बैंकिङ क्षेत्रको लगानी विस्तार १२ प्रतिशतले वढ्योः बचत संकलनको वृद्धि दर भने घट्यो


काठमाडौं, चैत १३
बैंक तथा वित्तीय संस्थाले ब्याज घटाएसँगै ऋण लगानी वढेको छ। बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १२ प्रतिशतले वढेको छ। एक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको ऋण ११५ अर्ब ८९  करोडले बढेको हो। 
अहिले ३२ वाणिज्य बैंक, ९० विकास बैंक र ६९ फाइनान्स कम्पनीहरु सञ्चालनमा छन्। अघिल्लो माघसम्म बैंक तथा वित्तीय संस्थाको लगानी ७.३ प्रतिशत अर्थात ६२ अर्ब ३१ करोडले वढेको थियो।
तरलता सहज भएपछि बैंक तथा वित्तीय संस्थाहरुले १६/१७ प्रतिशतको  व्याज घटाएर १२/१३ प्रतिशतमा झारिसकेका छन्। यसको प्रभावले ऋणका माग वढेको हो।
'तरलता सहज भएपछि बैंकहरुको लगानी विस्तार भएको हो,' बैंकर्स संघका उपाध्यक्ष सुधिर खत्रीले भने, …उत्पादनमूलक, ऊर्जालगायका क्षेत्रमा राम्रो कर्जा लगानी भएको छ।' बैंकहरुले कर्जामा विस्तार गरेपछि कर्जा–निक्षेप अनुपात भने वढेको छ। 
निक्षेप वृद्धिको तुलनामा कर्जा व्यापक वढेका कारण कर्जा–निक्षेप अनुपात ७८ प्रतिशतसम्म पुगेको छ। राष्ट्र बैंकले यस्तो अनुपात ८० प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको छ।
माघसम्म वाणिज्य बैंकको ऋण लगानी ११.४, विकास बैंकको ७.३ र फाइनान्स कम्पनीको ६.७ प्रतिशतले वृद्धि भएको छ। माघसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रको कर्जा १३.२ प्रतिशतले वढाएका छन्। यो अघिल्लो वर्षको भन्दा १०२ अर्ब ७६ करोडले वढी हो। अघिल्लो  वर्ष निजी क्षेत्रमा कर्जा विस्तार ५.१  प्रतिशत अर्थात ३५ अर्ब ४१ करोडले गरेका थिए।
निजी क्षेत्रमा गएको कर्जामध्ये वाणिज्य बैंकहरुको १३ प्रतिशत, विकास बैंकहरुको १३.६ प्रतिशत र वित्त कम्पनीहरुको १३.९ प्रतिशतले बढेको छ। माघसम्म बैंक  तथा  वित्तीय  संस्थाहरूबाट  औद्योगिक  उत्पादन  क्षेत्रमा ऋण लगानी २३  अर्ब  ६८  करोडले  बढेको  छ ।  अघिल्लो  वर्षको माघमा १४  अर्ब  १८  करोडले  वढेको थियो। 

अघिल्लो  वर्षको  माघमा  कृषि क्षेत्रतर्फको  कर्जा  ५  अर्ब  ३५  करोडले  बढेकोमा यसपाली  ८  अर्ब  २७  करोडले बढेको छ। निर्माण क्षेत्रतर्फको कर्जा ६ अर्ब २३ करोडले बढेको छ। थोक तथा खुद्रा  व्यापारतर्फको  २२  अर्ब  ९२  करोड  र  यातायात,  सञ्चार  तथा  सार्वजनिक  सेवा क्षेत्रतको ४ अर्ब ८१ करोडले कर्जा वढेको छ। 
ऋणको विस्तार अत्याधिक भएपनि  घट्दो व्याजका कारण निक्षेप भने खासै वढेको छैन। बैंकहरुले निक्षेपमा १२ प्रतिशतसम्म दिएको व्याज घटाएर अधिकतम ७ प्रतिशतमा झारेका छन्। यसले गर्दा बैंकिङ क्षेत्रको निक्षेप वृद्धि घटेको छ।
सरकारी विकास खर्च नभएको, रेमिट्यान्स वृद्धि दर घटेको र व्याज दर झरेका कारण बैंकिङ क्षेत्रमा बचत आकर्षित नभएकाले वृद्धि   दर घटेको हो। माघसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४.८  प्रतिशतले वढेको छ। यो  ४८  अर्ब ६९ करोडले बढी हो। अघिल्ल्ाो माघमा निक्षेप  वृद्धि १०.९  प्रतिशत अर्थात ८९ अर्ब ९६ करोडले भएको थियो। 
माघसम्म वाणिज्य  बैंकको ३.८,  विकास  बैंकको ६.९  र  वित्त कम्पनीहरुको  ५.७ प्रतिशतले बढेको छ । अघिल्लो माघमा वाणिज्य बैंकको १२, विकास  बैंकको १२.७  र  वित्त  कम्पनीहरुको  १.४  प्रतिशतले  बढेको  थियो । 

No comments:

Post a Comment

thanks for comment