सिद्धार्थको ३० करोडको अर्को स्किम जेठमा


सुदर्शन सापकोटा
काठमाडौं, चैत १०
सिद्धार्थ क्यापिटल लिमिटेडले ३० करोड रुपैयाँको अर्को लगानी योजना ल्याउने भएको छ। कम्पनीले पाँच वर्ष अवधिको सिद्धार्थ इक्विटी ओरेन्टेड स्किम–१ नामको योजना ल्याउन लागेको हो।
सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले गत पुसमा ल्याएको ५० करोड रुपैयाँका इकाइहरुले बजारबाट राम्रो प्रतिकृया पाएपछि नयाँ योजना ल्याउन लागिएको हो। नयाँ स्किममा कम्पनीले लगानीलाई थप विविधीकरण गर्न लागेको छ।
'पहिलो स्किमबाट हामी निकै उत्साहित भएका छौं। त्यही भएर अर्को योजना ल्याउन लागेका हौं,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार तिमिल्सिनाले नागरिकसँग भने, 'नयाँ स्किमबाट पनि राम्रो प्रतिफल प्राप्त हुने भएकाले यसलाई लगानीकर्ताले रुचाउने छन्।'
कम्पनीले चैतभित्र नयाँ स्किमका लागि धितोपत्र वोर्डमा स्विकृतिका लागि आवेदन दिने तयारी गरिरहेको छ। 'नयाँ स्किमका लागि सबै विषय अन्तिम चरणमा पुगिसकेको छ,' उनले भने,'यसै साताभित्र सञ्चालक समितिबाट पारित गराएर वोर्डमा जाने छौं।' तिमिल्सिनाले वोर्डबाट स्वीकृति पाएपछि जेठको पहिलो साता नै नयाँ स्किम ल्याइने जानकारी दिए। 
कम्पनीले ३० करोडको स्किममा आवेदन अधिक परे यसलाई २५ प्रतिशतले वढाउन सक्नेछ। आवेदन वढेमा स्किमको आकार ७ करोड ५० लाख रुपैयाँले वढ्ने छ।'अघिल्लो ४० करोड करोडको स्किम पनि आवेदन वढी परेकाले आकार १० करोड रुपैयाँले वढेको थियो,' तिमिल्सिनाले भने, 'बजारमा हाम्रो युनिटको राम्रो कारोबार भइरहेकाले यसपाली पनि आकार वढेर साढे ३७ करोड पुग्न सक्छ।' 

नयाँ स्किमको लगानीलाई कम्पनीले अघिल्लोको भन्दा केही परिवर्तन गरेको छ। कम्पनीले यसपाली कुल लगानीमध्ये ८० प्रतिशत सेयर र वाँकी २० प्रतिशत ऋणपत्र तथा बैंक निक्षेप खातामा लगानी गरिने छ। अघिल्लो स्किममा ९५ प्रतिशत लगानी सेयर र वाँकी निक्षेप खातामा गरिएको थियो।
तिमिल्सिनाले नेपालमा ऋणपत्रको राम्रो विकास नभइसकेकाले यसमा लगानी वढाउन नचाहेको जानकारी दिए। उनले बजारमा ऋणपत्रको खरिद विक्री गर्न सजिलो नभएकाले यतातिर लगानी वढाउँदा समस्या पर्न सक्ने बताए । 'अहिले बजारमा ऋणपत्र सजिलै उपलब्ध छैन। बैंकहरुले पनि पुँजी कोष कायम राख्नका लागि ऋणपत्र जारि गरिरहेको अवस्था छ,' तिमिल्सिनाले भने, 'त्यही भएर सेयर र निक्षेप खातामै वढी केन्द्रित भएका हौं।'
उनले पाँच वर्षे अवधिको नयाँ स्किमबाट लगानीकर्तालेे वार्षिक औषत १५ प्रतिशत प्रतिफल पाउने जानकारी दिए। उनले खर्चहरु घटाएर अधिकतम प्रतिफल दिने उद्देश्यले नयाँ स्किम तयार पारिएको जानकारी दिए। उनले प्रतिफल वढाउनका लागि व्यवस्थापक शुल्क अघिल्लोको भन्दा घटाएर नयाँ स्किम ल्याउन लागिएको बताए।
अघिल्लो स्किमको खुद सम्पति मूल्य (एनएभी) ११ रुपैयाँभन्दा माथि छ। निस्कासन भएको तीन महिनामा नै यसको प्रतिफल १० प्रतिशत पुगिसकेको छ। 'बजारमा पनि राम्रो मूल्यमा इकाइ खरिद विक्री भइरहेको छ,' उनले भने, 'पुरानोबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने अवस्था भएकाले नयाँ निस्कासन गरेर लगानीको अवशर दिन लागिएको हो।'
नयाँ स्किमका लागि कम्पनीले सुपरिवेक्षक नियुक्तीका लागि धितोपत्र वोर्डबाट स्विकृति लिने तयारी गरेको छ। प्रत्येक स्किमका लागि सुपरिवेक्षक समूह नियुक्त गर्नु पर्ने नियामकको व्यवस्था छ। 
सिद्धार्थ नेपालमा सामूहिक लगानी कोषको स्किम विक्री गर्ने पहिलो कम्पनी हो। सिद्धार्थपछि नबिल इन्भेष्टमेन्ट बैंकिङले अहिले युनिट विक्री गरिरहेको छ। नबिलले ६० करोड रुपैयाँ बराबरको युनिटहरु विक्रीका लागि खुला गरेको छ। 

No comments:

Post a Comment

thanks for comment