमानत प्रदान नगर्न, भाका (म्याद) पुगेका तथा फिर्ता भुक्तानी गर्नु पर्ने निक्षेप फिर्ता गर्नसमेत निर्देशन दिएको छ। तर २ लाखभन्दा माथिको निक्षेप भुक्तानी गर्न भने राष्ट्र बैंकको स्वीकृति अनिवार्य गरिएको छ। 
राष्ट्र बैंकले वर्ल्ड मर्चेन्टलाइ नयाँ शाखा नखोल्न, स्थिर सम्पत्ति खरिद तथा बिक्री नगर्न, संचालकको भत्ता तथा सुविधा र कर्मचारीको तलब भत्तालगायत अन्य आर्थिक सुविधा बृद्धि नगर्नसमेत निर्देशन दिएको छ। नयाँ कर्मचारी भर्ना तथा बढुवामा रोक लगाउँदै खराव कर्जाको अनुपात ५ प्रतिशतभन्दा तल झार्न निर्देशन दिइएको छ। 

No comments:

Post a Comment

thanks for comment