वाणिज्य बैंक छोटो अवधिको कर्जामा सीमित : एक महिनामा ८ अर्ब कर्जा विस्तार


काठमाडौं, चैत २५
वाणिज्य बैंकहरुको छोटो अवधिको कर्जा लगानीमा सीमित हुन थालेका छन्। महिना दिन अघिसम्म तरलता अभावसँग जुधिरहेका बैंकहरुसँग राजनीतिक अन्यौंलले ठूला परियोजनाका लागि ऋण माग नभएकाले छोटो अवधिमा सीमित भएका हुन्।
बैंकरका अनुसार, पछिल्लो समय गएको ऋणमध्ये ५० प्रतिशत छोटो अवधिको छ। वाँकी ऋण पहिले नै प्रतिवद्धता जनाइसकेको आयोजनाहरुमा गएको छ। 
'अहिले छोटो अवधिको कर्जामा ऋण विस्तार भइरहेको छ,' कमर्ज एन्ड ट्रष्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'आयातमा आधारित कर्जाहरु वढी जान थालेको छ।'
बैंकहरुले पर्सनल फाइनान्स, अधिविकर्स (ओभरड्राफ्ट), व्यापारिकजस्ता छोटो अवधिको शिर्षक भएका क्षेत्रमा कर्जा दिइरहेका छन्। पछिल्लो एक महिनामा वढेको करिव ८ अर्ब कर्जामध्ये अधिकांस छोटो अवधिका लागि गएको छ। छोटो अवधिको कर्जामा बैंकहरुलाई जोखिम कम हुन्छ।
'छोटो अवधिको कर्जामा नगद प्रवाह भइरहनेे र बैंकलाई पनि जोखिम कम हुन्छ,' भट्टराईले भने,'छोटो कर्जाकाले अर्थतन्त्र चलायमान बनाए पनि उत्पादन र रोजगारि श्रृजना हुँदैन।' 
लोडसेडिङ र बन्द हड्तालका कारण देशमा औद्योगिक वातावरण खस्किरहेको छ। यही कारणले स्वदेशमा औद्योगिक उत्पादन घटेर विदेशबाट सामान मगाउन थालिएको छ। अहिले खासगरी खाद्यान्न र सुविधाका वस्तुहरु वढीजसो आयात भइरहेका छन्। 
''बीचमा रियलस्ेटटमा कर्जाहरु वढेजस्तै अहिले खाद्यान्न आयातमा ऋण जान थालेको छ,' उनले भने। लोडसेडिङका कारणले उद्योगहरुले माग अनुसारको वस्तु उत्पादन गर्न सकेका छैनन्। डिजेल वालेर वस्तु उत्पादन गर्दा महँगो पर्ने भएकाले पनि वाहिरबाट सामान धेरै आउन थालेको छ। अहिले डिजेलबाट एक युनिट विजुली निकाल्न करिव ३० रुपैयाँ पर्छ। 

अघिल्लो वर्ष तरलता अभावका कारणले बैंकहरुले ठूलो लगानी गर्न सकेका थिएनन्। तत्काल उपभोग हुने र बजारमा वढी माग हुने उपभोग्य सामग्रीलगायतमा कर्जा गइरहेको छ। 
सरकारले विकास खर्च नगरेर तरलता अभाव भइरहेका बेला लामो अवधिको कर्जा दिँदा जोखिम वढ्ने भयले पनि बैंकहरु छोटो अवधिका कर्जा विस्तारमा लागेका हुन्। वसढीमा ९० दिनसम्मका यस्तो कर्जा नगद अभाव भए तत्काल उठाउन पनि मिल्छ। 
'पहिले नै वढी लगानी भएर कर्जा–निक्षेप अनुपान वृद्धि भएको छ,' एक बैंकरले भने, 'ठूलो र लामो अवधिको कर्जा दिँदा अझ समस्या पर्न सक्छ।' उनले पहिले नै प्रतिवद्धता जनाएको क्षेत्रमा मात्र ठूलो आकारको ऋण लगानी गरिएको जानकारी दिए।
अघिल्लो महिना निकै सुस्त रहेको वाणिज्य बैंकहरुको निक्षेप वृद्धि पछिल्लो एक महिनामा २४ अर्बले वढेको छ। कर्जा–निक्षेप अनुपात वढेकै कारण बैंकहरुले महिना दिनमा निक्षेप २४ अर्बले वढ्दा पनि जम्मा ८ अर्ब लगानी गर्न सकेका छन्। अघिल्लो महिना ८ सय ९९ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप अहिले ९ सय २४ अर्ब रुपैयाँ पुगेको छ। 
दुई महिनादेखि लगानी योग्य पुँजी (तरलता) अभाव झेल्दै आएका बैंकहरुमा निक्षेप वृद्धिसँगै तरलतामा पनि सुधार आएको छ। एक सातामा मात्रै निक्षेप ७ अर्बले वढेको छ। 
पछिल्लो तथ्यांक अनुसार, निक्षेपमा भएको वृद्धिसँगै कर्जा लगानी महिना दिनमा ८ अर्बले मात्र वढेको छ। ८ अर्बले ऋण वढेर ७ सय १० अर्ब पुगेको छ। निक्षेप वृद्धिको तुलनामा व्यापक कर्जा लगानी गरेपछि तरलता अभाव खेपेका बैंकले पछिल्लो समय कर्जा लगानीमा कडाइ गरेका हुन्। 

No comments:

Post a Comment

thanks for comment