साउनबाट मेसिनले पढ्न सक्ने चेक प्रयोगमा


काठमाडौं, वैशाख ३
राष्ट्र बैंकले साउनदेखि मेसिनले स्वचालित रुपमै पढ्न सक्ने चेक प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। समयमै चेक राफसाफ गर्नका लागि राष्ट्र बैंकले सामान्य चेकहरु प्रचलनबाट हटाएर मेसिनले पढ्न सक्ने चेक प्रयोगमा ल्याउन लागेको हो।
सामान्य चेकहरु प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले असारपछि म्याग्नेटिक इन क्यारेक्टर रिडर (एमआइसिआर) चेक प्रयोगमा ल्याउनु पर्ने हुन्छ। नयाँ प्रविधिको चेक स्क्यान गर्ने वित्तिकै मेसिनले सबै तथ्यांक पढ्ने छ। मानिसले आफ्नो हातबाट टिप्नु पर्ने तथ्यांकहरु मेसिनले पढिदिने भएकाले गल्ति हुने संभावना हुँदैन। यसले तुरुन्तै चेक राफसाफ भएर समयको पनि बचन हुने छ। 
एमआइसिआर चेक अहिलेसम्म लक्ष्मी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्र प्रयोगमा ल्याएका छन्। विद्युतीय प्रविधिमार्फत चेकको राफसाफ गर्ने सेवा सुरु भइसकेकाले एमआइसिआर चेक आवश्यक पर्छ। अहिले मानव संशाधन प्रयोग गरी सामान्य चेकका तथ्यांकहरु प्रणालीमा टिप्ने काम भइरहेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले विद्युतीय प्रणालीमार्फत चेकको राफसाफ थालेको हो।
एमआइसिआर चेकमा बैंक तथा वित्तीय संस्थाको शाखा ठेगाना, ग्राहकको नाम, ठेगाना र खाता नम्बर मेसिनले आफै पढ्ने छ। ग्राहकले मितिसहित हस्ताÔर र रकम पछाडि भर्ने भएकाले यसलाई भने पढ्न सक्दैन। रकम कर्मचारीहरुले प्रणालीमा अद्यावधिक गर्नु पर्छ।

ग्लोबल आइएमइ बैंकले यस्तो चेक प्रयोगमा ल्याउन छाप्ने कम्पनीलाई आह्वान गरिसकेको छ। अन्य बैंक तथा वित्तीय संस्थाले पनि चेक छाप्ने तयारी सुरु गरिसकेका छन्। सामान्य चेकको भन्दा एमआइसिआरको मूल्य महँगो पर्छ। महँगो भएको कारण यस्तो चेक प्रयोगमा ल्याएका बैंकहरुले केन्द्रिय कार्यालयमार्फत  चेक जारि गरिरहेका छन्। शाखाबाट चेक चाहनेले मागेको केही दिनपछि मात्र    चेक पाउने गरेका छन्। 
मेसिनले अधिकांस तथ्यांक पढिदिने भएकाले चेक राफसाफ गर्न सजिलो हुन्छ। साधारण चेकमा विद्युतीय प्रणालीबाट पढ्न सक्ने गरि (एटिएम कार्डमा जस्तै) एउटा कालो लाइन कोरिएको हुन्छ। यो लाइनमा ग्राहकको विवरण र चेक जारि भएको शाखा उल्लेख हुन्छ। 
अहिले एउटा चेकको सबै विवरण प्रणालीमा अद्यावधिक गर्न कम्तिमा ६ मिनेट लाग्ने गर्छ। यो चेकबाट सुरु भएपछि डेढ मिनेटमा चेकको विवरण प्रणालीमा पुग्ने छ। अहिले विद्युतीय प्रविधिमार्फत बैंक तथा वित्तीय संस्थाहरुको दैनिक ८ हजार ५ सयभन्दा वढी चेक राफसाफ हुन्छन्। विद्युतीय प्रविधिबाट चेकको राफसाफ गर्न एनसिएचएलको सदस्यता लिनु पर्छ। 
एनसिएचएलमा ३२ वटै वाणिज्य बैंकसहित करिव एक सय वित्तीय संस्थाहरु सदस्य भएका छन्। अहिले काठमाडौं र वीरगञ्जबाट चेकको विद्युतीय प्रणालीबाट राफसाफ सेवा सञ्चालनमा छ। काठमाडौंबाट पुस १ गतेदेखि नै विद्युतीय प्रविधिबाट चेकको राफसाफ हुँदै आएको छ। 
अहिले काठमाडौं र वीरगञ्ज वाहेक वाँकी स्थानमा राष्ट्र बैंकले मानव संशाधनमार्फत चेकको राफसाफ गर्दै आएको छ।  विद्युतीय प्रविधिबाट एकै दिनमा चेकको राफसाफ हुने गर्छ। यसअघि चेकको राफसाफ हुन तीन दिन लाग्थ्यो।

No comments:

Post a Comment

thanks for comment