अग्नी एयर अर्को साताबाट उड्ने



सुदर्शन सापकोटा
काठमाडौं, चैत २०
नयाँ व्यवस्थापनसहित अग्नी एयर अर्को साताबाट फेरी उड्ने भएको छ। नयाँ व्यवस्थापनले लगानी गर्ने प्रकृया  थालिसकेकाले अग्नी उड्ने निस्चित भएको हो।
अग्नी एयर बैंकको ऋण र सरकारी निकायलाई वुझाउनु पर्ने शुल्क तिर्न नसकेर उड्न नसक्ने गरि 'ग्राउन्डेड' भएको थियो। घरजग्गा व्यवसायी सुधिर वस्नेत र समूहले सञ्चालन गरेको अग्नीमा नयाँ व्यवस्थापनले अधिकांस सेयर लिएर उडाउन लागेकोे हो। अग्नीले दसैंपछि उडान भर्न छाडेको थियो।
'अग्नी एयर फेरी उडाउने निस्चित भएको छ,' लगानीसहित नयाँ व्यवस्थापन सम्हाल्न आएका विनोद पुरीले मंगलबार नागरिकसँग भने,'बैंकको पहिलो किस्ता तिरेका छौं। वाँकी प्रकृयाहरु पुरा गरेर उडाउने छौं।' उनी अग्नी एयरका पूर्वक्याप्टेन पनि हुन्।
नयाँ व्यवस्थापनले पुरानोसँग ७० प्रतिशत सेयर लिएर अग्नी एयर उडाउन लागेको हो। वस्नेत र उनको समूहसँग अब ३० प्रतिशत सेयर मात्र रहने छ। स्रोतका अनुसार, नयाँ व्यवस्थापनले बैंकलाई २ करोड रुपैयाँ वुझाइ सकेको छ। वाँकी रकम पनि केही दिनमै वुझाउने तयारीमा नयाँ व्यवस्थापन छ। 
असोजदेखि ऋणको किस्ता तिर्न छाडेपछि बैंकले अग्नी एयरको लिलामी समेत थालिसकेका थिए। वस्नेतले लिलामी रोक्नका लागि निवेदन दिएपछि अदालतको निर्देशनमा लिलामी प्रकृया स्थगित भएको थियो। 
लिलामी प्रकृया स्थगितसँगै नयाँ व्यवस्थापनको विकल्पमा छलफल सुरु भएको थियो। बैंक, पुरानो व्यवस्थापन र नयाँ व्यवस्थापनबीच सकारात्मक छलफल भएपछि थप लगानीसहित अग्नी एयर उड्ने भएको हो।

'आर्थिक हिसाव मिलाएसँगै जहाज मर्मत संहार सुरु गर्छौं,' पुरीले भने,'सामान्य मर्मतपछि जहाज उड्न योग्य हुने छ।' अग्नी एयरको नाममा एउटै ऋण ६५ करोडको छ। ग्रान्ड बैंकको नेतृत्वमा सनराइज बैंक र आइएलएफसी वित्तीय संस्थाले सहवित्तीयकरणमा अग्नीलाई लगानी गरेका थिए। अग्नीको नाममा कमर्ज एन्ड ट्रष्ट बैंक र सिभिल बैंकमा करिव २ करोड रुपैयाँ ऋण छ। 
स्रोतका अनुसार, अग्नी उडाउनका लागि नयाँ व्यवस्थापनले तीन वटा त्रैमास (असोज, पुस र चैत) को किस्ता तिर्न सहमति भएको छ। तीन वटा किस्ता गरेर करिव १२ करोड रुपैयाँ तिर्न नयाँ व्यवस्थापन सहमत भएको छ। नयाँ व्यवस्थापनले अग्नी उडाउनलाई नेपाल नागरिक उड्यान प्राधिकरणलाई मासिक भाँडा, बिमा शुल्क, कर्मचारी तलव तथा सुविधा पनि भुक्तानी गर्नु पर्ने हुन्छ। ऋणवाहेकका खर्च मिलाउन   अग्नी व्यवस्थानले अरु तीन करोड रुपैयाँ खर्चिनु पर्नेछ।
अग्नी एयर आर्थिक संकटमा परेपछि केही स्थानीय र विदेशी लगानीकर्ता अधिकांस स्वामित्व लिएर खरिदका लागि  इच्छुक देखिएका थिए। अहिलेको नाम परिवर्तन गरेर उडाउने गरि ६ वटा लगानीकर्ता आएका थिए। बस्नेत समूहले नाम परिवर्तन गर्न नमानेपछि कुराकानी अगाडि वढेको थिएन। बस्नेत समूहले ऋण तिर्न नसकिरहेकै बेला अग्नी एयरका पूर्व क्याप्टेन र स्थानीय लगानीकर्ता पैसा हाल्न तयार भएपछि अग्नी उड्ने भएकोे हो। 
अग्नीका पाँच वटा जहाजमध्ये तत्काल २ वटा जहाज उडाउने छ। गत आर्थिक वर्ष २८ करोड रुपैयाँ खुद नाफा गरेको अग्नी एयरमा ग्रान्ड र सनराइजले ३५ प्रतिशतका दरले र वाँकी ३०  प्रतिशत आइएलएफसीले ऋण लगानी गरेका छन्। 
बैंकहरूले अग्नीका पाँचवटा जहाज, सम्पूर्ण पार्टपुर्जा तथा भक्तपुरका विभिन्न ठाउँमा रहेका जग्गा, घरलगायत धितो राखेर ऋण लगानी गरेका छन्। बैंकहरुले २९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम–४१ र १९ सिटे दुईटा डोर्नियर–२२८ मोडेलका जहाज धितोमा ऋण दिएका हुन्। 
अग्नि एयर प्रालि २०६० पुस १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। यसका सञ्चालक र व्यक्तिगत जमानीकर्ता सुशील बस्नेत हुन्। अग्नी एयरका सञ्चालकको रियलस्टेटमा ठूलो रकम …फ्रिज' भएका कारण नगद प्रवाह हुन नसकेर जहाजको ऋण तिर्न सकेका थिएनन्। पुराना सञ्चालकले ऋण भुक्तान गर्न नसकेर जहाज ग्राउन्डेड भएपछि नयाँ व्यवस्थापनले सेयर लिएर उडाउने भएको हो।



No comments:

Post a Comment

thanks for comment