सातामा निक्षेप ८ अर्ब वढ्यो


काठमाडौं, चैत ६
वाणिज्य बैंकहरुको निक्षेपमा यो साता पनि उल्लेख्य सुधार भएको छ। बैंकहरुको निक्षेप एक सातामा ८ अर्बले वढेर ९ सय १७ अर्ब रुपैयाँ पुगेको छ। 
दुई महिनादेखि लगानी योग्य पुँजी (तरलता) अभाव झेल्दै आएका बैंकहरुमा निक्षेप वृद्धिसँगै तरलतामा पनि सुधार आएको छ। गत साता पनि बैंकहरुको निक्षे १० अर्ब रुपैयाँले वढेको थियो। 
राष्ट्र बैंकले वुधबार बैंकहरुलाई पठाएको तथ्यांक अनुसार, निक्षेपमा भएको वृद्धिसँगै कर्जा लगानी पनि ६ अर्बले बढाएको उल्लेख छ। तरलता अभावले कर्जा–निक्षेप अनुपात वढ्न थालेकाले बैंकहरुले कर्जा रोकेका थिए। दुई सातामा १८ अर्बले निक्षेप वढेपछि बैंकहरुले तीन दिनमा ६ अर्ब लगानी गरेका हुन्। बैंकहरुको कुल ऋण लगानी ७ सय ९ अर्ब पुगेको छ। 
'आकस्मिक रुपमा निक्षेप वृद्धिले शोधनान्तर बचत वढेको संकेत गर्छ,' राष्ट्र बैंकका एक अधिकारीले भने,'यस अवधिमा सरकारी खर्चमा पनि सुधार भएको छ।'
तरलतामा सुधार भएपछि बैंकहरुले आपसी सापटी (अन्तर बैंक) कारोबारको व्याज दर घटेको  छ। गत साता ७ प्रतिशतसम्म पुगेको अन्तर बैंक दर बुधबार साढे दुई प्रतिशतमा झरेको छ। वुधबार ३ अर्ब ५३ करोडको अन्तर बैक कारोबार गरेका छन्। अघिल्लो साता ५ अर्बको कारोबार भएको थियो। 
कमर्ज एन्ड ट्रस्ट बैंकको सेयरमा लगानी गरेका सर्वसाधारणको करिव ७ अर्ब रुपैयाँ बैंकहरुमा छरिएको र सरकारी खर्च वढ्न थालेकाले निक्षेप वृद्धि भएको हो। बैंकहरुले संस्थागत निक्षेपकर्तालाई व्याज वढी दिन थालेकेा प्रभाव पनि निक्षेप वृद्धिमा परेको हो। बैंकहरुले संस्थागत निक्षेपकर्ताको व्याज साढे ६ प्रतिशतबाट वढाएर ९ प्रतिशतसम्म पुर्‍याएका छन्। 
तरलता सहज हुन थालेपछि बैंकिङ प्रणालीमा अन्तर बैंक सापटी माग्ने बैंकहरु घट्न थालेका छन्। अहिले प्राय बैंकहरु सापटी दिने अवस्थामा छन्। यसअघि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआइ बैंक, एभरेष्ट बैंकले नियमित सापटी दिइरहेका थिए। अभावको मौका छोपेर संस्थागत निक्षेपकर्ताले मोलमोलाइ गरेका कारणले पनि व्याज वृद्धि भएको हो। 

No comments:

Post a Comment

thanks for comment