समितिद्वारा एभरेष्टको लाइसेन्स नवीकरण गर्न अस्विकार


भुक्तानी गरेको चार करोड फिर्ता ल्याए  कारवाही फूकुवा हुन्छ :  समिति
समिति नियोजित रुपमा कम्पनी बन्द गर्न अग्रसर :  एभरेष्ट

सुदर्शन सापकोटा
काठमाडौं, वैशाख २
बिमा समितिले कारवाहीमा परेको भन्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाइसेन्स नवीकरण गर्न अस्वीकार गरिदिएको छ। वार्षिक रुपमा नवीकरण गर्नु पर्ने एभरेष्ट इन्स्योरेन्सको लाइसेन्सको समय चैत मसान्तमा सकिएको छ।
समितिले गत भदौमा गरेको कारवाही फुकुवा भएपछि मात्र लाइसेन्स नवीकरण गर्न सकिने भन्दै एभरेष्टलाई पत्राचार गरिसकेको छ। समितिले भदौ १३ गते एभरेष्टले हिमालयन स्न्याक्सको दावीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै बिमा रकम भुक्तानी गरेको भन्दै अग्नी बिमा कारोबारमा रोक लगाएको थियो। 
'बिमा ऐन अनुसार, कारवाहीमा परेको कम्पनीको लाइसेन्स नवीकरण गर्न मिल्दैन,' समिति उच्च स्रोतले भन्यो, 'कारवाहीमा परेको कारणहरु सुधार नगरुन्जेल अग्नी कारोबार फुकुवा हुँदैन।' एभरेष्टको कुल कारोबारमा अग्नी बिमाको हिस्सा २० प्रतिशत हुन्छ। समितिले ८ महिनादेखि अग्नी बिमामा रोक लगाएकाले एभेष्टको कारोबार घटेको  छ। 
'हामीले समितिले मागेजति सबै कागजात पुर्‍याएका छौं। कानुनी रुपमा कारवाही गर्नु पर्ने आधार सकिएको छ,' एभरेष्टका एक उच्च व्यवस्थापकले भने,'तर समितिले किन कारवाही फुकुवा नगरेको भन्ने वुझ्न सकिएन।' 
समिति र एभरेष्टका अधिकारीहरु यो मामलामा औपचारिक रुपमा वोल्न चाहँदैनन्। कारवाहीका कारण एभरेष्ट र समितिबीचको विवादले 'ठूलो' रुप लिएको भन्दै दुवै पक्षका उच्च  अधिकारीहरु आधिकारिक रुपमा वोल्न मान्दैनन्। 

समिति स्रोतका अनुसार, एभरेष्टले सर्वेयरको पूर्ण प्रतिवेदन आउनु पूर्व भुक्तानी गरेको चार करोड रुपैयाँ  फिर्ता नल्याएसम्म कारवाही फुकुवा हुँदैन। समितिको स्थलगत निरिक्षण प्रतिवेदनमा एभरेष्टले तीन पटक गरेर मायोज चाउचाउ उत्पदान गर्ने हिमालयन स्न्याक्सलाई चार करोड रुपैयाँ गैरकानुनी रुपमा भुक्तानी गरेको उल्लेख छ। प्रतिवेदनका आधारमा समितिले एभरेष्टलाई कारवाही गरेको थियो। 
समितिले देखाएको कमजोरीहरु ३५ दिनभित्र सुधार गर्न  निर्देशन दिँदै कारवाही गरेको हो। एभरेष्टका अधिकारीहरु भने सम्पूर्ण कमजोरीहरु सच्याएर प्रत्येक पटक कारवाही फुकुवा माग गर्न जाँदा समितिले अनेक वाहाना बनाएर कारवाही फूकुवा नगरिदिएको बताउँछन्।
'समितिले त्यसबेला देखाएको सबै कमजोरीहरु हामीले सुधार गरिसकेका छौं,' एभरेष्ट स्रोतले भन्यो, …प्रत्येक चोटी कुनै न कुनै वाहानावाजीमा समितिले कारवाही फुकुवा गर्दिदैन।' कारवाही फुकुवा नगर्दिने र यसको वाहानामा लाइसेन्स नवीकरण नगरिदिएर समिति नियोजित रुपमा कम्पनी बन्द गर्न अग्रसर भएको एभरेष्टका अधिकारीहरुको आरोप छ।
कारवाहीको केही महिनापछि समितिले सबै बिमा कम्पनीहरुलाई जारी गरेको …संस्थागत सुशासन निर्देशिका' पालना गर्न नसकिने भन्दै एभरेष्टले सम्पूर्ण कारोबार रोकेपछि समिति–एभरेष्टबीच विवाद अझ चर्किएको थियो। समितिको हस्तक्षेपपछि नयाँ कारोबार रोकेको नौं दिनपछि एभरेष्टले कारोबार सुचारु गरेको थियो। विवादकै बीच कम्पनीका अध्यक्ष राजेन्द्र खेतानले सञ्चालक समितिबाट राजिनामा गरेका थिए।
कारोबार सुचारु गरेपनि वासलात (व्यालेन्सिट) को आकार घटाउन थालेको एभरेष्ट गत पुसमा १ करोड ६० लाख रुपैयाँ घाटामा छ। गैरजीवन बिमा कम्पनीमा कारोबारका हिसावले पहिलो नम्बरमा रहेको एभरेष्ट अघिल्लो वर्षको पुसमा ४ करोड १८ लाख रुपैयाँ नाफामा थियो।
अघिल्लो पुसमा ११ हजार १ सय ४९ वटा बिमा लेख जारी गरेको कम्पनीले पछिल्लो चोटी सार्वजनिक गरेको वित्तीय विवरणमा ५ हजार ९ सय ९१ वटा  बिमा लेख जारि गरेको सार्वजनिक गरेको छ। बिमा लेख नवीकरण ४ सय ९२ वटाबाट घटेर २ सय ७ वटामा आएको छ। बिमा शुल्क रकम ४२ करोड ५४ लाख ६० हजार रुपैया“बाट झरेर २७ करोड ४४ लाख रुपैया“मा आएको पुसको वित्तीय विवरणमा छ।

No comments:

Post a Comment

thanks for comment