राष्ट्र बैंकले दियो एनबी समूहको सेयर विक्री गर्न स्वीकृति


काठमाडां, चैत १२
राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकमा रहेको एनबी समुहको प्रवर्द्धक सेयर बंगलादेशी साझेदारलाई विक्री गर्न अन्तिम स्विकृति दिएको छ। राष्ट्र बैंक सञ्चालक समिति वैठकले स्वीकृति दिएसँगै आइएफआइसी बैंकको एनबी बैंकमा सेयर स्वामित्व ४१.१८ प्रतिशत पुगेको छ।
एनबी समूह र आइएफआइसी बैंकबीच प्रति कित्ता २ सय ६० रुपैयाँका दरले सेयर खरिद गर्न सम्झौता भइसकेको छ। बंगलादेशी साझेदार आइएफआइसी बैंकले समूहको ३८ लाख ३ हजार ४ सय ३४ किक्ता सेयर गर्न स्वीकृति पाएको हो। सेयर खरिदबाट एनबी समूहलाई ९८ करोड ८८ लाख ९२ हजार ८ सय ४० रुपैयाँ प्राप्त भएको छ। 
'संस्थागत संस्थापक समूहको सेयर विक्री गर्ने अनुमति दिएका हौं,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले नागरिकसँग भने। राष्ट्र बैंकले २८ प्रतिशत सेयर विक्रीका लागि अनुमति दिएको हो। सेयर विक्रीबाट आएको रकमले एनबी बैंक र नबिल बैंकको ऋण चुक्ता गर्न पुग्छ।
स्रोतका अनुसार, समूहले एनबी बैंकबाट विभिन्न व्यक्ति तथा कम्पनीको नाममा लिएको करिव ६० करोड रुपैयाँ ऋण तिर्न वाँकी छ। श्रीलंका मर्चेन्टसँग जोडिएको ३८ करोडसहित ६० करोड तिर्न वाँकी हो। नबिल बैंकको २० करोड रुपैयाँ ऋण पनि तिर्न वाँकी छ। समूहले एनसिसी बैंकलगायत अन्य वित्तीय संस्थाहरुबाट पनि ऋण चलाएको छ।
विक्रीअघि एनबी समूहको बैंकमा विभिन्न कम्पनीको नाममा ६० लाख कित्ता सेयर थियो । सेयर खरिद–विक्री सम्झौतामा एनबी समूहका प्रबन्ध निर्देशक लक्ष्मीवहादुर श्रेष्ठ र आइएफआइसी बैंकका प्रबन्ध निर्देशक एम शाह आलम सरवाले वंगलादेशको राजधानी ढाकामा हस्ताक्षर गरेका थिए। 

सञ्चालक समितिबाट हटेको एक वर्षसम्म सेयर विक्री गर्न नपाइने कानुनी व्यवस्थाका कारण वाँकी सेयर एनबी समूहसँगै छ। समूहका सदस्य केही महिना अघिसम्म एनबी बैंककै सञ्चालक थिए। ऋण भुक्तानी नगरेको भन्दै नबिल बैंकको सिफारिसमा समूहका सबै सदस्य कर्जा सुचना केन्द्रको कालोसुचीमा परेपछि तीन महिनाघि सञ्चालकबाट हटेका थिए। 
राष्ट्र बैंकले आइएफआइसीलाई एनबी बैंकको अर्को साझेदार बैंक एसिया ढाकाको सेयरसमेत खरिद गर्न स्वीकृति दिएको छ। बैंक एसियाको २६ लाख ६७ हजार ५ सय कित्ता सेयर छ। सेयर विक्रीसँगै बैंक एसिया एनबी बैंकबाट पूर्ण रुपमा वाहिरिको छ। 
बैंकको ९.१८ प्रतिशत सेयर वोकेर बसेको आइएफआइसीसँग अब ४१.१८ प्रतिशत सेयर पुगेको छ। बैंक एसियासँग १३.७७ प्रतिशत सेयर थियो। 
कालोसुचीमा परेका श्रेष्ठलाई बैंकिङ कसुर गरेको अभियोगमा प्रहरीले अनुसन्धानका लागि खोजिगरिरहेको छ। प्रहरीले उनलाई फरार सुचीमा राखेको छ।  
समूहले आफ्नो सेयर धितो राखेर विभिन्न व्यक्ति तथा संस्थाको नाममा श्रीलंका मर्चेन्टबाट ऋण चलाएको थियो। एनबी बैंकसँग मर्जर स्वीकृति पाएपछि अनियमित तवरबाट सेयर धितोमा ऋण उपलब्ध गराइएको थियो। 
बैंकमा एनबी समुहका लक्ष्मीवहादुर श्रेष्ठको प्रत्यक्ष ३.५ प्रतिशत र जितवहादुर श्रेष्ठको ३.३ प्रतिशत सेयर छ। जितवहादुरका छोरा जेन श्रेष्ठको ०.६९ प्रतिशत सेयर छ। उनीहरु तीनै जना कालोसुचीमा छन्। सञ्चालक समितिमा प्रतिनिधित्व गरेको सेयर त्यहाँबाट हटेको एक वर्ष नपुगेकाले विक्री नगरिएको हो। 
एनबी समूहले ऋण दूरुपयोग गरेर संस्था धरायसी भएपछि करिव १० वर्षअघि राष्ट्र बैंकले बंगलादेश बैंकको व्यवस्थापन जिम्मा लिएको थियो। समूहले केही ऋण भुक्तानी गरेपछि २०६६ माघ १  गते राष्ट्र बैंकले व्यवस्थापन हस्तान्तरण गरेको थियो। त्यतिखेर लिएको ऋण अझै भुक्तानी भएको छैन। 
वित्तीय क्षेत्रमा बद्नाम एनबी समूहको झल्को दिने नाम भएकाले यसलाई परिवर्तन गर्ने तयारीमा सञ्चालक समिति छ। बैंकको साधारणसभाले नाम परिवर्तन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजना गरिसकेको छ। 
एनबी समुहसँग आवद्ध भएका कुनै पनि कम्पनीको अवस्था राम्रो छैन। उनीहरुले हात हालेको सबै क्षेत्रमा आर्थिक वेथितिहरु भेटिने गरेको छ। एनबी समुहकै वद्मासिका कारण केही वर्षअघि बंगलादेश बैंक समस्यामा परेको थियो। 
चलिरहेको हरिसिद्धि इटा टायल उद्योग एनबी समुहको हातमा गएपछि बन्द भएको थियो। एनबी समुहको सेयर रहेको नेसनल हाइड्रो पावर कम्पनीको अवस्थामा पनि नाजुक छ। एनबी इन्स्योरेन्समा आर्थिक अनियमितता भेटिएपछि बिमा समितिले केही महिनाअघि कारवाहीसमेत गरेको थियो। 

No comments:

Post a Comment

thanks for comment