महिना दिनमा निक्षे २४ अर्बले वढ्यो


काठमाडौं, चैत १९
अघिल्लो महिना निकै सुस्त रहेको वाणिज्य बैंकहरुको निक्षेप वृद्धि पछिल्लो एक महिनामा २४ अर्बले वढेको छ। अघिल्लो महिना ८ सय ९९ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप अहिले ९ सय २४ अर्ब रुपैयाँ पुगेको छ। 
दुई महिनादेखि लगानी योग्य पुँजी (तरलता) अभाव झेल्दै आएका बैंकहरुमा निक्षेप वृद्धिसँगै तरलतामा पनि सुधार आएको छ। एक सातामा मात्रै निक्षेप ७ अर्बले वढेको छ। 
राष्ट्र बैंकले बैंकहरुलाई पठाएको तथ्यांक अनुसार, निक्षेपमा भएको वृद्धिसँगै कर्जा लगानी महिना दिनमा ८ अर्बले मात्र वढेको छ। निक्षेप वृद्धिको तुलनामा व्यापक कर्जा लगानी गरेपछि तरलता अभाव खेपेका बैंकले पछिल्लो समय कर्जा लगानीमा कडाइ गरेका हुन्। 
तरलता अभावले कर्जा–निक्षेप अनुपात वढ्न थालेकाले बैंकहरुले कर्जा लगानी नियन्त्रण गरेका हुन्। ८ अर्बले ऋण वढेर ७ सय १० अर्ब पुगेको छ। 
'आकस्मिक रुपमा निक्षेप वृद्धिले शोधनान्तर बचत वढेको संकेत गर्छ,' राष्ट्र बैंकका एक अधिकारीले भने,'यस अवधिमा सरकारी खर्चमा पनि सुधार भएको छ।'
तरलतामा सुधार भएपछि बैंकहरुले आपसी सापटी (अन्तर बैंक) कारोबारको व्याज दर घटेको  छ। अघिल्लो साता साढे तीन प्रतिशत  रहेको अन्तर बैंक सापटी साढे २ प्रतिशतमा झरेको छ। एक महिनाअघि सापटी दर ७ प्रतिशतसम्म पुगेको थियो। अन्तर बैक कारोबार रकम पनि घटेको छ। कारोबार रकम ५ अर्बबाट घटेर २ अर्बमा सीमित भएको छ।
सरकारी खर्च वढ्न थालेको, रेमिट्यन्समा सुधार हुन थालेको र शोधनान्तर बचत वृद्धि   भएर निक्षेप वढेको हुन सक्ने राष्ट्र बैंकका अधिकारीहरुको अनुमान छ। बैंकहरुले संस्थागत निक्षेपकर्तालाई व्याज वढी दिन थालेकेा प्रभाव पनि निक्षेप वृद्धिमा परेको हो। बैंकहरुले संस्थागत निक्षेपकर्ताको व्याज साढे ६ प्रतिशतबाट वढाएर ९ प्रतिशतसम्म पुर्‍याएका छन्। 

No comments:

Post a Comment

thanks for comment