मेगा बैंकका प्रमुख कार्यकारी अनिल शाह भन्छन्– आउँदो वर्ष नै लाभांस दिन्छौं


अनिल शाह
प्रमुख कार्यकारी अधिकृत
मेगा बैंक नेपाल
अनिल शाहको आइपिओ आउँदैछ यसमा लगानी गर्नु पर्छ भन्ने लगानीकर्ताको धारणा छ। तपाईको अनुहार हेरेर वाहेक मेगा बैंकको सेयर कुन आधारमा किन्ने?
मेगा बैंकको प्रमुख कार्यकारीको हिसावले भन्दा यो किन्नै पर्ने सेयर हो। तर, लगानीकर्ताले किन्नुभन्दा अगाडि चार वटा कुरालाई ध्यान दिनु आवश्यक छ। 
पहिलो, संस्थालाई कसले खोलेको। कस्ता प्रवर्द्धहरु छन् भन्ने कुरा वुझ्न आवश्यक छ। हाम्रोमा ६३ जिल्लाका १२ सय १९ जना प्रवर्द्धक छन्। प्रवर्द्धकहरुले नियुक्त गरेको सञ्चालक समिति कस्तो छ भनेर हेर्नु पर्छ। हाम्रो सञ्चालक समितिमा प्राध्यापक, अर्थशास्त्री र समाजमा राम्रो नाम कमाएका व्यक्तिहरु छन्। 
दोस्रो, बैंक कसले चलाइरहेको छ भनेर हेर्नु पर्ने हुन्छ। प्रमुख कार्यकारी को छ? माथिल्लो व्यवस्थापनमा को–को छन् ? सञ्चालकका भाइ भतिजाले चलाएका छन् कि व्यवसायिक बैंकरहरु नियुक्त गरिएको छ? यस्ता कुरालाई लगानी गर्नु पूर्व हेर्नु पर्छ। मेगा साढे २ वर्षको नयाँ बैंक भएपनि यसलाई पुराना र अनुभवी बैंकरहरुले चलाइरहेका छन्। 
तेस्रो, सञ्चालनमा आएपछि संस्थाले कस्तो प्रगति गरिरहेको छ भनेर हेर्नु पर्छ। हामीले पहिलो वर्ष २ करोड ४३ लाख नाफा गरेका थियौं। दोस्रो वर्ष ७ करोड १८ लाख। र, यो वर्षको पुससम्म ८ करोड ३९ लाख नाफा कमाइसकेका छौं। लगानी गर्नुको उद्देश्य भनेको प्रतिफल प्राप्तिका लागि हो। यो कुरालाई लगानीकर्ताले हेर्नु पर्छ। 
चौथो, लगानी गर्न लागिएको संस्थाको भविस्यको सोच के हो त्यो हेर्नु पर्छ। मेगा बैंकको स्पपष्ट छ– हामी आर्थिक समावेशीतामा आधारित भएर 'हलोदेखि हाइड्रोसम्म' लगानी गर्छौं। यि चार कुरा विश्लेषण गर्दा मेगा बैंकको सेयर लगानीका लागि एकदमै आकर्षक छ। 


बैंकले लगानीकर्तालाई प्रतिफल चैं कस्तो दिन्छ?
सबै प्रकृया सकेर सेयर निस्कासको स्वीकृति लिन हामी धितोपत्र वोर्ड गइसकेका छौं। त्यहाँबाट स्वीकृति लिएर वैशाख १५ सम्म सेयर निस्कासन गर्ने हाम्रो योजना छ। चालु वर्षको पुससम्म ८ करोड नाफा गरिसकेका छौं। यसलाई हेरेर चालु वर्षभरीको नाफा कति हुन्छ भनेर अनुमान गर्न सकिन्छ। 
व्यवस्थापनको प्रयास पहिलादेखि पैसा हालेका प्रवर्द्धक र नयाँ आउने सेयरधनी निरास नहुने गरी लाभांस दिने रहन्छ। यसमा चुनौतीहरु पनि छ। पहिलो लाभांस तीन वर्षको नाफाबाट दिइन्छ। जसले गर्दा यसको आकार ठूलो हुन्छ। त्यसपछिको लाभांस त वार्षिक नाफाबाट मात्र हुन्छ। पहिलो वर्ष धेरै दिएर त्यसपछि कम दिँदा त्यति रमाइलो हुँदैन। त्यही भएर समानुमातिक रुपमा मिलाएर लाभांस दिने योजना छ। मेगा बैंकको सेयरबाट अल्पकालिन प्रतिफल पनि राम्रो प्राप्त हुने  छ।  वर्षौ सेयर राखिरहने लगानीकर्ताले पनि नियमित प्रतिफल पाइरहने भएकाले दीर्घकालिन लगानीका सिहवाले पनि यो सेयर उत्तम छ। 

साढे २ वर्षको अवधिमा मेगाले कतिपय पुराना बैंकको भन्दा राम्रो व्रान्ड स्थापित गर्न सफल भएको छ। कसरी मूल्यांकन गर्नु हुन्छ?
हामीसँग छोटो अवधिमै एक लाख ग्राहक पुगिसकेका छन्। १२ अर्ब निक्षेप संकलन गरेर साढे ११ अर्ब लगानी गरिसकेका छौं। सुरुमा आउँदा अनिल शाहको नामले बैंक चिनिएको थियो। अहिले पनि धेरथोर मेरो नामले चिनिने गरेको छ। तर, पाँच वर्षपछि मेगा बैंकको नाम अनिल शाहको नामभन्दा धेरै ठूलो हुने छ। त्यसपछि मेगा बैंकको नामले म चिनिन थाल्ने छु, यसरी मेगाको व्रान्ड स्थापित हुँदै गएको छ। नयाँ बैंक भएपनि आज १० वटा बैंकको नाम कसैले लिन्छ भने  त्यसभित्र मेगा बैंक पर्छ नै। हामीले अहिले नेपालीको विश्वास जित्दै मेगाको नाम बनाइरहेका छौं। भिजनमा पनि 'हलोदेखि हाइड्रोसम्म' भन्ने छ। यस्तो भिजन भएको नेपालमा बैंक छैन। हाम्रो नाम मात्रै होइन यसले के गर्न खोजिरहेको छ भन्नेसम्म सबैले थाहा पाएका छन्। यो ठूलो उपलब्धि हो। 

हलोदेखि हाइड्रोसम्म भन्ने नारा त आयो। यो अवधिमा हलो र हाइड्रोमा के गर्नु भयो?
यो नारालाई हलो र हाइड्रो सम्ममा मात्र वुझेर हुँदैन। यो भनेको 'समावेशी विजनेस मोडल' हो। हाम्रो मोडल पहाडको आकारमा छ। माथि कर्पोरेट क्षेत्र छ। बीचमा साना तथा मझौला उद्यम (एसएमइ) र तल लघु तथा विपन्न (माइक्रो  क्रेडिट) कर्जा सेवा छ। हामीले तीन वटै क्षेत्रमा सेवा दिनका लागि शाखाका साथै शाखारहित सेवा पनि सुरु गरिरहेका छौं। 
गाउँगाउँमा पुग्न हामीले शाखारहित बैंकिङ सेवालाई अगाडि वढाइ रहेका छौं। यो वर्ष ४५ ठाउँमा यो सेवा पुग्ने छ। शाखारहित सेवा हामीले पहिला गरेको होइन, अरुले नै सुरु गरेका थिए। तर नाम हाम्रो अगाडि आयो। हामीले सेवा पुर्‍याएको ठाउँमा गएर पैसा राख्नुस् व्याज पाउनु हुन्छ भन्ने मात्र गरेनौं। उनीहरुलाई चाहिएको ऋण सुविधा पनि दियौं। कसैलाई एउटा भैंसीलाई चार वटा वनाउनु पर्ने छ। गोलभेडा उमार्नु छ। माछा पाल्नु छ। यो गर्नलाई स्थानीयले वित्तीय सुविधा पाएका थिएनन्। हामीले त्यो गर्न ऋण दियौं। हामीले सानो सानो समूहहरु निर्माण गरेर ऋण विस्तार गरिरहेका छौं। करोडौं लगानी गरेका छौं। ६ महिनामा हामीले ५५ करोड लगानी गरेका छौं। 
हामी एसएमइमा अगाडि छौं। यो वर्ष कुल ऋणको ४० प्रतिशत एसएमइमा लगानी गर्ने योजना छ। एसएमइ हाम्रो अल्पकालिन योजना हो। बीचको योजना माइक्रो क्रेडिट हो। माइक्रोमा अलिकति समय लाग्छ। 

एसएमइको नारा सरकार तथा राष्ट्र बैंकले पनि वोकेको छ। तर बैंक तथा वित्तीय संस्था भनिएजस्तो जान सकिरहेका छैनन्। यसमा जान व्यवहारिक कठिनाइ के रहेछ? 
सबभन्दा गाह्रो भनेको यस क्षेत्रमा छिर्ने सोचाइ बनाउनु नै हो। मेगा आउनु अगाडि म पनि गाउँतिर जाने पक्षमा थिइन। मेगा आएपछि नेपालमै वसेर बैंकिङ गर्ने हो भने कर्पोरेट मात्र ताकेर हुँदैन भन्ने वुझेँ। दीगो व्यवसाय गर्ने हो भने केही फरक गर्नै पर्छ। …दुखिला भुखिला' नेपालीलाई …सुकिला मुकिला' बनाउनतिर लागियो भने व्यापार पनि हुन्छ र परोपकार पनि। यसले व्यवसायलाई स्थायित्व पनि दिन्छ। त्यही भएरु हामी एसएमइ र माइक्रो क्रेडिटमा आएका हौं। 
यस क्षेत्रमा बैंकिङ क्षेत्रलाई आकर्षित गर्न नीतिगत सहयोग पनि आवश्यक छ। त्यो भनेको कुनै पनि नीतिले यो क्षेत्रलाई नकारात्मक असर पारिदिनु भएन। जस्तो सरकारले तीस हजार रुपैयाँको ऋण मिनाह गरिदियो भने यसले दीर्घकालिन असर गर्छ। यस्तो गरियो भने सानो–सानो ऋण लिनेहरुलेे सरकारी बैंकबाट ऋण लियो भने भविस्यमा मिनाहा हुन्छ भन्ने सोच्न थाल्छन्। निजी बैंकबाट पैसा लिनु हुँदैन लियो भने तिर्नु पर्छ भन्ने पर्छ। वा निजी बैंकको नतिर्ने भनेर आन्दोल सुरु हुन सक्छ। यस्तो कार्य नीति निर्माताले गर्दिनु हुँदैन। अर्को चैं सरकार तथा गैरसरकारी संस्थाहरुले स्थानीय स्तरमा गएर व्यापार  व्यवसाय तथा उद्यम गर्न प्रोत्साहित गर्दै सीप सिकाउनु पर्छ। सीप भयो भने बैंकलाई लगानी गर्न सजिलो हुन्छ। जसले गर्दा स्थानीयस्तरमै रोजगारी श्रृजना हुन्छ। 

बैंकको आगामी  योजना र रणनीति के छन्?
हाम्रो रणनीति कर्पोरेटमा लगानी कम गर्दै एसएमइमा  लगानी वढाउँदै लैजाने हो। यसको मतलव कर्पोरेट गर्दै नगर्ने भन्ने होइन। अहिले नयाँ र ठूलो कर्पोरेट आएको छैन। अहिले भएका कर्पोरेटलाई ३२ वटा बैंकले तान्ने काम भइरहेको छ। भोली संविधान आएर आर्थिक विकास हुन थाल्यो भने नयाँ कर्पोरेट आउँछन्। त्यो बेला कर्पोरेट फेरी वढाउन सकिन्छ। अहिलेलाई एसएमइ र माइक्रोमा लगानी वढाउने हो। शाखारहितलाई अझ वढाउँदै लग्ने छौं। यसमा जोखिम पनि कम छ। एउटा कर्पोरेरट डुव्यो भने बैंक समस्यामा पर्न सक्छ तर एउटा एसएमइ डुब्यो भने बैंकलाई केही पनि असर गर्दैन। 
साधारण सेयर निस्कासपछि हामी क्षेत्रीयस्तरमा पनि जाने तयारीमा छौं। यो भनेको इन्डिया चाइना हुन सक्छ। खाडी क्षेत्र पनि हुन सक्छ। त्यहाँ हामी फरक हिसावले जान्छौं। रेमिट्यान्स एजेन्सीका हिसावले होइन बैंक बनेर जानेछौं। पाँच वर्षमा ५० वटा शाखा खोल्छौं। 

No comments:

Post a Comment

thanks for comment