बैंकर र व्यवसायी छुट्टिनु पर्छ : गभर्नर


काठमाडौं, वैशाख १४
नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले आगामी तीन वर्षभित्र बैंकर र व्यवसायी छुट्टिने प्रकृयाले आकार लिने बताएका छन्। उनले बैंकर र व्यवसायी एउटै व्यक्ति हुँदा सुशासनमा समस्या आउने भन्दै यसलाई मध्यकालिन नीतिमार्फत शंवोधन गरिने बताए।
'अर्को वर्ष नै बैंकर व्यवसायी छुट्टिने भन्ने हुँदैन,' राष्ट्र बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रममा गभर्नरले भने, 'तीन वर्षभित्र छट्टिने स्वरुप तयार हुन्छ।' उनले विगतमा बैंक तथा वित्तीय संस्थाहरुलाई सञ्चालन स्वीकृति दिँदा असावधानि अपनाइएकाले बैंकर र व्यवसायी एउटै भएको बताए।
खतिवडाले गभर्नरमा नियुक्त हुँदादेखि नै बैंकर र व्यवसायी एउटै हुन नहुने बताउँदै आएका छन्। अघिल्लो साता एक कार्यक्रममा पनि उनले व्यवसायीले बैंक र अन्य व्यवसायमध्ये एक रोज्नु पर्ने बताएका थिए।
'आगामी दिनमा नयाँ बैंकहरुलाई सञ्चालन स्वीकृति दिँदा व्यवसायी र बैंकर छुट्याएर दिइन्छ,' उनले भने, 'बैंकरले बैंक चलाउने भने, व्यवसायीले होइन।' गभर्नरले मर्जरमा पनि व्यवसायी र बैंकरबीच फरक गरिने बताए। 
गभर्नरले अधिक र न्यून तरलताको चक्रबाट वाहिर निस्कनु पर्ने बताए। उनले एकैचोटी अधिक तरलता हुने र त्यसैगरी तरलता न्यून भएर जाँदा अर्थतन्त्रमै समस्या पर्ने बताए। 'यो चक्रबाट वाहिर निस्कन बैंक व्याज दर पारदर्शी र उपयुक्त हुन आवश्यक छ,' उनले भने, 'यसका लागि आधार दरलाई आत्मसाथ गर्नु पर्छ। 
अहिले बैंकहरुको आधार दर औषत साढे नौं प्रतिशत छ। तर बैंकहरुले भने १३ प्रतिशतभन्दा माथि लगानी गरिरहेका छन्। 

गभर्नर खतिवडाले असारमा सरकारी खर्च बढेर अधिक भएको तरलतालाई बैंकहरुले लगानी गरेर सही ठाउँमा ल्याएको बतए। उनले पछिल्लो तथ्यांकमा निक्षेपको तुलनामा कर्जा वृद्धि दर वढी देखिए पनि अधिक भएको तरलतालाई लगानी गरेर बैंकले सही ठाउँमा ल्याएको तर्क दिए। 
पछिल्लो समय निक्षेप १८ प्रतिशतले वढ्दा कर्जा १९ प्रतिशतले वृद्धि भएको छ। गभर्नरले कर्जा विस्तार केही वृद्धि भएपनि कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्रै रहेको जानकारी दिए। राष्ट्र बैंकले यस्तो अनुपात ८० प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको खराव कर्जा पनि ८ प्रतिशतभन्दा तल रहेको जनाएको छ। यो ५ प्रतिशतभन्दा तल हुनु पर्ने व्यवस्था छ।
गभर्नरले वित्तीय सुधारको कार्यक्रम अगाडि वढाउन राष्ट्र बैंकले आफ्नै 'प्याकेज' अगाडि सारेको बताए। उनले सुधार प्रकृयामा दातृ निकायहरु हाम्रै प्याकेजमा मान्न थालेको भन्दै यसबाट अपेक्षित नतिजा निस्कने बताए। 
सन् २००२ मा वित्तीय क्षेत्र सुधार कार्यक्रम विश्व बैंकलगायतका निकायहरुको एकलौटी इच्छामा चलेकोतर्फ इङ्गीत गर्दै गभर्नरले नेपालका अनुकुलमा यस्ता कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्। 'हाम्रो प्याकेजमा अहिले दातृ निकाय आउन थालेका छन्,' उनले भने, 'उनीहरुको प्याकेजमा अब हामी हिँड्दैनौं।' 
गभर्नरले मौद्रिक नीतिको मध्यावधि समिक्षामार्फत आफैले प्रक्षेपण गरेको साढे नौं प्रतिशतको मूल्य वृद्धि लक्ष्यलाई वढाएका छन्। उनले यसापाली दोहोरो अंकमा मूल्य वृद्धि पुग्ने बताए। 'छिमेकी देशहरुमा मूल्य वृद्धि कम हुँदै गएको छ, यसको असर नेपालमा पर्‍यो भने केही घट्छ,' उनले भने, 'नभए दोहोरो अंकमा मूल्य वृद्धि रहने छ।' उनले राष्ट्र बैंकका मौद्रिक औजारबाट मात्रै मूल्य वृद्धि नियन्त्रणमा नआउने बताए।
गभर्नरले बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सञ्चालन गर्न नियमन तथा सुपरिवेक्षणका कामलाई तिव्रता दिएको बताए। उनले फागुनसम्म २१ वाणिज्य बैंक, ८४ किवास बैंक र ३८ फाइनान्स कम्पनीको स्थालगत अनुमगन गरिएको जानकारी दिए। 'उनीहरुको फाइल मात्रै होइन धितोको पनि स्थलगत निरिक्षण गरेका छौं,' उनले भने, 'प्रत्येक वर्ष कम्तिमा एक पल्ट स्थलगत निरिक्षण गर्नेछौं।'
कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकालले गभर्नरको पदीय मर्यादालाई ख्याल गरेर कर्मचारीहरुले बोल्नु पर्ने बताए। विभिन्न राजनीतिक दलसँग सम्वद्ध राष्ट्र बैंकका कर्मचारी युनियन प्रमुखहरुले आमन्त्रित पाहुनका अगाडि …पेचिलो' प्रहार गरेपछि ढकालले गभर्नर पदको मर्यादा राख्न आग्रह गरेका हुन्।
…गभर्नर भनेको राष्ट्र बैंकको छवी हो,' उनले भने, 'यो छवीलाई धुमिल गर्ने काम कर्मचारीहरुले गर्नु हुँदैन।' उनले सार्वजनिक सुनुवाइमा जस्तो  गभर्नरलाई खुइलाउने काम गरेकोमा   रोष प्रकट गरेका हुन्।



No comments:

Post a Comment

thanks for comment