नेताका सम्पतिमाथि अनुसन्धान सुरु


सुदर्शन सापकोटा
काठमाडौं, चैत ८
वित्तीय जानकारी इकाइले राजनीतिक दलका प्रभावशाली नेता, आफन्त र नजिकका कार्यकर्ताहरुको सम्पतिको अनुसन्धान सुरु गरेको छ। पछिल्लो समय राजनीतिक दलका नेता र उनीहरुका निकटवर्तीहरुको अस्वभाविक आर्थिक कारोबार वढ्न थालेपछि सम्पति सुद्धिकरण विभागसँग मिलेर इकाइले अनुसन्धान थालेको हो। 
राष्ट्र बैंकमा रहेको इकाइले नेता, तीनका परिवारको बैंक खाता, सम्पतिलगायतका बारेमा जानकारी संकलन गर्न थालेको हो। विभाग र इकाइको अनुसन्धानको घेरामा सरकारमा आवद्ध भएका दलका नेताहरु परेका छन्। सरकारमा सहभागी केही नेताहरुको अस्वभाविक आर्थिक लेनदेनका कारोबार वढेपछि इकाइले अरु नेतामाथि पनि अनुुसन्धान थालेको हो।
इकाइ स्रोतका अनुसार, करिव तीन दर्जन नेताहरुको सम्पति तथा वित्तीय कारोबारमाथि अनुसन्धान सुरु भएको छ। राजनीतिक दलका नेताहरुसँग नजिक रहेका भनिएका व्यवसायी, कार्यकर्ताहरुको पनि सम्पति माथि अनुसन्धान सुरु भएको इकाइ स्रोतले जानकारी दियो। 
'अनुसन्धान हुँदैमा नेताहरुले अस्वभाविक रुपमा वित्तीय कारोबार गरे भन्ने हुँदैन,' इकाइका एक अधिकृतले भने, 'अनुसन्धान गर्ने निकाय भएकाले नेताहरुमाथि पनि हात हालेका हौं।'
इकाइले पुस्पकमल दाहाल, अग्नी सापकोटा, हिसिला यमी, हृदयस त्रिपाठी, सुजाता कोइराला, राजकिशोर यादव, विजयकुमार गच्छदारलगायतका नेताहरुको सम्पति र वित्तीय कारोबारको अनुसन्धान थालेको हो। 
इकाइले छोटो अवधिमै अस्वभाविक रुपमा सम्पति कमाएका ४ सय ५० जना गैरराजनीतिज्ञ माथि अनुसन्धान गरिसकेको छ। इकाइले आफ्नो भूमिका वढाउँदै नेता–कार्यकर्तामाथि पनि अनुसन्धान थालेको हो।

अनुसन्धानको घेरामा वढीजसो नेकपा माओवादी, मधेश केन्द्रित दलका नेताहरु छन्। स्रोतका अनुसार, केही कांग्रेस र एमालेका नेताहरुको पनि सम्पति तथा वित्तीय कारोबारमाथि अनुसन्धान थालिएको छ। यस वाहेक भातृ संस्थामा रहेका नेता तथा कार्यकर्ताको पनि सम्पति र वित्तीय कारोबारको अनुसन्धान सुरु गरिएको  स्रोतले जानकारी दियो।
'नेता र तीनका परिवारको वित्तीय लेनदेनका कारोबारहरु अस्वभाविक रुपमा हुन थालेको फेला पारेका छौं,' इकाइ स्रोतले भन्यो, 'राजनीति वाहिरकाहरुको मात्र अनुसन्धानमा सीमित नभइ नेताहरुको पनि सम्पति छानविन गर्न थालेका हौं।'
इकाइले बैंक तथा वित्तीय संस्थामा संकास्पद रुपमा करोडौं रुपैयाँ राख्दै/निकाल्दै स्रोत नखुल्ने गरी लगानी गरेको फेला पारेपछि अनुसन्धान थालेको हो। राजनीतिक दलका नेतासँग नजिक रहेको भनेर चिनिएका  व्यक्तिहरुमार्फत यस्ता कारोबार वढी हुने गरेको स्रोतले जानकारी दियो।  
बैंक तथा वित्तीय संस्थाहरुबाट संकलन भएको सुचनाका आधारमा सम्पति सुद्धीकरणको क्षेत्रमा काम गर्ने सरकारी निकाय वित्तीय जानकारी इकाइले गरेको अनुसन्धानमा आर्थिक पृष्ठभूमि केही नभएकाहरुले पनि करोडौंको कारोबार गर्दै आएको फेला परेको छ। 
इकाइले अनुसन्धानका क्रममा संकास्पद व्यक्तिहरुले पारिवारिक सदस्य, नातेदार र कामदारको नामबाट सम्पति खरिद विक्री गरेको फेला पारेको छ। राजनीतिक नेतासँग नजिक रहेका कार्यकर्ता, आयात–निर्यातमा संलग्न व्यवसायी, घरजग्गा तथा सेयरका कारोबारी र केही माथिल्ला तहका सरकारी कर्मचारीहरुले अस्वभाविक रुपमा आर्थिक कृयाकलाप गरेको पाइएको छ। यसवाहेक उनीहरुले आफ्ना नातेदार र कामदारहरुको नामबाट कारोबार गरिरहेको इकाइ स्रोतको दावी छ।
स्रोतका अनुसार, पछिल्लो समय स्रोत नखुलाइ सुनमा लगानी गर्नेहरु वढेका छन्। इकाइले कर्मचारी अभाव र वलियो सुचना संयन्त्रको अभावमा यस क्षेत्रमा अनुसन्धान भने गर्न सकेको छैन। 
नेपालले सम्पति सुद्धीकरणको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय वित्तीय कार्यदलको सदस्यता लिएसँगै स्रोन नखुलाई आर्थिक कारोबार गर्नेमाथि निगरानी सुरु गरेको छ। पछिल्लो समय सम्पति सुद्धिकरण निवारण ऐन कार्यान्वयनमा आएपछि सरकारी निगरानी र अनुसन्धानमा तिव्रता आएको हो। 

No comments:

Post a Comment

thanks for comment