अपचलनमा संलग्न पाँच बैंकको कारवाही फुकुवा


सुदर्शन सापकोटा
काठमाडौं, चैत १४
नक्कली प्रज्ञापनपत्र बनाइ भारतीय मुद्रा अपचलन गरेको आरोपमा कारवाहीमा परेका नौंमध्ये पाँच बैंकको कारवाही फूकुवा भएको छ। राजस्व अनुसन्धान विभागको सिफारिसमा नेपाल राष्ट्र बैंकले तीन महिनाअघि नौं बैंकलाई कारवाही गरेको थियो।
राष्ट्र बैंकले बुधबार एभरेष्ट, सिटिजन्स् बैंक इन्टरनेशनल, सिद्धार्थ, नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको कारवाही फुकुवा गरेको हो। 
अपचलनमा संलग्न लक्ष्मी, नेपाल एसबिआइ, नेपाल बैंक र एनआइसी बैंकको कारवाही फुकुवा भएको छैन। यि बैंकको अपचलन सम्वन्धि आवश्यक अनुसन्धान सकिएपछि कारवाही फूकुवा गर्ने/नगर्ने बारे निर्णय लिइने राष्ट्र बैंक स्रोतले जानकारी दियो। 
राष्ट्र बैंकले भारु अपचलनमा मुछिएका ९ वाणिज्य बैंकका १५ शाखा प्रमुखलाई विभागीय कारवाही गर्न निर्देशन दिँदै वीरगञ्जमा रहेका शाखाबाट भारतीय मुद्राको कारोबार गर्न रोक लगाएको थियो। यि बैंकहरुबाट १ अर्ब २४ करोड रुपैयाँ अपचलन भएको पाइएको थियो।
अपचलनका आरोपी १२ भारतीय नागरिक विरुद्ध विभागले अदालतमा मुद्दा दायर गरिसकेको छ। नक्कली कम्पनी स्थापना गरी २ अर्ब ८९ लाख भारत लगेर सामान नल्याउने १२ भारतीयविरुद्ध मुद्दा दायर भएको हो। 
'१० करोड रुपैयाँभन्दा कम अपचलन गरेका बैंकहरुको कारवाही फुकुवा गरिएको हो,' राष्ट्र बैंक स्रोतले भन्यो। राष्ट्र बैंकको निर्देशनअनुसार, नौं वटै बैंकले अनियमिततामा संलग्न आफ्ना कर्मचारीहरुलाई कारवाही गरिसकेका छन्। विभागले गरेको अनुसन्धानमा बैंकहरुले अनियमितता गरेको पाइएको थियो। 
नेपालमा औपचारिक माध्यममार्फत करिव ६ अर्ब रुपैयाँ बराबरको भारु नोट सटही हुन्छ।  बैंकहरुले १ सय रुपैयाँ भारु साट्दा १५ पैसा लिन्छन्।

'हामीले राष्ट्र बैंकबाट कारवाही फुकुवा भएको पत्र पाएका छौं,' सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले नागरिकसँग भने, 'अब भारुको कारोबार गर्न पाउने भएका छौं।' 
विभागले अनियमिततामा संलग्न कर्मचारीहरुलाई जेल हाल्नेसम्मको कारवाही गर्न दवाव दिएको थियो। राष्ट्र बैंकले मध्यस्तकर्ताको भूमिका खेल्दै ठूलो कारवाही हुनबाट जोगाएको थियो।
विभागको अनुसन्धानमा सबैभन्दा वढी एनआइसी बैंक भारु अपचलन भएको पाइएको थियो। एनआइसीबाट ६२ करोड ५० लाख भारु अर्थात करिव १ अर्ब नेपाली रुपैया“ अपचलन भएको थियो। अपचलनमा बैंकका चार शाखा प्रयोग भएका थिए।
एनआइसीको वीरगन्ज शाखाबाट ६१ करोड ३८ लाख, हरिवन शाखाबाट ४ लाख, भक्तपुर शाखाबाट १० लाख र पेप्सिकोला शाखाबाट ९७ लाख ९५ हजार भारतीय रुपैयाँ अपचलन भएको विभागको अनुसन्धानमा पाइएको थियो। नेपाल एसबिआई बैंकबाट नक्कली प्रज्ञापनपत्रमार्फत ३१ करोड ९५ लाख भारु अर्थात ५१ करोड १२ लाख नेपाली रुपैयाँ अपचलन भएको थियो।
एसबिआइको वीरगन्ज शाखाबाट १२ करोड ९० लाख र रामपुर शाखाबाट १९ करोड ५ लाख भारु अपचलन भएको थियो। एभरेस्ट बैंकबाट ३ करोड ७ लाख भारु (४ करोड ९२ लाख नेपाली रुपैयाँ) पलायन भएको थियो। एभरेस्टको वीरगन्ज शाखाबाट २ करोड ९९ लाख र आइसिडीबाट ७ लाख ६८ करोड भारु अपचलन भएको विभागको अनुसन्धानले देखाएको थियो। 
लक्ष्मी बैंकको वीरगन्ज शाखाबाट ११ करोड १३ लाख भारु अपचलन भएको थियो।  नेपाल बंगलादेश बैंक वीरगन्ज शाखाबाट ४७ लाख ५७ हजार र सिटिजन्स बैंकको वीरगन्ज शाखाबाट १५ लाख २५ हजार भारतीय रुपैयाँ अपचलन भएको थियो। 
नेपाल इन्भेस्टमेन्ट बैंकको वीरगन्ज शाखामार्फत १ करोड तीन लाख, सिद्धार्थ बैंकको वीरगन्ज शाखाबाट ७ करोड ५२ लाख र नेपाल बैंक वीरगन्जबाट ८ लाख ९० हजार भारतीय रुपैयाँ अपचलन भएको पाइएको थियो।
बैंकहरुले कारवाहीबाट जोगिन भारतीय मुद्राको कारोबार नगर्ने चेतावनीसमेत दिएका थिए। विभागले नक्कली प्रज्ञापनपत्र प्रकरणमा बैंकका कर्मचारीहरुलाई जवरजस्ती कारवाही गर्न खोजेको भन्दै बैंकहरुले भारतीय मुद्रामा हुने कारोबार (ड्राफ्ट) बन्द गर्ने चेतावनी दिएका थिए। 

No comments:

Post a Comment

thanks for comment