बैंकमा प्रतियोगिताबाट छनौट गरि कर्मचारी नियुक्त गर्नु पर्ने


सुदर्शन सापकोटा
काठमाडौं, चैत १५
बैंक तथा वित्तीय संस्थाहरुले खुला प्रतियोगिताबाट मात्र नयाँ कर्मचारी राख्न पाउने भएका छन्। अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले आन्तरिक रुपमै नातागोता, आफन्तहरुलाई जागिर ख्वाउने गरेको भेटिएपछि राष्ट्र बैंकले खुला प्रतियोगिताबाट नयाँ कर्मचारी नियुक्त गर्न निर्देशन दिने तयारी गरेको छ।
राष्ट्र बैंकले आठ वर्षपछि शंशोधन गर्न लागेको कर्मचारी सेवा विनियमावलीमार्फत खुला प्रतियोगिताबाट नयाँ कर्मचारी नियुक्त गर्न निर्देशन दिन लागेको हो। राष्ट्र बैंकले आवश्यक संशोधन गर्न सुझावका लागि बैंकर संघलाई तीन वटा विनिममावली पठाएको छ। 
संघले राष्ट्र बैंकलाई सुझाव दिन सदस्य बैंकहरुसँग छलफल गरिरहेको छ। संघले आउँदो साता आफ्नो सुझाव राष्ट्र बैंक पठाउने छ। संघको सुझाव समेटेर राष्ट्र बैंकले निर्देशन जारि गर्ने छ।
संघलाई पठाएको कर्मचारी सेवा, आर्थिक प्रशासन र कर्जा अपलेखन विनियमावलीमा पूर्ति गर्नुपर्ने पदका पदपुर्ति समिति गठन गरि विज्ञापन प्रकासित गर्नु पर्ने उल्लेख छ। समितिले लिखित परीक्षा र अर्न्तवार्ताबाट कर्मचारी छनौंट गर्नु पर्ने हुन्छ। 
बैंक तथा वित्तीय संस्थाका पदपुर्ति समितिले पूर्ति गरिने आवश्यक पदको संख्या निर्धारणको लागि अध्ययन गरी प्रमुख कार्यकारी अधिकृतलाई प्रतिवेदन पेश गर्ने हुन्छ। 
अहिले ३२ वाणिज्य बैंक, ९० विकास बैंक र ६९ वटा फाइनान्स कम्पनी सञ्चालनमा छन्। केही वाणिज्य बैंकवाहेक अधिकांसले आवश्यक कर्मचारी आन्तरिक रुपमा नै नियुक्त गर्दै आएका छन्। आन्तरिक रुपमा कर्मचारि नियुक्त गर्दा पहुँच नभएकाहरुले बैंक तथा वित्तीय संस्थामा जागिर नपाउने अवस्था आएकाले राष्ट्र बैंकले खुला प्रतियोगितामार्फत कर्मचारी नियुक्त गर्नु पर्ने व्यवस्था मिलाउन लागेको हो।
'संगठित क्षेत्रका संस्थाले रिक्त पदमा कर्मचारी नियुक्त गर्दा निस्पक्ष र पारदर्शीता अपनाउन् भनेर प्रतियोगिताको व्यवस्था गर्न खोजिएको छ,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले बिहीबार नागकिसँग भने,'यसले गर्दा बैंक तथा वित्तीय संस्थाले पनि दक्ष कर्मचारी पाउँछन्।' 

नायव कार्यकारी प्रमुखको संयोजकत्वमा पदपूर्ति समिति ठगन गर्नु पर्ने हुन्छ। समितिमा कार्यकारी प्रमुखले तोकेको विभागीय प्रमुख र जनशक्ति व्यवस्थापन विभागको प्रमुख सदस्य रहने छन्। 
राष्ट्र बैंकले सञ्चालक समितिको एक जना सदस्यको संयोजकत्वमा कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा समिति गठन गर्ने व्यवस्था पनि मिलाउन लागेको छ। बढीमा पाँचजना सदस्य रहने समितिले कर्मचारी व्यवस्थापन र तलव सुविधा मिलाउने काम गर्ने छ।
'सबै बैंक तथा वित्तीय संस्थाको कर्मचारी सेवा, आर्थिक प्रशासनलगायतको एउटै ढाँचा (मोडेल) होस् भनेर विनियमावली शंशोधन गर्न लागिएको छ,' ज्ञवालीले भने, 'शंसोधानका लागि हामीले  सुझाव संकलन गरिरहेका छांै।' उनले एउटैले निर्णय गर्दा अनियमितता हुने भएकाले संस्थागत विकास गर्न सामूहिक निर्णय होस् भनेर समय सन्दर्भ अनुसार विनियमावली   शंसोधन गर्न लागिएको जानकारी दिए।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पनि असाधारण विदा पाउने व्यवस्था गर्न लागेको छ। पहिलो पटक गर्न लागिएको यो व्यवस्था अनुसार, असाधारण विदा १० वर्ष स्थायी जागिर खाएको कर्मचारीले पाउने छ। 
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका  विविभन्न पदका कर्मचारीहरुको न्युनतम शैक्षिक योग्यतासमेत तोक्ने छ। राष्ट्र बैंकका अनुसार, व्यवस्थापकीय श्रेणीका लागि स्नातकोत्तर गर्नु पर्छ। अधिकृत श्रेणीले स्नातक र सहायक श्रेणीले प्रबिणता प्रमाणपत्र तह उत्तिर्ण भएको हुनु पर्ने छ। 
राष्ट्र बंैकले निस्कृय रहेको कर्जालाई खराव कर्जाका रुपमा परिभाषित  गर्दै डुवेको कर्जा असुल्नलाई कर्जा असुली संयन्त्र बनाउन निर्देशन दिने तयारी गरेको छ। अहिले खराव कर्जा व्यवस्थापन अधिकृत नियुक्त गरि खराव कर्जा असुलीका लागि काम हुँदै आएकोमा राष्ट्र बैंकले संयन्त्र नै बनाउनु पर्ने नीति   बनाउन लागेको हो।
अपलेखन गरिएको कर्जालाई खराव कर्जामा गणना गर्नु नपर्ने व्यवस्थालाई पनि शंशोधन गर्न लागिएको छ। यस्तो अपलेखित कर्जालाई पनि खराव कर्जामा गणना गर्ने तयारीमा राष्ट्र बैंक छ। 

No comments:

Post a Comment

thanks for comment