लगानी वढाउन बैंकको ऋणपत्र आउँदै


काठमाडौं, चैत २६
तीन वटा वाणिज्य बैंकले ऋणपत्र निस्कासन गर्ने भएका छन्। पुँजी पर्याप्तता अनुपात कम हुँदै गएपछि एभरेष्ट, किस्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र जारि गर्न लागेका हुन्। 
ऋणपत्र जारि गर्नका लागि यि बैंकले नेपाल धितोपत्र वोर्डमा आवेदन दिइसकेका छन्। धितोपत्र वोर्डबाट स्वीकृति पाएपछि बैंकले ऋणपत्र जारि गर्न पाउँछन्। भर्खरै बैंक अफ काठमाण्डू र सिद्धार्थ बैंकले स्वीकृति पाइसकेका छन्। सिद्धार्थ बैंकले विक्री सुरु नै गरिसकेको छ।
'केही बैंक ऋणपत्र जारि गर्न स्वीकृति माग गर्दै आएका छन्,' वोर्डका प्रवक्ता निरज गिरिले नागरिकसँग भने, 'प्रकृया पुरा गरेर उनीहरुलाई स्वीकृति दिन्छौं।' बैंकहरुलेे जारि  गर्ने ऋणपत्रको प्रति कित्ता अंकित मूल्य एक हजार रुपैयाँ हुन्छ। ऋणपत्र न्युनतम २५ कित्ता किन्नै पर्ने हुन्छ। 
एभरेष्ट बैंकले नौं वर्ष अवधिको ऋणपत्र जारि गर्न लागेको छ। बैंकले ८ प्रतिशत व्याजको ७० करोड रुपपैयाँ बराबरको ऋणपत्र जारि गर्न  लागेको हो। किस्टले साढे पाँच वर्ष अवधिको ऋणपत्र जारि गर्दैछ। बैंकले ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा ९ प्रतिशत व्याज दिने गरि वोर्डमा आवेदन दिएको छ। 
नेपाल इन्भेष्टमेन्ट बैंकले ६ वर्ष अवधिको ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारि गर्न लागेको हो। बैंकको ऋणपत्रमा सर्वसाधारणलाई ८ प्रतिशत व्याज तोकिएको छ। यसअघि स्वीकृति पाएको सिद्धार्थले ५० करोडको ऋणपत्रमा ८ प्रतिशत व्याज तोकेको छ। बैंकको ऋणपत्र ६ वर्ष अवधिको हो। बैंक अफ काठमाण्डूको ४० करोडको ऋणपत्र हो। ६ वर्षे अवधिको ऋणपत्रमा ८ प्रतिशत व्याज तोकिएको छ। 
पुँजी पर्याप्तता अनुपात कम हुँदै गएपछि बैंकहरुले ऋणपत्र जारि गर्छन्। ऋणपत्रको पैसालाई पुँजीका रुपमा गणना गर्न पाइन्छ। यसले गर्दा बैंकहरुको पुँजी पर्याप्तता अनुपात माथि पुग्छ। 
पुँजी पर्याप्तता अनुपात न्युनतम १० प्रतिशत हुनै पर्छ। नाफाबाट लाभांस वितरण गर्नका लागि अनुपात ११ प्रतिशत पुग्नु पर्छ। पुँजी पर्याप्तता अनुपात कम हुँदै गएपछि बैंकहरुसँग निक्षेप भएपनि लगानी गर्न सक्दैनन्। 
बैंकहरुले १ सय रुपैयाँ ऋण दिनु परे ९० रुपैयाँ मात्र निक्षेपकर्ताको पैसा प्रयोग गर्न पाउँछन्। वाँकी १० रुपैयाँ सेयरधनीले आफ्नो कोष (पुँजी) बाट हाल्नु पर्छ। 
ऋणपत्र जारि गर्न लागेको नेपाल इन्भेष्टमेन्ट बैंकको पुस मसान्तसम्म पुँजी पर्याप्तता अनुपात ११.५१ प्रतिशत छ। किस्ट बैंकको १०.९ प्रतिशत छ भने एभरेष्ट बैंकको ११.१३ प्रतिशत छ। पुँजी कोष  ११ प्रतिशत नपुग्ने कारणले इन्भेष्टमेन्ट र एभरेष्टले नाफाको अनुपातमा नगद लाभांस वितरण गर्न सकेका थिएनन्।
ऋणपत्र जारि गर्दा बैंकहरुलाई दीर्घकालिन भार पर्दैन। ऋणपत्र किन्नेलाई वार्षिक व्याज दिए पुग्छ। पुँजी वढाउन हकप्रद सेयर जारि गर्दा लगानीकर्ताहरुले पैसा नहाल्न सक्ने हुन सक्छ। ऋणपत्रले पुँजीकै जस्तो काम गरेपनि नाफाबाट वितरण गरिने प्रतिफल उनीहरुलाई वितरण गर्नु पर्दैन। 

No comments:

Post a Comment

thanks for comment