मूल्य वृद्धि १०.२ प्रतिशतले वढ्यो


काठमाडौं, बैशाख ३ 
सरकारी निकायहरुले अनुमान गरेविपरित मूल्य वृद्धि उच्च अंकले वढेको छ। एक वर्षअघिको तुलनामा मूल्य वृद्धि ३.२ प्रतिशत विन्दुले वढेको छ।
मूल्य नियन्त्रण गर्ने निकाय नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको साढे नौं प्रतिशतको मूल्य वृद्धि चालु वर्षको आठ महिनामा १०.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यति बेला मूल्य वृद्धि ७ प्रतिशतले मात्र वढेको थियो। 
राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा मूल्य वृद्धि साढे ८ प्रतिशतमा राख्ने लक्ष्यलाई  अर्धवार्षिक समिक्षामा वढाएर साढे नौं प्रतिशत पुर्‍याएको थियो। शंसोधित लक्ष्य पनि पुरा नहुने देखिएपछि केन्द्रीय बैंकका अधिकारीहरु मौद्रिक उपकरणबाट मात्र मूल्य नियन्त्रण गर्न नसकिने बताउन थालेका छन्।
राष्ट्र बैंकले खाद्य तथा पेय पदार्थको मूल्य वढेका कारण समग्र मूल्य वृद्धि माथि गएको जनाएको छ। अघिल्लो फागुनमा ४.२ प्रतिशतले मात्र वढेको खाद्य तथा पेय पदार्थको मूल्य यसपाली ११.३ प्रतिशतले वढ्यो। 
खासगरी माछा मासु , खाद्यान्न, दालगेडागुडीको मूल्य धेरै वढेको छ। माछामासुको मूल्य ५.८ प्रतिशतबाट वढेर १७.१ प्रतिशत पुगेको छ। घिउतेलको १३.३ प्रतिशतबाट १३.९ प्रतिशतमा उक्लिएको छ।
खाद्यान्नको २.४ प्रतिशतबाट वढेर १२.९ प्रतिशत र दाल तथा गेडा गुडीको मूल्य १.८ प्रतिशतबाट वढेर १२.६ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले लत्ताकपडा र जुत्ताचप्पलको मूल्य भने घटेको जनाएको छ। कपडा तथा जुक्ता चप्पलको मूल्य १५.२ बाट घटेर ११.५ प्रतिशतमा झरेको छ।
गैरखाद्य तथा सेवा क्षेत्रको मूल्य वृद्धि पनि सामान्य मात्र घटेको छ। अघिल्लो वर्ष ९.४ प्रतिशतले वढेको सेवा क्षेत्रको मूल्य यसपाली ९.३ प्रतिशतले मात्र वढेको हो। होटल तथा रेष्टुरेन्टको खाना तथा सेवाको मूल्य पनि वढेको छ। अघिल्लो फागुनमा ११.४ प्रतिशतले वढेको होटल र रेष्टुरेन्टको खाना तथा सेवाको मूल्य यसपाली १२.२ प्रतिशतले वृद्धि भएको छ। 
शिक्षामा पनि महँगी वढेको राष्ट्र बैंकले उल्लेख गरेको छ। शिक्षा क्षेत्रको मूल्य ८.९ बाट वढेर १२.५ प्रतिशत पुगेको छ। मूल्य वृद्धिको असर काठमाडौं उपत्यका, पहाड र तराई चारैतिर परेको छ। काठमाडौं उपत्यकामा मूल्यवृद्धि ५.६ बाट वढेर १०.८ प्रतिशत पुगेको छ। तराईको पनि ७.१ बाट वढेर १०.२ प्रतिशत र पहाडको ८.६ बाट वढेर ९.६ प्रतिशत पुगेको छ।

व्यापार घाटा एक चौथाइ वढ्यो
बस्तु निर्यातभन्दा आयात वढेका कारण व्यापार घाटा गत वर्षको भन्दा एक चौथाइ वढीले वृद्धि भएको छ। कुल व्यापार घाटा २५.२ प्रतिशतले वढेर ३०९ अर्ब ५५ करोड पुगेको तथ्यांक राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको छ। अघिल्लो वर्षको फागुनमा घाटा वृद्धि दर १७.१ प्रतिशत थियो। 
बस्तु निर्यात ५ प्रतिशतले वढ्दा आयात २२.१ प्रतिशतले उक्लिएकाले घाटा फराकिलो हुँदै गएको हो। चालु वर्ष वस्तु आयात ३६० अर्ब ५६ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष फागुनमा आयत वृद्धि दर १६.६ प्रतिशत थियो। अघिल्लो फागुन आयात २९५ अर्ब २४ करोडको भएको थियो। 
कुल आयातमध्ये भारततर्फको दोब्बरले वढेको छ। अघिल्लो वर्ष १२ प्रतिशतले वढेको भारततर्फको आयात २४.२ प्रतिशतले वढेको छ। तेस्रो मुलुकको आयात भने सामान्य घटेको छ। अघिल्लो बर्ष २६.३ प्रतिशतले वढेको आयात वृद्धि दर यसपाली १८.२ प्रतिशत छ। 
भारतबाट पेट्रोलियम पदार्थ, सवारी साधन, सिमेन्ट, चामल, औषधिलगायतको आयात वढेको छ। भारत वाहेकका तेस्रो मुलुकबाट भने पोसाक, पाइप, चाँदीलगायतको आयात वढेको छ।
बस्तु निर्यात ५ प्रतिशतले वढेर ५१ अर्ब १ करोड पुगेको छ। अघिल्लो वर्ष निर्यात १४.१ प्रतिशतले वढेर ४८ अर्ब ५६ करोड पुगेको थियो। भारततिरको निर्यात पोहोरको १४.५ प्रतिशतको वृद्धिको तुलनामा २ प्रतिशतले मात्र वढेको होे। तेस्रो मूलुकमा १३.५ प्रतिशतको तुलनामा अहिले ११.२ प्रतिशतले वढेको छ।
शोधनान्तर बचत
देशबाट वाहिरिनेभन्दा भित्रिने रकम (शोधनान्तर) बचत ११ अर्ब ७८ करोडमा झरेको छ। अघिल्लो वर्षको फागुनमा यस्तो बचत ८१ अर्ब ९ करोड रुपैयाँ थियो। वस्तु तथा सेवाको आयातमा भएको वृद्धि र रेमिट्यान्स वृद्धि दर घटेका कारण बचत घटेको राष्ट्र बैंकको विश्लेषण छ। 
विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) को वृद्धि दर ३४.७ प्रतिशतबाट घटेर २२.२ प्रतिशतमा झरेको छ। फागुनसम्म २ सय ६६ अर्ब ९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। 
यसपाली सरकार भने उच्च बचतमा छ। अघिल्लो वर्ष १७ अर्ब ४० करोड बचतमा रहेको सरकार यसपाली ३१ अर्ब ९४ करोड बचतमा छ। विकास खर्च गर्नन सकेका कारण सरकार बचतमा रहेको हो। सरकार बचतमा हुँदा विकास निर्माणको काम अवरुद्ध भएर रोजगारी श्रृजनाको अवशर गुम्छ। 
बैंक निक्षेप कर्जा
बैंक तथा वित्तीय संस्थाहरुले गर्ने ऋण लगानी १३.८ प्रतिशत अर्थात १ सय ३३ अर्ब ५१ करोडले वढेको छ। अघिल्लो वर्ष ७३ अर्ब २६ करोडले ऋण विस्तार भएको थियो। 
ऋण विस्तार वाणिज्य बैंकको १३.१ प्रतिशत, विकास बैंकको ८.५ प्रतिशत र फाइनान्स कम्पनीको ६.६ प्रतिशतले वढेको छ। कुल ऋण लगानीमध्ये निजी क्षेत्रमा जाने कर्जा १४.६ प्रतिशत अर्थात ११४ अर्बले वढेको छ। अघिल्लो वर्ष ४० अर्ब ७६ करोडले वढेको थियो। 
औद्योगिक उत्पादनतिरको कर्जा २३ अर्ब ८२ करोडले वढेको छ। अघिल्लो वर्ष १५ अर्ब ९३ करोडले वढेकेा थियो। कृषि कर्जा ४ अर्ब ९८ करोडले वढेकोमा अहिले ८ अर्ब ८९ करोडले वढेको थियो। निर्माण क्षेत्रको कर्जा ७ अर्ब ४४ करोडले वढेको छ। थोक तथा खुद्रा व्यापार कर्जा २६ अर्ब ८५ करोड, यातायात, सञ्चार र सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४ अर्ब ९७ करोडले वढेको राष्ट्र बैंकले जनाएको छ। 
बैंकिङ क्षेत्रको निक्षेप वृद्धि दर  भने घटेको छ। अघिल्लो वर्ष ११.४ प्रतिशत अर्थात ९४ अर्ब ७ करोडले वढेको निक्षेप यसपाली ६.८ प्रतिशत अर्थात ६८ अर्ब ६२ करोडले मात्र वढेको छ। 
निक्षेप वृद्धि वाणिज्य बैंकको ५.७ प्रतिशत, विकास बंैकको ८.५ प्रतिशत र फाइनान्स कम्पनीको ४.७ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष फाइनान्स कम्पनीको कर्जा वृद्धि  घटेको थियो। 





No comments:

Post a Comment

thanks for comment