एनबी बैंकको सेयर खरीद प्रकृया : मागेजति सेयर नदिएको भन्दै आइएफआइसीले पैसा पठाउन मानेन


सुदर्शन सापकोटा
काठमाडौं,  वैशाख १०
नेपाल राष्ट्र बैंकले एनबी बैंकको वहुमत सेयर किन्न स्वीकृति नदिएको भन्दै बंगलादेशी साझेदारले पैसा पठाउन अस्वीकार गरेको छ। राष्ट्र बंैकले एनबी समूहको पकडमा गरेको १७ प्रतिशत सेयरमध्ये १२ प्रतिशत मात्र किन्न स्वीकृति दिएपछि बंगलादेशी साझेदार   आइएएफआइसी बैंकले पैसा पठाउन अस्वीकार गरेको हो।
आइएफआइसी बैंकसँग एनबी समूहले २ सय ६० रुपैयाँका दरदे सबै सेयर किन्न समहति गरेको थियो। सहमति अनुसार, समूहले राष्ट्र बैंकलाई १७ प्रतिशत सेयर विक्रीको स्वीकृति दिन माग गरेको थियो। राष्ट्र बैंकले आंशिक सेयर मात्र विक्री गर्न स्वीकृति दिएपछि आइएफआइसी बैंकले १२ प्रतिशत सेयरको पैसा पठाउन अस्वीकार गरेको हो।
सञ्चालक समिति सदस्यबाट वाहिरिएको एक वर्षपछि मात्र सञ्चालकले आफ्नो स्वामित्वको सेयर विक्री गर्न पाउने कानुनी व्यवस्थाका कारण राष्ट्र बैंकले ५ प्रतिशत विक्री गर्न स्वीकृति नदिएको हो। एनबी समूहको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समितिमा लक्ष्मीवहादुर श्रेष्ठ  गएका थिए। उनले सञ्चालक पद छाडेको पाँच महिना मात्र भएको छ।
आइएफआइसीले एनबी समूहको सबै सेयर किन्न दिने भए मात्र १२ प्रतिशत सेयरको पैसा पठाउने जनाएको छ। यसका लागि आइएफआइसली राष्ट्र बैंकको लिखित प्रतिवद्धता माग गरेको छ। 
'आइएफआइसीले बहुमत सेयर चाहेका छन्। त्यो सेेयरको प्रत्याभूति हुने वित्तिकै पैसा पठाउने छन्,' एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले मंगलबार नागरिकसँग भने, 'यसका लागि आवश्यक प्रकृया सुरु भइसकेको छ।'
स्रोतका अनुसार, राष्ट्र बैंकले एनबी समूहका सञ्चालकले छाडेको एक वर्ष पुग्ने वित्तिकै वाँकी पाँच प्रतिशत सेयर किन्न स्वीकृति दिने प्रतिवद्धता गरे १२ प्रतिशत सेयरको पैसा पठाउने जानकारी गराएको छ। आइएफआइसीले पैसा पठाउन अस्वीकार गरेपछि एनबी समूहका सदस्यहरुले उसलाई ढाकामा भेटेर एक वर्षमा सबै सेयर दिने आश्वासन दिएका थिए। 

समूहको आश्वासनपछि आइएफआइसीका अधिकारीहरुले राष्ट्र बैंकको 'प्रत्याभूतिपत्र' भए पैसा पठाउने बताएका थिए। ढाकामा भएको सहमति अनुसार बैंकले 'प्रत्याभूतिपत्र' लेखिदिन राष्ट्र बैंकसँग आग्रह  गरिसकेको छ। बैंक स्रोतका अनुसार, राष्ट्र बैंकले बैंकको आग्रहलाई सकारात्मक रुपमा लिएको छ।
राष्ट्र बैंकका उच्च अधिकारीहरु भने सेयर विक्री गर्न स्वीकृति दिएपछि एनबी बैंकको बारेमा केही पनि जानकारी नआएको बताउँछन्। 'सेयरको पैसा पठाउन नमानेको भन्ने केही पनि जानकारी आएको छैन,' ती अधिकारीले भने, 'बैंकले आधिकारिक जानकारी नगराइसकेकाले अहिले नै वोल्नु हतार हुन्छ।'
एनबी समूहले ऋण दूरुपयोग गरेर संस्था धरायसी भएपछि करिव १० वर्षअघि राष्ट्र बैंकले बंगलादेश बैंकको व्यवस्थापन जिम्मा लिएको थियो। समूहले केही ऋण भुक्तानी गरेपछि २०६६ माघ १  गते राष्ट्र बैंकले व्यवस्थापन हस्तान्तरण गरेको थियो। त्यतिखेर लिएको ऋण अझै भुक्तानी भएको छैन। बैंकबाट एनबी समूहलाई हटाउने रणनीति अनुसार नै राष्ट्र बैंकले सेयर विक्री गर्न स्वीकृति दिएको थियो। 
आइएफआइसी बैंकले आफ्नो (बंगलादेशको) केन्द्रीय बैंकबाट एनबी बैंकको ५१ प्रतिशत सेयर लिने स्वीकृति लिएको थियो। त्यो स्वीकृति अनुसारको सेयर नपाएपछि  तत्काललाई आइएएफआइसीले १२ प्रतिशत सेयरको रकम नपठाएकोे हो। 
आइएफआइसीको एनबी बैंकमा करिव २४ प्रतिशत सेयर छ। आइएफआइसीले एनबी समूहको १२ प्रतिशतसँगै ढाकाको बैंक एसियाको सेयर किन्न पनि स्वीकृति पाएको थियो। बैंक स्थापना (१८ वर्षअघि) गर्दा कानुनी जटिलताले बैंक एसियाको नाममा आइएफआइसीले एनबी बैंकको सेयर किनेको थियो। राष्ट्र बैंकले स्वीकृति दिएपछि ९.१८ प्रतिशत सेयर वोकेर बसेको आइएफआइसीले बैंक एसियाको नाममा रहेको १३.७७ प्रतिशत सेयर आफ्नो खातामा नामसारी गरिसकेको छ।
आइएफआइसी बैंकले पैसा पठाए त्यो रकम एनबी समूहले लिएको ऋण तिर्न प्रयोग हुने छ। आइएफआइसीले पैसा पठाए एनबी समूहलाई ९८ करोड ८८ लाख ९२ हजार रुपैयाँ प्राप्त हुने छ। समूहले एनबी बैंकबाट विभिन्न व्यक्ति तथा कम्पनीको नाममा लिएको करिव ६० करोड रुपैयाँ ऋण तिर्न वाँकी छ। श्रीलंका मर्चेन्टसँग जोडिएको ३८ करोडसहित ६० करोड तिर्न वाँकी हो। नबिल बैंकको २० करोड रुपैयाँ ऋण पनि तिर्न वाँकी छ। समूहले एनसिसी बैंक, मनकामना विकास बैंकलगायत अन्य वित्तीय संस्थाहरुबाट पनि ऋण चलाएको छ।
एनबी बैंकमा अहिले आइएफआइसीका तर्फबाट मोहम्मद लुत्फर रहमानले प्रतिनिधित्व गरेका छन्। उनी बैंक सञ्चालक समिति अध्यक्ष पनि हुन्। 
एनबी समूहका सदस्यहरुको नाममा अझै करिव ७ प्रतिशत सेयर छ। बैंकमा एनबी समुहका लक्ष्मीवहादुर श्रेष्ठको प्रत्यक्ष ३.५ प्रतिशत र जितवहादुर श्रेष्ठको ३.३ प्रतिशत सेयर छ। जितवहादुरका छोरा जेन श्रेष्ठको ०.६९ प्रतिशत सेयर छ। उनीहरु तीनै जना कालोसुचीमा छन्। 

No comments:

Post a Comment

thanks for comment